Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेताको मनपरी बोली : देशलाई हानि

नेताको मनपरी बोली : देशलाई हानि

  • सुजन तिमसिना
  • शनिबार, असार २३ २०८०


नेताको मनपरी बोली : देशलाई हानि

नेपालका बामपन्थी नेताको विगत संर्घषशिल छ । जनताका घरदैलोमा रातदिन खटिएका बामपन्थी नेताको सत्ता यात्रा र खुल्ला राजनीति आसलाग्दो, उत्साहजन छैन । हुन त नेपालका बामपन्थी पार्टीहरु नाममा मात्रै बामपन्थी विचारमा अडिएका हुन् । विगत हेर्दा भरोसायोग्य पार्टीहरु अहिले उनीहरुको गतिविधि, बोली र व्यवहार कुलिनतन्त्र झै छ । संघर्षको यात्राका क्रममा एकैथालमा भात खाएका नेताहरु खुल्ला राजनीतिमा आएपछि मिल्नै सक्दैनन्, निरन्तर झगडा गर्छन् आफु पनि अघि बढ्दैनन्, अरुलाई पनि अघि बढ्न दिँदैनन् । जनताको भोट लिन्छन्, जनताकै बिश्वास गर्दैनन्, जनतालाई नियतबस दुःख दिन्छन् ।

नेताको बोलीमा भरोसा भन्दा पनि आवेग, उत्तेजना, आक्रोश र बिरोधका स्वरहरु मात्रै सुनिन्छ । तिनै आगेव उत्तेजना, आक्रोशको बोली र बिरोधका स्वरहरु सुनेर कार्यकर्ता तालि पिट्छन् अनी घर फर्किन्छन्, अथवा घरमै सुनेर नाच्छन् । जनताको घरदैलोमा पुगेर परिवर्तनका लागि संर्घषबाट प्राप्त उपलब्धि पछि सहर पसेका बामपन्थी नेतालाई सुख सुविधामा अलमलिने, बोलीको ठेगान नहुने र जनताको अथाह विश्वासलाई घात गर्ने कामको निरन्तरता अहिले बढी पनि चल्दो छ ।

परिवर्तनका नाममा गरिएका चर्का कुरा र आन्दोलनको सफलतापछि राजाले आफ्नो सिंहासन छोडिसके तर अझै राजतन्त्रको चिहानसँग डराएका छन्, बामपन्थी नेता । किनकी उनीहरुलाई देश विकासमा ध्यान छैन, राजतन्त्रको धङ्धङ्ङी शीरमा राखेर जनताका विरुद्ध नै फर्किएका छन् । कार्यकर्ताको कुरा सुन्दैनन्, अनुशासनको नाममा मानसिक यातना दिन्छन् । कार्यकर्ता नेताको पिडाले आत्महत्या  गर्छन्, मलामी टुप्लुक्क पुग्छन्, मर्नेलाई दोष दिन्छन् आफ्नो गल्ति देख्दैनन्, झण्डा ओडाएर फर्किन्छन् ।
सत्तामा पुग्दा निरङ्कुश चरित्र हुन्छ ।

सत्ता चलाउन नजानेपछि सत्ताको चुकुल खुस्किन्छ । अनि सत्तामा बसेर खदाको स्वादले गर्दा प्रतिपक्षमा बस्नुपर्दाको पिडाले देश नै सकियो भनेर प्रचार गर्दै हिड्छन् । गालि मात्रै हुन्छ । जनता र कार्यकर्तालाई त्यसैमा तालि पिट्न लगाउँछन् , तल्ला कमिटीले चन्दा, लेविबाट संकलन गरेको पैसामा रात विताउँछन्, फर्किछन् निराशा बाड्छन् आशालाई मार्छन् ।
ठुला अवसर गुमाएका : प्रचण्ड, ओली
नेपाली राजनीतिमा बामपन्थी भनिने दलका नेतामध्ये प्रचण्ड र ओली राजनीतिको केन्द्रमा छन् । र उनीहरुले हिरो बन्ने अवसर गुमाएका छन् । नेपालको आमुल परिवर्तन हुनुपर्छ भनेर जनयुद्धको बिगुल फुकेर लाखौँ जनतालाई पछाडी हिडाउन सफल प्रचण्डले शान्ति प्रक्रियामा आएपछि असाधारण अवसर पाएका थिए । आफ्ना मुद्धा स्थापित हुँदै जाँदा २०६४ को निर्वाचनमा सोच्नै नसकेको सफलता नेकपा माओवादीले पायो ।

जनताको अपार समर्थन प्राप्त माओवादीका अध्यक्ष प्रचण्डले जनताको साथलाई टिकाउन सकेनन् । गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भए तर कार्यकर्तालाई सम्झाउन बुझाउन र सत्ता चलाउने अभ्यास नहुँदा, सिक्न नचाहँदा सत्ता खुस्कियो । शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नुका साटो जनगणतन्त्रका एजेण्डा, जनविद्रोहमा गयो ।
जुन कुरा जनताको चाहना थिएन । जनताको चाहना संविधान निर्माण, रोजगारी र आर्थिक क्रान्ति थियो । संविधान पनि बनेन, रोजगारी पनि सिर्जना भएन, आर्थिक क्रान्ति पनि शुरु भएन संविधानसभा नै बिघटन भयो ।

संविधान बनाउन दोस्रो संविधानसभाको निर्वाचन गर्नुपर्यो । माओवादी तेस्रोमा झर्यो । तर पनि राजनीतिका चतुर खेलाडी प्रचण्ड अहिले तेस्रो पटक प्रधानमन्त्री छन् । देश उनी चलाउँदैछन् र विगतका कमजोरी सच्याएर अहिले केही न केही गर्ने हुटहुटीमा छन् । चतुर खेलाडीका रुपमा रहेका बामपन्थी भनिने नेता केपि ओली हुन् । ओली नेपाली हिरो बन्ने अवसर गुमाए । उखान टुक्का कथा कविता भनेर भएपनि जनता प्रभावमा पार्ने नेता हुन् केपि ओली ।

खुल्ला राजनीतिमा आएपनि गुटको अभ्यास गर्दै पार्टी नेतृत्वमा पुगेका ओली अहिले पनि राजनीतिको केन्द्रमा छन् । मनि, मसल र मास सबै एकैपटक परिचालन गरि सहर नै कब्जा गर्ने गरि कार्यकर्ता परिचालन गर्न सक्ने क्षमता केपि ओली सँग छ । तर देशको हिरो बन्ने अवसर उनले गुमाए । हतारमा पार्टी एकता र हतारमा पार्टी विभाजन हुनु प्रचण्ड ओलीको असफलता त हो । तर प्रथम अध्यक्ष भनेर दाबी गर्दै कार्यकर्ता उचाल्दै हिँडेका ओलीले आफ्नो सत्ता टिकाउन सकेनन् ।

ओली निकट नेताहरु ओलीले आफ्नो राजनीति र सत्ता टिकाउन गरेको ससंद विघटन सहि भएको दाबी गर्छन् । यो स्वभाविक हो । प्रथम चरणमा संसद विघटन नगरेको भए नेकपाको अध्यक्ष र प्रधानमन्त्री मध्ये एक छोड्नुपर्ने थियो । यसले ओलीको राजनीति जोगियो तर देशको हिरो बन्ने अवसरबाट उनी पछि परे । संसद विघटनपछि ओलीले प्रचण्ड, झलनाथ र माधव नेपालले सडकमा बस्ने त बनाए तर उनी अहिले सत्ता बाहिर निरन्तर बस्नु परेको पिडा छ ।

यदि नेकपा बनाउँदाको सम्झौताहरु कार्यान्वयन र पावर सेयरिङ मिलाउन सकेको भए न त ओली सत्ता बाहिर बस्ने न त खलनायक हुन्थे । ओली राजनेता भएर सडक सडकमा फोटो झुण्डिएका हुन्थे अहिले ।
नेताको बोली : देशलाई हानि
राणा शासन, पञ्चायत र बहुदलपछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनसम्म नेतालाई बिद्रोही बनाइरहयो । जनता पनि आन्दोलित हुनुपर्यो । सम्झौताको प्रजातन्त्र र सम्झौताको संविधानपछि तत्कालिन ठुला दल नेपाली काग्रेस र नेकपा एमालेका नेताहरु संविधान अनुसारको कानुन परिमार्जन गर्न, रोजगारी र सुशासन प्रतिवद्ध हुनुपर्नेमा सत्ता प्राप्ति र सुख सुविधा प्राथमिकता पर्यो ।

एमालेका नेता मदन भण्डारीको हत्या भएपछि झनै देश भुमरीमा फस्यो । ससंदलाई पजेरो चढ्ने सुविधा चाहियो, मन्त्री चाहियो, खुल्ला अर्थराजनीतिको अराजकताले नेताहरु कमाउ धन्दामा लागे । त्यति नै बेला माओवादी बिद्रोह जन्मियो । संविधान निर्माणमा राखिएका असहमतिहरु बोकेर माओवादी जंगल पस्नु र कांग्रेस एमालेको सत्ता मोहसँगैको आरोप-प्रत्यारोपले युवावर्गमा आएको निराशा, बिद्रोही मानसिकता र परिवर्तनको चाहाना जनयुद्ध विस्तारको कारण हो ।

यदि संविधान विस्तारै परिवर्तन गर्दै लग्ने आरोप प्रत्यारोप छोडेर एमाले कांग्रेसले जनताका भावना अनुसार काम गरेको भए माओवादी बिद्रोहले त्यो रुप लिँदैनथ्यो । बिद्रोह बढ्नुमा मुख्य नेताको बोली र नेतामा बदलिएको जिवनशैली नै हो । सत्ता बनाउने र गिराउने खेल चल्दै गर्दा दरबार हत्याकाण्ड नयाँ राजा ज्ञानेन्द्रको उदय र ज्ञानेन्द्रको निरङ्कुश कदमले झनै देश अध्यारो सुरुङ्गमा फस्यो । ज्ञानेन्द्रमा निरङ्कुश शासनको मोह जाग्नु तत्कालिन राजनीतिक दलहरुको असफलता थियो ।

दलहरुको गैर जिम्मेवारीपनका कारण जनतामा यति निराशा थियो की राजा ज्ञानेन्द्र सुचना संचार, पत्रिका, टेलिफोन एफ एम रेडियो बन्द गर्दा पनि जनतामा कुनै फरकपन थिएन । ग्रामीण क्षेत्र र राजधानी काठमाडौँ जनताको जिवनशैलीमा कुनै फरक थिएन । राजाको शासन लोकप्रिय त थिएन तर दलहरुको सत्ता लिप्साका कारण जनता वाक्क थिए । त्यहि कारण सात दलले गरेको आन्दोलनले पार नलागेपछि दलहरुले माओवादीसँग १२ बुंदे समझदारी गरे । अनि मात्रै आन्दोलनले गति लियो र दोस्रो जनआन्दोलनबाट राजा घुडा टेंके ।

आवेग, भावना र उत्तेजनाले गरिने भाषणले कस्तो प्रभाव पार्छ भन्ने कुराको पिडा त सबैभन्दा बढी ओली र प्रचण्डले नै भोगेका छन् । प्रचण्डको भावनात्मक आत्मियताको भनाइले अहिले समस्या भोग्दैछन् । ओली रुखो बोलीका कारण सत्ता बाहिर बसेर नेपाली काग्रेसलाई उचाल्दैछन् । प्रचण्डले धेरैठाउँ बोलेका छन्, आलोचना भएपछि आत्माआलोचना गरेका छन् । तर अहिलेको सामाजिक सञ्चार सोसल मिडियाको बढ्दो हस्तक्षेपका कारण बोलीको प्रभाव कस्तो हुन्छ भन्ने हेक्का नराख्दा आत्मा आलोचना गर्नुपरेकै छ । तर हतारको बोली र निर्णयले राजनीतिमा नै ठुलो उथलपुथल भएको छ । त्यस मध्येको एक हो ।

पहिलो संविधानसभाबाट ११ प्रदेश बनाएर संविधान जारी गर्ने सहमतिबाट पछि हट्ने घोषणा । दलहरुबिच ११ प्रदेश बनाएर संविधान जारी गर्ने सहमति भयो । माओवादी पार्टी ठुलो भएकाले नेपाली कांग्रेस लचिलो भयो एमालेले पनि सहमति जनाएको थियो । तर नेपाल आदिवासी जनजाति महासंघले १४ प्रदेश नै चाहिने नत्र नमान्ने भनेर प्रचण्ड निवासमा डेलिगेसन गए । नभन्दै प्रचण्डले सम्झौता खारेज भएको घोषणा गरे । त्यसपछि प्रचण्ड र माओवादी पार्टीको ओरालो यात्रा शुरु भयो, पार्टी फुट्यो, दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो पार्टी बन्यो ।

अहिले प्रचण्ड प्रधानमन्त्री छन्, तर उनले प्रितम सिंह बारे बोलेको कुराले देश हंगामा छ । स्वभाविक हो २०४६ सालपछि नेताहरु हरेक निर्णयमा दिल्लीको शरणमा पुग्ने गरेका छन् । सत्ता प्राप्ति होस् या सत्ता टिकाउन । राजाले पञ्चायत टिकाउन तर भुमि नै भाडामा दिएका थिए अहिले भारतले आफ्नो नक्सामा नै गाभिदियो । प्रचण्डपछि मिडियामा छाइरहन चाहने र चर्चामा रहने ओली आफ्नो बोली धेरै गुमाइसकेका छन् । ओली संगै हुँदा बखान गर्छन् र आफ्नो प्रभावमा पार्छन् दाँयाबायाँ भयो भनेपछि उछितो काढ्छन् ।

पछिल्ला ५ वर्षमा गरिएका भाषणबाट ओलीबाट गालि नखाने व्यक्ति, संस्था र संवैधानिक अंक कुनै बाँकी छैन । भाषणमा उखान मिसाएर खरो रुपमा बोल्ने ओलीको बोलीमा बज्ने तालिले उनीमा देखिने आत्मबलले गर्दा आफ्नो बोलीबाट दायाँबायाँ हुँदैनन्, बिरोधी टिक्क दिँदैनन् । सोहि नीतिका कारण ओलीले २०७९ भएको आम निर्वाचन पछि पार्टीले प्राप्त गरेको सत्ताको यात्रा बिचैमा रोकियो । कारण थियो संसदको प्रथम बैठकमा ससंद विघटन सहि थियो भन्नु ।

प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीको बोलीले प्रचण्डको मुटुमा भार छिरे जस्तै भयो । नहोस् पनि कसरी ओली संसंद विघटन सहि भनेर चुनावमा लडेका, प्रचण्ड प्रतिगमन भनेर हिँडेका । सत्ता यात्रामा सहकार्य भयो तर ओलीको बोलीसँगै प्रचण्ड यात्रा देउवा तिर मोडियो । फलस्वरुप अहिले सत्ता यात्रामा रहेको एमाले सबै ठाउँमा बिपक्षि बेञ्चमा छ ।

हुन त केपि ओली खुल्ला राजनीतिमा आएपछि चर्चामा रहन अनेक खाले भाषण गरेको पाइन्छ । टेप रेकर्डमा रहेका कतिपय भाषण सुन्दा त्यहि पाइन्छ । २०४६ सालको राजनीतिक परिवर्तन भएपछि ओलीको बोली झनै चर्चामा हुन्थ्यो । ओलीको बोलीको चर्चा भएपनि सुनसरीका उनी पक्षिय एक नेताले ओलीलाई सोधेछन् –‘ओलीको जवाफ थियो अलिअलि बोलेन भने छ छैन भन्ने थाहा हुँदैन त्यसैले म बोल्छु ।’ तर अहिले विश्व रिमोटमा संचालन भइरहेको बेला अहिले छ छैन भन्ने मात्रै हैन बोलेको मिनेट भरमा विश्वभरबाट प्रतिक्रिया मात्रै आउँदैन सत्ता उलटपुलट हुन्छ । यो हेक्का नेपाली नेताले कुनै हिसाब नै राख्दैनन् ।
प्रमुख नेताको रोग कार्यकर्ता तह सम्म
अपमान, आवेग, उत्तेजनाको भाषा अहिले प्रमुख नेतामा मात्रै हैन कार्यकर्ता तह सम्म छ । प्रमुख नेताहरुको व्यक्तिगत इगो र अपमानजक भाषा कार्यकर्ताले एक अर्कालाई गर्छन् । प्रमुख नेताहरु जसरी देशका मुल समस्याप्रति साझा धारणा नबनाएर गालिगलौँजमा उत्रन्छन्, त्यसै गरि कार्यकर्ताहरुपनि विभाजित छन् । एकले अर्को दलको अस्तित्व स्वीकार्न नेता तयार नभएपछि कार्यकर्ता पनि तयार हुने कुरा भएन । फलस्वरुप सिंहदरबारको झगडा अहिले गाउँ गाउँ टोल टोलमा पुगेको छ ।

किनकी कार्यकर्ताको ठुलो पंक्ति देशको कानुन हैन नेताको आदेश मान्ने छन् । इलाममा एक साता अघि मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष देखियो । मदन जयन्तीको दिन आयोजित ‘आजको लोकतन्त्र उपलब्धि र चुनौती विषयक अन्तर संवाद कार्यक्रम’ मा लोकतन्त्रको कुरा भए त्यहाँ आरोप र प्रत्यारोप नै देखियो । नेपाली कांग्रेसका नेता गुरु घिमिरे र एमालेका नेता योगेश भट्टराई बक्ता बोलाइएको थियो ।

अन्तरसम्बादमा उपस्थितलाई स्वागत गर्दै फाउण्डेसनका उपाध्यक्ष रमेश राईले ‘आजको लोकतन्त्र उपलब्धि र चुनौती विषयक अन्तर संवाद कार्यक्रम’ मा बोल्दा २०४६ सालदेखि २०८० सालबिचको मात्रै कुरा गर्न उर्दी दिए । यति मात्रै हैन उनले अहिलेको राजनीतिक उपलब्धि मदन भण्डारीको २७ बुंदा भएको बताए । तर उनले लोकतन्त्रका लागि २००७ सालमा कांग्रेसको शसस्त्र क्रान्ति, २०३६ सालको झापा आन्दोलन र २०४६ पछि प्रजातन्त्र पुनःस्थापना भएपछिको दलहरुको असफलताका कारण हुर्किएको जनयुद्ध र जनआन्दोलनका बारेमा खासै चर्चा गरेनन् ।

शसस्त्र जनयुद्धका कारण ढलेको राजतन्त्रका बारेमा उनको चर्चा थिएन । एमालेको संगठन र मदन भण्डारीको चर्चा मात्रै थियो । तर एमाले कांग्रेसको असफलताका कारण राजामा आएको निरङ्कुश शासनको चर्चा भएन । भनियो सब ठिक ठाक छ, त्यो एमालेका कारण भएको छ । कार्यक्रमका वक्ता मध्ये गुरुराज घिमिरेले लोकतन्त्र दलहरुको असफलताका कारण कमजोर भएको बताए ।

उनले दलहरु कुलिनतन्त्रमा प्रवेश गरेकाले लोकतन्त्र कमजोर भएको दाबी गरे । उनले कसैलाई गालि गरेनन् । तर प्रमुख वक्ता रहेका योगेश भट्टराईले कोशी प्रदेशको नामाकरणमा असन्तुष्टलाई आक्रोस पोख्न थाले । उनको आक्रोस यतिमा रोकिएन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, बिरोध शुरु गरे । ढाडमा टेकेर टाउकामा हिड्ने प्रचण्डको कुनै योगदान नरहेको राजनीतिका समस्या रहेको बताए । त्यतिमात्रै हैन नेपाली कांग्रेस प्रचण्डको हली भएको बताए । र नेपाली कांग्रेसले लोकतन्त्र कमजोर बनाउन लागेको आरोप लगाए ।

उनले त्यति मात्रै बोलेनन् प्रचण्ड सरकारलाई बिदेशीले पत्याउन छोडेकाले नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्ने बताए । अहिलेको सरकारलाई बिदेशीले पत्याउन छोडेको र ऋण दिन छोडेकाले कांग्रेस एमाले मिलेर सरकार बनाउनुपर्ने बताए । यी प्रतिनिधि घटना हुनु, अहिले जनता जनता भएर बस्न पाएका छैनन् । किनकी कम्पनीका रुपमा विकास भएका दलहरुका जागिरे कार्यकर्ताबाट जनता हस हजुर भन्न बाध्य छन् ।

आशलाग्दा नेता पनि केबल मिडियामा छाउन चर्को बोल्ने, राज्यलाई असफल बनाउन लागि परेका छन् । जनताको समस्या एकातिर हुन्छ, नेताको हिडाई अर्कोतिर भइरहेको छ । यस्ता घटनामा नेपाली कांग्रेसका नेता गगन थापा, सासंद ज्ञानेन्द्र शाही, रबि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अगाडी छन् । त्यसैले जरैसम्म हुर्किएको पार्टीको कम्पनीकरण कुलिनतन्त्र मात्रै हैन हिजो निरङ्कुश शासनका विरुद्ध लागेका नेताहरुको शैली अहिले राजतन्त्र भन्दा फरक छैन ।

देशको सुरक्षा, परराष्ट्र, आर्थिक विकासमा र रोजगारीका बारेमा साझा धारण छैन, पार्टी भित्र छलफल छैन, अन्तरपार्टीमा छलफल छैन, केबल आक्रोश, आवेग र उत्तेजना छ । त्यसैले जनता जागौँ, असफल नेता फ्याकौँ ।

sujantimsina7@gmail.com

प्रतिक्रिया
सम्बन्धित समाचार