इलामका विभिन्न स्थानमा छायांकन गरिएको ‘इलाम क्रोनिकल्स’ नामक सर्ट फिल्मको छायांकन सम्पन्न भएको छ। गाउँको प्रस्तुतिमा निर्माण गरिएको उक्त सर्ट फिल्मको छायांकन १८ दिनमा पूरा भएको हो।
पछिल्लो समय इलाममा बढ्दै गएको लागुऔषध दुर्व्यसनमा युवाहरूको संलग्नता देखिन थालेपछि युवाहरूलाई सिर्जनात्मक क्षेत्रमा सक्रिय बनाउने उद्देश्यले फिल्म निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा प्रकाश मगर, स्मृति प्रधान, मनीष विश्वकर्मा, रोसित कर्माचार्य, आशिका शाक्तेन र तृष्णा बराललगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा इलामका विभिन्न गतिविधि तथा समसामयिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ। फिल्मको लेखन तथा निर्देशन अन्वेष थुलुङ राईले गरेका हुन्।
त्यस्तै, सिनेमाटोग्राफीमा रोजन गुरुङ र मनीष विश्वकर्माले काम गरेका छन् भने ध्वनि व्यवस्थापन (साउण्ड) को जिम्मेवारी गुनराज देवानले सम्हालेका छन्। फिल्ममार्फत इलामका युवाहरूलाई सिर्जनात्मक गतिविधिमा जोड्दै सामाजिक विषयवस्तुलाई कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।