Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सुखानीका सहिददेखि जनयुद्धसम्म — सपना, संघर्ष र आजको विचलन

सुखानीका सहिददेखि जनयुद्धसम्म — सपना, संघर्ष र आजको विचलन

  • प्रवास शर्मा आचार्य
  • बिहिबार, कार्तिक १४ २०८२


सुखानीका सहिददेखि जनयुद्धसम्म — सपना, संघर्ष र आजको विचलन

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास कुनै एक दिनमा जन्मिएको होइन।यो बीउ देशको सामाजिक अन्याय, सामन्ती शोषण र राजनीतिक दमनको माटोमा उम्रिएको हो। र, त्यस बीउलाई पहिलोपटक रगतले सिँच्ने काम भयो — २०२९ साल फागुन २१ गते, झापाको सुखानी जंगलमा।
त्यो दिन, जनताको शासनको सपना बोकेका पाँच वीर सपूतहरू रामनाथ दाहाल, कृष्ण कुईँकेल, नेत्र घिमिरे, नारायण श्रेष्ठ र बिरेन्द्र राजबंशी —राज्यसत्ताको गोलीमा ढले। तिनीहरूको अपराध के थियो ? समानता, भूमि वितरण र शोषणविरुद्धको आन्दोलनमा उभिनु मात्र।सुखानी केवल एउटा हत्या थिएन । त्यो एउटा राजनीतिक घोषणा थियो कि “राज्य र शोषणविरुद्धको संघर्षमा रक्तवलिदान पनि सहिन्छ।”त्यो बेला देशमा राजतन्त्रको निरंकुश शासन थियो, राजनीतिक स्वतन्त्रता अपराध मानिन्थ्यो,कम्युनिस्ट आन्दोलन टुक्रिएको थियो तर विचार जिवित थियो।सुखानीका सहिदहरूले देखेको सपना थियो — वर्गविहीन समाज, शोषणरहित राष्ट्र,जनताको हातमा सत्ताको शक्ति।तर त्यो सपना तत्काल साकार हुन सकेन।
राज्य दमन र आन्तरिक विचलनका कारण कम्युनिस्ट आन्दोलन लामो समय भूमिगत नै रह्यो।तर, त्यो बीउ मरेन — माटोभित्र न्यानो लिएर बसिरहेको थियो। जनयुद्ध सहिदको सपनाको पुनर्जागरण २०५२ साल फागुन १ गते, नेपाल कम्युनिस्ट पार्टी माओवादीले सुरु गरेको जनयुद्धले सुखानीका सहिदहरूको अधुरो सपनाको पुनर्जागरण थियो।क्रान्तिको नयाँ स्वरूपमा जनताका छोराछोरीहरू गाउँगाउँबाट उठे। जनताको सत्ता, जनताको न्याय भन्ने नाराले पहाड, तराई र शहरसम्म लहर ल्यायो।
जनयुद्धले देशको राजनीतिक स्वरूप मात्र होइन, सामाजिक चेतनालाई पनि बदल्यो — दलित, महिला, जनजाति, मधेसी, किसान र मजदुरले आफ्नै आवाज पाएका थिए। “जनताको सेना”, “जनताको सरकार” र “जनताको न्याय” भन्ने अभ्यासले शासक वर्गलाई हल्लाइदिएको थियो।यो क्रान्ति सुखानीका सहिदहरूको रगतको प्रतिध्वनि थियो —त्यो रगत जसले “राजनीति जनताको लागि हुन्छ” भन्ने सत्य फेरि उजागर गर्‍यो। तर आज क्रान्तिको नाममा बनेका दलहरू आज सत्ताको गलैँचामा बाँडिएका छन्। कुनै बेला सहिदहरूको नाम लिनेहरूले नै आज सहिदको आदर्श भुलेका छन्।जनताको हितको कुरा गर्नेहरूले अब स्वार्थको चक्रभित्र आफूलाई कैद गरेका छन्।“क्रान्ति” शब्द अब केवल घोषणापत्र र भित्ते पोस्टरमा बाँकी छ।नेतृत्वको प्राथमिकता अब सिद्धान्त होइन, गठबन्धन र पद बनेको छ।सुखानीका सहिद र जनयुद्धका योद्धाहरूले यस्तो सपना भनेका थिएनन्।उनीहरूले चाहेका थिए — पार्टीभित्र विचार र जनताको सरोकार सर्वोच्च होस्, नेताहरू जिम्मेवार र इमानदार होस्, र देशको राजनीतिक दिशा पुनः वर्गीय दृष्टिकोणमा आधारित होस्।तर आज पार्टीहरूमा पदको लडाइँ, आन्तरिक असन्तुलन, विचारको अस्पष्टता र जनतासँगको दूरी बढ्दो छ।यो अवस्था सहिदहरूको बलिदानप्रति अनादर हो, र क्रान्तिकारी चेतनाको सम्मान पनि। अबको बाटो पुनर्जागरण र आत्मसमीक्षाअब समय आएको छ —सुखानी र जनयुद्धका सपना फेरि जगाउने। कम्युनिस्ट आन्दोलनलाई पुनः जनतामुखी बनाउने।
विचार र अभ्यासबीचको अन्तर मेटाउने।र नेतृत्वलाई पुनः सिद्धान्तको रेखामा उभ्याउने।सुखानीका सहिदहरूले आफू मरेर पनि एउटा बीउ रोपेका थिए।त्यो बीउ जनयुद्धको आँधीमा फुल्यो। तर आज फेरि मर्छ कि भन्ने चिन्ता छ।त्यसैले, यो पुस्ताको कर्तव्य हो
फेरि त्यो बीउ सिँच्ने,फेरि त्यो सपना जगाउने,र फेरि “जनताको शासन” साकार पार्ने। सुखानीका सहिदहरूलाई हार्दिक ,श्रद्धाञ्जली। जनयुद्धका हजारौं सहिद र योद्धाहरूलाई सलाम र आजका कम्युनिस्ट नेताहरूले आत्मसमीक्षा गर्ने मोडमा कम्युनिस्ट आन्दोलन पुगेको देखिन्छ ?

प्रतिक्रिया
सम्बन्धित समाचार