अहिले केही मानिसहरू जुन कुरा फैलाइरहेका छन्— “माओवादी केन्द्रले सारा विचार छाड्यो”, “पहिलेको बाटो–दिशा छुट्यो”— यी सबै आरोप सुन्दा एक प्रश्न मनमा आउँछ के एउटा क्रान्तिकारी पार्टीले समय, परिस्थिति र जनताको आवश्यकता अनुसार अगाडि बढ्नु गलत हो ? राजनीतिक परिस्थितिको वैज्ञानिक मूल्याङ्कन नगरी चिच्याएर बोल्नु नै के विचारधाराप्रति निष्ठा हो ?
कति मित्रहरू आफूलाई समाजसेवी भन्छन्, तर सत्य के हो भनेर एकपटक पनि अन्वेषण गर्दैनन्।अरूले लेखिदिएको कुरा, सामाजिक सञ्जालमा देखिएको आरोप, र व्यक्तिगत असन्तुष्टिलाई नै “तथ्य” भन्दै प्रचार गर्दै हिँडेको देख्दा साँच्चिकै दया लाग्छ।
विचार छोडेको आरोप लगाउनेहरूले के बुझ्नुपर्ने थियो भने— राजनीति भनेको जिद्दीपन होइन, परिवर्तनशील समाज र समयको आवश्यकताअनुसार मार्गनिर्णय गर्ने क्षमता हो। दशकौँ संघर्ष गरेर बनेको पार्टी समयअनुसार लचक भयो भने — त्यो विचार त्यागेको होइन, विचारलाई व्यवहारिक बनाएको हो।
यही क्षमताले इतिहासमा क्रान्तिकारी आन्दोलनहरू टिकेका छन्।
तर आज कतिपयले अभिलाषा पूरा नभएपछि, जिम्मेवारी नदिएको गुनासोले, वा प्रभाव घटेको पीडाले“पार्टी बिग्रियो”, “विचार छोड्यो” भन्नु ,तथ्यभन्दा पनि आफ्नै मनस्थितिको प्रतिविम्ब मात्र हो।
अहिलेको राजनीतिक वातावरण, अस्थिरता, भ्रष्टाचार, युवापुस्ताको असन्तोष—यी सबै चुनौतीबीच देशलाई दिशा दिनसक्ने शक्ति भनेको सङ्गठनात्मक अनुभव, परिवर्तनको इतिहास र वैचारिक लचकता भएको पार्टी नै हो।अर्काको कुरा सुनेर, भावनामा बगेर आरोप लगाउनु सजिलो छ।तर वास्तविकता बुझ्न, राजनीतिक विश्लेषण गर्न र तथ्यमा अडिनु कठिन काम हो।
समाजसेवी भनेर हिँड्ने मित्रहरू यदि साँच्चिकै समाजका लागि उभिन चाहनुहुन्छ भने—पहिला सत्य के हो भनेर बुझ्ने प्रयास गर्नुस्, भावनामा होइन, यथार्थमा आधारित भएर बोल्नुस्।देशले अहिले चाहेको कुरा एउटै हो—समयअनुकूल निर्णय गर्न सक्ने, स्थिरता र दिशा दिन सक्ने राजनीतिक शक्ति।र त्यो क्षमता आज पनि क्रान्तिकारी यात्रा पार गरेका शक्तिहरूमा छ—उनीहरू विचार बेचिरहेका छैनन्,विचारलाई युगअनुकूल रूप दिँदै अगाडि बढिरहेका छन् !