फिक्कल / पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTDP) को आयोजनामा सूर्योदय नगरपालिकामा ‘चियाबारी पदमार्ग’ को ब्रान्डिङ तथा मार्केटिङका लागि रणनीतिक योजना निर्माण सम्बन्धी एक विशेष परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। परियोजनाको साझेदार अन्तर्राष्ट्रिय संस्था ‘सोलीमार इन्टरनेसनल’ वासिङ्टन डिसीका मुख्य कार्यकारी अधिकृत (सीईओ) एवम् दिगो पर्यटन विशेषज्ञ डा. क्रिस सिकको उपस्थितिमा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाहरूबीच छलफल भएको हो।
विश्वका ६० भन्दा बढी देशका २०० भन्दा बढी पर्यटन कार्यक्रमहरूमा काम गरिसकेका डा. क्रिसले कोशी प्रदेशमा ट्रेल निर्माण, ब्रान्डिङ र पर्यटक व्यवस्थापनका लागि आफ्नो विश्वव्यापी अनुभव साझा गर्नुभएको थियो। कार्यक्रममा बोल्दै सीईओ डा. क्रिसले कोशी प्रदेशका पर्यटकीय पदमार्ग र गन्तव्यहरूको पहिचान तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी ब्रान्डिङ गर्न सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भित्रिने र बाहिरिने पर्यटकहरूको व्यवस्थित ट्र्याकिङ, तथ्याङ्क संकलन र काउन्टिङ प्रणाली स्थापना गर्न सुझाव दिनुभयो। साथै, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाहरूको संरचनात्मक विकास र संस्थागत सुधारमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।
सोलीमार इन्टरनेसनलले प्रदेश मन्त्रालय तथा स्थानीय सरोकारवालाहरूबाट प्राप्त तथ्याङ्कका आधारमा कोशी प्रदेश र चियाबारी पदमार्गका लागि रणनीतिक मस्यौदा तयार पारिरहेको छ। यो मस्यौदा प्रारम्भिक ड्राफ्ट मात्र भएकाले सरोकारवालाहरूको सुझाव र रायका आधारमा यसलाई अन्तिम रूप दिइने डा. क्रिसले जानकारी गराउनुभयो।
कार्यक्रममा सूर्योदय नगरपालिका पर्यटन शाखाका प्रमुख सिर्जन गदालले नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि भइरहेका प्रयास र पर्यटकीय गन्तव्यहरूबारे जानकारी गराउनुभएको थियो। केचना कञ्चनजङ्घा पर्यटन विकास समितिका पूर्व बोर्ड सदस्य सुजन तिमसिनाले पर्यटन पूर्वाधार निर्माण, पदमार्ग स्तरोन्नति, नियमित सरसफाइ, डिजिटल प्रवर्द्धन र सरोकारवालाबीच नियमित समन्वयमा जोड दिनुभयो। होटल, होमस्टे र यातायात व्यवसायीको क्षमता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
पर्यटन व्यवसायी राजु सुब्बा र कन्याम पर्यटन विकास समितिका अध्यक्ष डिबी ग्याबक तामाङले पर्यटन विकाससँगै फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण र हरियाली प्रवर्द्धन जस्ता पर्यावरणीय पक्षलाई अनिवार्य रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। यस्तै, होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष एकराज घिमिरे र सूर्योदय नगरपालिका होटल व्यवसायी संघका सचिव मोहनदोर्जे कागतेले पर्यटन विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा सूर्योदय नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक राजकुमार सेरेङ, वडा नं. १० का अध्यक्ष पेमाउगेन लामा, योजना अधिकृत खेमराज राई, पदमार्गमा आधारित पर्यटन विकास आयोजनाका टिम लिडर प्रेमराज ओझा, पर्यटन संयोजक डा. प्रनिल उपाध्याय, र सामाजिक सुरक्षा अधिकृत कञ्चन मगर लगायतको उपस्थिति रहेको थियो।