Local Sandesh मंगलबार, मंसिर २ २०८३
  • ट्रेण्डिङ :

फोहोर नउठाएको भन्दै माईजोगमाई अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमै फोहोर

फोहोर नउठाएको भन्दै माईजोगमाई अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमै फोहोर

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर २ २०८३


फोहोर नउठाएको भन्दै माईजोगमाई अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमै फोहोर

इलाम । बजारको फोहोरमैला व्यवस्थापनमा गाउँपालिकाले बेवास्ता गरेको भन्दै स्थानीयले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमै फोहोर थुपारिदिएका छन् । माईजोगमाई गाउँपालिका–१ नयाँबजारको फोहोर लामो समयदेखि नउठाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माईजोगमाईका उपसभापति मोहन सुवेदी, विरेन निरौला लगायत स्थानीय युवाहरूले मंगलबार फोहोर संकलन गरेर गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे र उपाध्यक्ष प्रवीना राईको कार्यकक्षमा लगेर थुपारेका हुन् ।

रास्वपा माईजोगमाईका उपसभापति मोहन सुवेदीले पटक–पटक बजारवासीले फोहोरमैला व्यवस्थापन गरिदिन गाउँपालिकालाई आग्रह गर्दा पनि सुनुवाइ नभएपछि विरोधस्वरूप फोहोर कार्यकक्षमै लगेर राखिएको बताए । उनका अनुसार गाउँपालिकाले कहिले टिपर बिग्रिएको त कहिले जेसीबी बिग्रिएको बहाना बनाउँदै फोहोर उठाउन अटेर गर्दै आएको छ । बजारको फोहोर व्यवस्थापनमा निरन्तर बेवास्ता भएपछि बजारका केही युवासहित आफूहरूले फोहोर बोकेर गाउँपालिका पुगेको सुवेदीको भनाइ छ ।

यसैबीच, विरेन निरौलाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा गाउँपालिकाका उपाध्यक्षको कार्यकक्षमा फोहोर थुपारिएको देखिन्छ । भिडियोमा उनले उपाध्यक्ष कार्यकक्षमा उपस्थित नभएको र कर्मचारीलाई समेत उहाँ कहाँ हुनुहुन्छ भन्ने जानकारी नभएको बताएका छन् । उनले जिम्मेवार अधिकृतको कार्यकक्षसमेत खाली रहेको र फोन गर्दा नउठेको भन्दै कार्यालयको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

निरौलाले तीन दिनभित्र बजारको फोहोर नउठाए ट्र्याक्टरमा फोहोर ल्याएर गाउँपालिकामा थप थुपारिदिने चेतावनीसमेत दिएका छन् । गाउँपालिका अध्यक्ष थेवेको कार्यकक्षमा समेत फोहोर थुपारिएको छ । विरोधका क्रममा रास्वपाका कार्यकर्ताले गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि करिब ६० लाख रुपैयाँ खर्च गरेर मेसिन बनाएको विषयमा समेत प्रश्न उठाएका थिए । उनीहरूले उक्त खर्चमा अनियमितता भएको आशंका व्यक्त गर्दै खर्च विवरण सार्वजनिक गर्न माग गरेका थिए ।

जवाफमा गाउँपालिका अध्यक्ष थेवेले मेसिन निर्माणमा बढी खर्च भएको वा गोप्य रूपमा खर्च गरिएको भन्ने आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । उनले गाउँपालिकाको खर्च विवरण हेर्न र आवश्यक परे सबै हिसाब जाँच्न सकिने भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।  घटनापछि गाउँपालिकाले भने कार्यालय परिसरमा गरिएको गतिविधिप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।

गाउँपालिकाले फोहोरमैला व्यवस्थापनका क्रममा देखिएका प्राविधिक तथा व्यावहारिक जटिलताबारे संवाद र समन्वय गर्नुपर्नेमा केही व्यक्तिले अध्यक्ष तथा उपाध्यक्षको कार्यकक्षमै फोहोर तथा मलमूत्रजन्य वस्तु फालेको भन्दै त्यसलाई असभ्य, अराजक र कानुनविपरीत कार्य भनेको छ । गाउँपालिकाले नागरिकका गुनासा, सुझाव र असन्तुष्टिलाई लोकतान्त्रिक तथा शान्तिपूर्ण माध्यमबाट सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारी कार्यालयको मर्यादामा आँच पुर्‍याउने, जनप्रतिनिधि तथा कर्मचारीलाई त्रसित पार्ने र सार्वजनिक उपद्रव मच्चाउने कार्य स्वीकार्य नहुने जनाएको छ ।

फोहोरमैलाको दिगो तथा व्यवस्थित विसर्जनका लागि गाउँपालिका निरन्तर क्रियाशील रहेको र डम्पिङ साइट व्यवस्थापनलाई प्रभावकारी बनाउन पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ । साथै, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा मुलुकी अपराध संहिता, २०७४ बमोजिम कानुनी कारबाही हुन सक्ने चेतावनी दिँदै गाउँपालिकाले समस्या समाधानका लागि रचनात्मक तथा कानुनी बाटो अपनाउन आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रवीना राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत करुणा नेपालको हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई अपिल गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार