इलाम । इलामको फाकफोकथुम गाउँपालिका–७, एकतप्पास्थित दोकानडाँडामा भाइटीकाको अवसरमा परम्परागत रूपमा आयोजना हुँदै आएको दुतिया मेलाको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। शुभ दीपावली २०८३ को अवसरमा आयोजित मेलालाई सफल बनाउन विभिन्न व्यक्ति, व्यवसायी, समाजसेवी तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोग र बजारबाट भएको आम्दानीसहित खर्च विवरण सार्वजनिक गरिएको हो।
सार्वजनिक विवरणअनुसार मेलाका लागि विभिन्न ४२ जना व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग र बजारको आम्दानीसमेत गरी कुल १ लाख १२ हजार ३ सय २४ रुपैयाँ संकलन भएको छ। मेलालाई सफल बनाउन स्थानीय तथा बाहिर रहेका सहयोगदाताले आर्थिक सहयोग उपलब्ध गराएका थिए। आयोजकका अनुसार मेलाको सञ्चालन तथा व्यवस्थापनका क्रममा सबैभन्दा बढी कलाकार, यातायात तथा साउन्ड सिस्टममा ७९ हजार ५ सय रुपैयाँ खर्च भएको छ।
त्यस्तै, पुरस्कार वितरणमा १० हजार ८ सय ३३ रुपैयाँ, खाना तथा खाजानास्तामा ११ हजार ३ सय १५ रुपैयाँ, सञ्चार, मायाको चिनो, प्रमाणपत्र तथा ब्यानरमा १० हजार रुपैयाँ खर्च भएको आयोजना समितिका कोषाध्यक्ष होम मगरले जानकारी दिए । यसैगरी, स्टेज निर्माणमा २ हजार २ सय ३७ रुपैयाँ र केलाङ नाच टोली खर्चमा ५ हजार १ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। यी सबै शीर्षकमा गरी मेलाको कुल खर्च १ लाख १८ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ।
आम्दानी र खर्चको हिसाब गर्दा मेलामा ६ हजार ६ सय ६१ रुपैयाँ अपुग भएको देखिएको छ। उक्त विवरणमा फाकफोकथुम गाउँपालिका–७ वडा कार्यालयबाट ६२ हजार ५ सय रुपैयाँ आउन बाँकी रहेकोसमेत उल्लेख गरिएको छ। भाइटीकाको अवसरमा परम्परागत रूपमा आयोजना हुँदै आएको दुतिया मेला स्थानीय कला, संस्कृति, खेलकुद तथा आपसी सद्भावको संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण उत्सवका रूपमा रहँदै आएको छ। मेलामा सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, भलिबललगायतका गतिविधि सञ्चालन गरिएको थियो।
स्थानीय समुदायको सक्रियता र विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले मेला सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। मेलाका लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, व्यवसायी, समाजसेवी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ। आय–व्यय सार्वजनिक गर्दै आयोजकले आगामी दिनमा पनि परम्परागत मेलालाई निरन्तरता दिँदै थप व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने बताएको छ।