इलाम । नार्कोटिक्स एनोनिमस ९एनए० को ‘इस्टर्न एरिया सर्भिस कमिटी’ले इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा तीनदिने सम्मेलन आयोजना गरेको छ । सम्मेलन हिजोदेखि सुरु भएको हो । नशाको समस्याबाट बाहिर निस्कन चाहने व्यक्तिलाई सहयोग गर्ने, नशारहित जीवनका लागि आपसी अनुभव आदानप्रदान गर्ने तथा रिकभरीसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनअन्तर्गत आयोजकले सर्वसाधारण, सामाजिक क्षेत्रका प्रतिनिधि तथा सरकारी निकायका व्यक्तित्वलाई लक्षित गरी ‘सार्वजनिक सूचना कार्यक्रम’ (पब्लिक इन्फर्मेसन इभेन्ट) समेत आयोजना गरेको छ । कार्यक्रममा नशाको समस्याबाट बाहिर निस्कने क्रममा आवश्यक पर्ने आशा, शक्ति, साहस र सुधार रिकभरी का विषयमा जानकारी तथा सन्देश प्रवाह गरिएको छ ।
नार्कोटिक्स एनोनिमस नशा सेवनको समस्याबाट प्रभावित पुरुष तथा महिलाले एकअर्कालाई सहयोग गर्दै नशारहित रहनका लागि सञ्चालन गर्ने गैरनाफामुखी फेलोसिप अर्थात् समूह हो । यसमा नियमित भेटघाट तथा मिटिङमार्फत सदस्यहरूले आफ्ना अनुभव आदानप्रदान गर्दै नशारहित जीवनयापनका लागि एकअर्कालाई सहयोग गर्ने आयोजकको भनाइ छ ।
एनएमा सहभागी हुन कुनै शुल्क, प्रवेश प्रक्रिया वा सपथ आवश्यक नपर्ने जनाइएको छ । सदस्य बन्नका लागि नशा सेवन बन्द गर्ने इच्छा हुनु नै मुख्य आवश्यकता रहेको आयोजकले जनाएको छ । समूह कुनै राजनीतिक, धार्मिक वा कानुनी संस्थासँग आबद्ध नरहेको पनि आयोजकको भनाइ छ । एनएले कुनै व्यक्तिले कुन प्रकारको, कति वा कुन स्रोतबाट नशा सेवन गरेको थियो भन्ने विषयमा भन्दा आफ्नो समस्याबारे के गर्न चाहन्छ र त्यसका लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिने जनाएको छ ।
आयोजकका अनुसार एनएका बैठकमा नयाँ सहभागीलाई सबैभन्दा महत्वपूर्ण व्यक्ति मानिन्छ । आफूले प्राप्त गरेको अनुभव र ज्ञान अरूसँग बाँड्दा त्यसले आफ्नै रिकभरी प्रक्रियालाई समेत बलियो बनाउने मान्यता एनएको छ । नियमित रूपमा बैठकमा सहभागी हुने र कार्यक्रमका सिद्धान्तलाई दैनिक जीवनमा लागू गर्ने व्यक्तिहरू नशारहित रहन सफल हुने आयोजकले जनाएको छ । सम्मेलनमार्फत नशाको समस्यालाई व्यक्तिगत मात्र नभई सामाजिक विषयका रूपमा बुझ्दै रिकभरीका लागि सहयोगी वातावरण निर्माण गर्न सार्वजनिक क्षेत्रको ध्यानाकर्षण गराउने उद्देश्यसमेत राखिएको छ ।
