इलाम (जौबारी) । जौबारी डाँडामा दाँया फर्किदा हिमाल र बाँया फर्किदा प्राकृतिक सुन्दरता १ जता फर्केपनि मनमा आनन्द । टलक्क टल्किएका कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमश्रङ्खलाको चुचुरोमा झैँ आफ्नो कुम जोडिएको अनुभुति । मुस्ताङमा झै देखिने हजारौँ रोपनीमा फैलिएको सुन्दर चउर । आहा ! जौबारी पूर्वको मुस्ताङ, इलामको गौरव ।
जौबारीमा १२ महिनामा फरक फरक अनुभुति पाइन्छ । मौसम सफा भएका बेला हिमाली चुचुरासँग कुम जोड्दै डाँडामा रम्न सकिन्छ । चैत्र बैशाखमा लालीगुराँसको फुलमा रम्न सकिन्छ । प्राकृतिक छटामा स्वर्गीय आनन्द लिन १२ महिना नै जौबारीले स्वागत गर्छ । कहिले हुस्सु कुहिरोले, कहिले झरी र बादल त हिउँदमा बाक्लो हिउँले । तर अहिले असोज कात्तिकको सफा मौसममा इलामको जौबारीले मुस्ताङमा पुगेर हिमालको दृश्यावलोकन गरेझैँको अनुभुति दिन्छ । किनकी जौबारीडाँडा कञ्चनजंघा, कुम्भकर्ण हिमालको काखमा सरक्क बसको छ । कोशी प्रदेशको इलाम जिल्लामा पर्ने जौबारी देशको संघीय संरचना पछि सन्दकपर गाउँपालिका–५ र माईजोगमाई गाउँपालिका–२ मा अवस्थित पर्छ ।
मोती झै टल्किने हिमाल र अनेकौँ परिकल्पनासँगै उदाउने सूर्योदयको दृश्यमा रम्न पुग्ने पर्यटकको संख्या बढेको छ । असोज र कात्तिकको सफा मौसममा सुर्योदय, हिमश्रङ्खला,प्राकृतिक सुन्दरतामा रमाउन जौबारी पर्यटक पुग्ने गरेका छन् । कुनैबेला इलामको उच्च भु–भागमा भएको व्यापारीक केन्द्र भएको जौबारी अहिले नेपाल र भारतको सडक हुँदै पुग्ने पर्यटकहरुको गन्तव्यस्थल बनेको छ । हिउँदमा वर्षातसँगै बाक्लो हिमपात पर्ने भएकाले जौबारीमा हिउँ खेल्ने पर्यटकहरुको भिड लाग्छ । चैत्र बैशाखमा हिमाली फुल र लालीगुराँस रम्न अनी अन्य बेला हिमालसँग साइनो गास्न अथवा मित लगाउन ।
जौबारी बन्दै छ, हाब्रे गाउँ
नेपाल भारत सीमा क्षेत्रबाट २ किलोमिटर नजिकै रहेको छ, जौबारी । जौबारी अहिले ‘हाब्रे गाउँ’ ले समेत परिचित हुँदैछ । जौबारी नजिकै रहेका नेपाली जंगलहरुमा रेडपाण्डा अर्थात हाब्रेको बासस्थान छ । र ती जंगलमा रेडपाण्डा अध्ययन र हेर्नका लागि विश्वभरका पर्यटकहरुको जौबारी पुग्छन् । जौबारीमा वन र वन्यजन्तुमा आधारित पर्यटन प्रवद्र्धनमा अन्तराष्ट्रिय स्तरको सुविधा दिने तर स–सना होटलहरु खुलेका छन् । र पर्यटकहरुले पनि निरन्तर तीन होटलहरुबाट सेवा पाइरहेका छन् ।
सन्दकपुर गाउँपालिका वडा नं ५ को जमुना इङ्ला र माईजोगमाई २ को आहालभञ्ज्याङ्ग क्षेत्रका जंगल विश्वमै दूर्लभ रेडपाण्डा ९हाब्रे० पाइने चर्चित ठाउँ हो । रेडपाण्डाको अध्ययन अनुसन्धान र अवलोकनमा वर्षेनी वन्यजन्तुविद् र सयौँ पर्यटकहरु अहिले नेपाली वनमा पुग्छन् । रेडपाण्डा अध्ययनकै लागि अर्को उत्तिकै प्रख्यात ठाउँहरु माबुको दोबाटे जंगल र कैयाकट्टा क्षेत्र पनि हो । जुन जौबारीबाट ३ घण्टाको पदयात्रामा सहजै पुगिन्छ । रेडपाण्डा पर्यटन प्रर्वद्धनले क्रमश ति क्षेत्रहरु अहिले पर्यटनमैत्री गाउँहरु बन्दै गएका छन् । यहाँ खोलिएका होमस्टे ग्रामिण होटेलहरु पर्यटकहरुलाई सेवा र सुविधा त दिएकै छ यस बाहेक मनग्य आर्थिक आर्जन गर्दै आएका छन् ।
जौबारी आसपासका जंगलहरुमा लोपोन्मुख गिद्ध, लामपुच्छ्रे, मुनाल, काँडेभ्याकुर र तल्लो बेसी क्षेत्रमा कालिज, धनेशबाज, गरुड कोकले लगायत दर्जनौ प्रजातीका चराचुरुङ्गीहरु पाइन्छ । भारतपट्टि सिंहलिला संरक्षित क्षेत्र र नेपालपट्टीका वन क्षेत्रमा समुदायबाट व्यवस्थित सामुदायिक वन क्षेत्रमा वन्यजन्तु र चराचुरुङ्गीहरु आरक्षण क्षेत्रबाट सहजै आउजाउ र बसोबास गर्ने गरेका छन् । जौबारी क्षेत्रमा रेडपाण्डा नेटवर्क, डिभिजन वन कार्यालयले समुदायको सहकार्यमा वनजंगलको संरक्षणसँगै वृक्षारोपण समेत गर्दै आएकाले रेडपाण्डाको बासस्थान विस्तारमा सहयोग पुगेको छ ।
जौबारीको अर्को पहिचान
सीमा क्षेत्रको जौवारीले भने अहिले अर्को पहिचान स्थापित गराएको छ । नेपाली किसानलाई आधुनिक कृषि प्रणालीको विकासमा सहयोग पु¥याउने हेतुले नेपाल सरकारले दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् नार्क र आलुबाली तथा बागबानी विकास केन्द्र जौबारीमा पुनः स्थापना गरेपछि कृषि क्षेत्रमा लाग्ने किसानको अध्ययन अवलोकन केन्द्र बनेको छ । लामो समय सरकारी उदासिनताले उजाड र खण्डहर बनेको आठ हजार ४ सय ४५ रोपनीमा फैलिएको आलु विकास क्षेत्र हाल आएर हराभरा बन्दै छ ।
हुस्सु र भुई कुहिरो लुकामारी खेल्ने जौबारी र तालपोखरी क्षेत्र अहिले कृषि बैज्ञानिकहरु र कृषि मजदुरहरुको ज्ञान सिप र पसिना बगाउने कर्मथलो बन्दै गएको छ । अहिले सन्दकपूर गाउँपालिका र माईजोगमाई गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएका छन् । सन्दकपुर वडा नं ५ को जौबारी र तालपोखरी क्षेत्रमा विगत ५ वर्ष अघि पुनःस्थापना गरिएको नार्क र बागबानी केन्द्रले उन्नत जातका कृषि उपजको बिउ बिक्रि वितरण शुरु गरेपछि यहाँबाट बिउ लैजाने तथा अध्ययन अनुसंन्धान र कृषि अवलोकन भ्रमणमा आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
थप तस्बिरहरु :