Local Sandesh मंगलबार, कार्तिक ११ २०८३
  • ट्रेण्डिङ :

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक ९ २०८३


तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए
  • सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन भइरहेको डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ।
  • दुर्घटनापछि मात्रै स्थानीय प्रशासन र प्रहरीले दर्ता र अनुमति बिना सञ्चालनमा रहेका बोटहरूमाथि कारबाहीको निर्देशन दिएको छ।
  • सप्तकोशीमा बोट सञ्चालनका लागि राज्यको कुनै नीति, नियम र कार्यविधि नभएको र प्राविधिक हिसाबले जोखिमयुक्त ओबिएम बोट प्रयोग गरिएको पाइएको छ।

विराटनगर । सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा ९बोट० पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका प्रमुख एसपी पुष्पराल मल्लले बताए । बोटमा सवार अन्य एक दर्जनबढी यात्रुको अवस्थाबारे अझै केही भन्न नसकिने मल्लको भनाइ छ ।

भोजपुरको कोप्चेबाट सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको यात्रुवाहक बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भइसकेपछि भने यत्रो स्थानीय प्रशासन र प्रहरीले ती बोट बिनादर्ता र बिनाअनुमति सञ्चालनमा रहेको जनाएको छ । सप्तकोशीको तीव्र बहाव र ढुङ्गायुक्त जोखिमपूर्ण जलमार्गमा कुनै पनि कानुनी प्रक्रिया, मापदण्ड र सुरक्षा प्रबन्धबिनै एक दर्जनभन्दा बढी सस्ता बोटहरू खुलेआम सञ्चालन भइरहेको पाइएको छ ।

जब नदीमा यात्रुको ज्यान गयो, तब मात्र नियमनकारी निकाय र सुरक्षा प्रशासनले दर्ता, अनुमति र कार्यविधिको खोजी सुरु गरेका छन् । दुर्घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) शेखर खनालले बिनादर्ता र सुरक्षा मापदण्ड मिचेर बोट चलाउने सञ्चालकहरूमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएको बताएका छन् ।

‘तीन जनाको मृत्यु भयो भन्ने आएको छ । बाँकी यकिन गर्दै छौँ । बिचमा कति जना आफैँ पनि पौडिएर निस्किएर गए भन्ने कुरा पनि आएको छ । के कस्तो हो भन्ने बुझ्ने क्रम जारी छ,’ उनले भने, ‘त्यो दर्ता अनुमति नलिएको रहेछ र प्यासेन्जरलाई लाइफ ज्याकेट नलाएको रहेछ भने लापरबाहीमा पनि मुद्दा चलाउनु, सञ्चालकसमेतलाई समातेर कारबाही गर्नु भनेको छु । त्यसरी अनुमति नलिकन चलाउनेलाई त कारबाही गर्नैपर्छ ।’

घटनापछि मात्रै निकायहरूको ध्यान गएको स्वीकार गर्दै उनले सबै सरोकारवालाको ध्यान नपुगेको बताए । ‘सबै ठाउँमा प्रहरीले मात्र गर्दा भन्दा पनि अरू पनि निकायहरू छन् । जिल्ला प्रशासनदेखि सबैले निगरानी गर्नुपर्ने हो । अब यस्तो परेपछि त थाहा हुन्छ– यो फिल्ड पनि रहेछ भन्ने कुरा । त्यसैले अब त्यसमा कडाइ (स्ट्रिक्ट) गर्न मैले सबै जिल्लालाई भनिसकेको छु,’ उनले भने ।

दुर्घटना धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणी नजिकै खुवालुङ आसपास भए पनि नदीको तीव्र बहावले शवहरूलाई सुनसरीको चतरा क्षेत्रसम्म बगाएर ल्याएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लका अनुसार चतरामा तीन जनाको शव फेला परिसकेको छ । ‘घटना भएको क्षेत्र हामीसँग सम्बन्धित छैन, त्यो क्षेत्र उदयपुर र धनकुटा हो । तर त्यहाँ डुब्नुभएका व्यक्तिहरू हाम्रो चतरा क्षेत्रमा आइपुग्नुभएको छ । हालसम्म तीन जना डेड भएको पुष्टि भएको छ,’ उनले भने, ‘मृत्यु हुनेमा एक जना पुरुष र दुई जना महिला (एक जना बच्चासमेत) रहेका छन् ।’

बोटमा सवार यात्रुको यकिन संख्याबारे अन्योल कायमै रहेको एसपी मल्लले बताए । ‘सवार कति थिए भन्ने ठ्याक्कै थाहा छैन । कोही १६ जना भन्छन्, कोही १५ भन्दा बढी भन्छन्,’ उनले भने । स्थानीय एक व्यवसायीका अनुसार सप्तकोशी नदीमा बोट सञ्चालनका लागि राज्यको कुनै नीति, नियम र कार्यविधि नै छैन । ‘यसको नियम–कानुन नै केही छैन । एउटा कम्पनी रजिस्ट्रारमा दर्ता गर्ने, भ्याटमा दर्ता गर्ने, अनि मन लाग्यो भने त्यत्तिकै पनि चलाउने, नभए यसो यात्रुको बिमा गर्छन् । त्यत्तिकै त्यत्तिकै चलेका छन् के ! यसको न कुनै कानुन छ, न राजस्वको कुनै स्पष्ट व्यवस्था छ । केही पनि छैन,’ ती व्यवसायीले भने । स्थानीय पालिका, प्रशासन र सरोकारवाला सबैलाई यसबारे जानकारी भए पनि दुर्घटना हुनुअघिसम्म कसैले चासो नदिएको उनले बताए ।

दुर्घटनामा परेको साधन वास्तविक ‘जेटबोट’ नभई ताल–तलैयामा चलाइने सस्ता ‘ओबिएम’ (आउटबोर्ड मोटर) बोट भएको खुलेको छ । तीव्र बहाव (र्‍यापिड वाटर) र नदीभित्र १ देखि डेढ फिटमै ढुङ्गाहरू भेटिने सप्तकोशीमा यस्ता ओबिएम बोट चलाउनु प्राविधिक हिसाबले नै जोखिमयुक्त रहेको ती व्यवसायीको भनाइ छ । ‘वास्तविक जेटबोट त दुई–तीन वटा मात्रै छन् । अरू बाँकी १०–१२ वटा जति छन्, ती सबै ओबिएम हुन् । यो १२–१३ लाख रुपैयाँमै पाइन्छ,’ उनले भने ।

जेटबोटमा पानी फाल्ने विशेष प्रविधि (वाटर जेट) हुने भएकाले ढुङ्गामा ठोक्किने जोखिम कम हुन्छ । तर, ओबिएम बोटको मुनि खुला पङ्खा हुन्छ । दसैँको अष्टमी र नवमीको यात्रु चापको मौका छोपेर सञ्चालन गरिएका यी बोटको पंखा पानीमुनिको ढुङ्गामा ठोक्किना साथ इन्जिन बन्द भएको थियो । त्यसपछि अनियन्त्रित भएको बोटलाई तीव्र बहावले करिब ४०० मिटर तल बगाएर किनारको ढुंगामा ठोक्काउँदै पल्टाइदिएको ती व्यवसायीको दाबी छ । रातोपाटीबाट साभार

तस्बिर : सामाजिक सञ्जालबाट लिइएको

प्रतिक्रिया
सम्बन्धित समाचार