६७/६८ सालतिरको कुरा हो, मेरो फेसबूकको भित्तामा त्यसबेला काठमाडौँमा सञ्चालन भैरहेको ‘नेपाल युनाइट्स’ नाम दिइएको एक स्वतन्त्र नागरिक आन्दोलनको फोटो देखापर्यो। सायद उक्त तस्वीर साथीहरूबीच सेयर हुँदै त्यहाँ आइपुगेको हुनुपर्छ। म एकैछिन टक्क अडिएँ। यस अघि मैले विभिन्न दलहरूले नेतृत्व र समन्वय गरेका सानादेखि ठूलासम्म केही आन्दोलनहरू देखेकी थिएँ र केहीमा सहभागी बनेकी थिएँ। तर, पहिलोपटक हुनुपर्छ-सम्भवतस् मैले यति ठूलो जमात देशको राष्ट्रिय झण्डा छातीमा टाँसेर सडकमा उत्रिएको देखेँ।
त्यसबेला जंगलमा दशक लामो हिंसात्मक आन्दोलनपछि स्थापित राजनीतिक दल मुलुकलाई नयाँ संविधान दिने जिम्मेवारीसहित बहुमतले निर्वाचित भएर सदनमा आएको थियो। दुर्भाग्य नै भनौँ-ढिला सुस्ती र राजनीतिक खिचातानीबीच मुलुकले महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति जुटाउन सकिरहेको थिएन। यसको मारमा परेका म जस्ता मोफसलका युवा आक्रोशित थियौँ, तर, आवाजविहिन।
मैले त्यस तस्वीरमा आशा देखेँ र उक्त समूहको जरोसम्म पुग्ने कोसिसमा लागेँ। फलस्वरूप म दरबारमार्गको एक बृहत् कार्यक्रममा सहभागी बन्न पुगेँ।
त्यहाँ भेटिनुभयो – ‘उज्ज्वल थापा।’
पहिलो प्रभाव
उहाँ त्यसबेला छायामा बसेर उक्त आन्दोलनको नेतृत्व गरिरहनु भएको रहेछ। साधारण हाफपाइन्ट र सेतो टिसर्ट, चप्पल लगाउनु भएको, कपाल पुरै तालु, हातमा पर्चा। पर्चामा लेखिएको थियो-‘परिवर्तनका लागि हामी नेपाली एक’ ‘ज्याला पूरा लियौ-अब संविधान देऊ…’ यस्तै केही। उहाँले मलाई एक पर्चा थमाइदिनुभयो र आफू एक सूचना-प्रविधि (आइटी) कम्पनी सञ्चालन गर्ने बताउनुभयो। मेरो बारेमा पनि उहाँले सोध्नुभयो र मेरो जवाफ निकै ध्यानपूर्वक सुन्नुभयो। मेरा लागि उहाँ ठूलो शहरको ठूलो मान्छे हुनुहुन्थ्यो। तैपनि न हातमा कुनै महँगा घडी, टाउकोमा चस्मा, ठूला गफ, केही थिएन। मात्रै थियो-एउटा अनौठो झुकाव र सरलता। उज्ज्वल थापा र उहाँको समूहको फरक सोच र कार्यशैलीबाट म निकै प्रभावित भएँ।
त्यसपछि उहाँले नेतृत्व गरेका वा सहभागी बनेका ‘नयाँ संविधानलाई स्वागत छ’, ‘नेपालका लागि उद्यमी : द लास्ट थर्सडेज’, ‘नेपाल खुला छ’, ‘अकुपाइ बालुवाटार’ जस्ता हरेक कार्यक्रमहरूमा म खोजी खोजी सहभागिता जनाउन थाले।
सामाजिक तवरबाट सञ्चालन भएका यी अभियानहरू राम्रै चलिरहेका थिए। केही निकै सफल पनि भए। यद्यपि कुनै मुद्दा केन्द्रित भएर गरिएको सामाजिक आन्दोलनले एक किसिमको दवाब त सृजना गर्न सक्ला, त्यस मुद्दामा सोचेको परिवर्तन पनि हासिल होला, तर, हरेक मुद्दामा पटक–पटक आन्दोलित भइरहन के आम नेपालीहरूको श्रोत र शक्तिले भ्याउलारु यस्तो अवस्थामा दीर्घकालीन समाधान केरु उज्ज्वल दाइलाई यस्तै प्रश्नहरूले गिजोल्न थालेको थियो।
ती प्रश्नहरूको जवाफ खोज्ने क्रममा ठमेलको गोदावरी आल्मुनाइ एसोसिएसनको भवनमा उहाँले हरेक शनिबार ‘खुला नागरिक बैठक’ सञ्चालन गर्न थाल्नुभयो। त्यो कार्यक्रमको नाम नै ‘अब के गर्ने ?’ राखिएको थियो। एक दिनको कुरा हो-कार्यक्रमको शुरूमा सबैले आफ्नो परिचय दिनुपर्ने थियो। कसैले डाक्टर, इञ्जिनियर, समाजशास्त्री, पत्रकार, लेखक, अध्येता, ठूला दातृ निकायहरूका परामर्शदाताको रूपमा काम गरिरहेको वा यस्तै केही बताए।
जब उज्ज्वल दाइको पालो आयो, उहाँले भन्नुभयो : ‘नमस्ते, मेरो नाम उज्ज्वल थापा र म नेपालीहरूको दिमाग घोच्ने काम गर्छु।’ सबै अवाक् भए। मलाई पनि लाग्यो, या त यो मान्छे बढी स्मार्ट हुन खोजिरहेको हुनुपर्छ, वा उसलाई बुझ्ने क्षमतामा हामी कोही पनि छैनौँ। मलाई भने उहाँलाई नियाल्न निकै रोचक लागिरहेको थियो। यस्तो व्यक्तित्व भएको मानिस मैले पहिले कहिल्यै देखेको थिइनँ। त्यसैले म उहाँलाई साँच्चिकै बुझ्न चाहन्थेँ।
कुरा भन्दा काम
अब के गर्नेरु’ भन्ने प्रश्नको छलफलको निचोडस्वरूप विभिन्न सुझावहरू आउँथे। कहिले महात्मा गान्धी त कहिले अन्ना हजारेको जस्ता नागरिक अभियानहरू गर्नुपर्ने सुझावहरू आउँथे। तर, ती सुझावहरू उज्ज्वल थापाले खोजेजस्तो नेपालीहरूका अनगिन्ती समस्याको माटो सुहाउँदो र दीर्घकालीन समाधान बन्न सकिरहेका थिएनन्। नेपालमा राजनीतिक परिवर्तनको खाँचो भएको कुरामा सबैको सहमति थियो। तर, जब ‘यसको नेतृत्व कसले गर्ने र कसरी गर्ने ?’ भन्ने सवाल उठ्थ्यो-तब धेरै सहभागीहरू टाढिन खोज्थे। त्यसैले यो छलफल महिनौंसम्म बिना कुनै निचोड चलिरह्यो। उज्ज्वल दाइ चाहिँ नेपाल बिग्रिएको ‘कुरा बढी, तर काम कम’ भएर हो’ भनिरहनुहुन्थ्यो।
एउटा यस्तो समय आयो-उहाँले अडान लिनुभयो। भन्नुभयो, ‘अहिले नगरे कहिले ?, हामीले नगरे कसले ?’, अब छरिएर रहेका तर, एउटै सोच बोकेका नेपालीहरूलाई समेट्नेगरी एक नयाँ धारको राजनीतिक मञ्च स्थापना गर्नुपर्छ।’
त्यसका लागि एक्लै भएपनि अघि बढ्ने पक्षमा देखिनुभयो। उहाँले आफ्नै घरबाट यसका लागि गृहकार्य शुरू गर्नुभयो। तर, यसबेलासम्म उहाँका आधाभन्दा बढी साथीहरूले साथ छोडिसकेका थिए।
विवेकशील नेपाली मञ्चको प्रारम्भ
त्यसबेला उपत्यका बाहिरबाट काठमाडौंमा आएर भविष्य बनाउन संघर्षरत म एक सामाजिक संस्थामा इन्टर्न गर्दैथिएँ। मलाई मासिक रूपमा त्यस्तै तीनहजार रुपैयाँजति तलब मिल्थ्यो। घरभाडा तिरेर, खाएर, बाँकी भएको पैसाले मलाई यी कार्यक्रम स्थलसम्म पुग्ने गाडी भाडा पनि नपुग्ने हुँदा प्राय : म पैदल नै पुग्नेगर्थें। त्यहीबेला म अल्सरबाट पीडित थिएँ। घर फर्किने बेला रात परिसकेको हुन्थ्यो।
उज्ज्वल दाइ मलाई सधैँ ‘घर कसरी फर्कन्छौ ?’ भनेर सोध्ने गर्नुहुन्थ्यो। प्राय : महाराजगञ्जको मेरो डेरासम्म छाडिदिनुहुन्थ्यो। एक समय यस्तो आयो-म बेरोजगार मात्रै होइन, काठमाडौंमा घरवासविहीन हुन पुगेँ र सबैसँग सम्पर्कविहीन बनेँ। इच्छा भएर पनि यस्ता कार्यक्रमहरूमा सहभागी हुन छाडेँ। म विराटनगरको एक साथीको घरमा केही महिनादेखि शरण लिएर बसेकी थिएँ। उज्ज्वल दाइले त्यसबेला मेरो खोजी गर्नुभएछ। जब मेरो स्थितिबारे पूरा जानकारी भयो-उहाँले मलाई काठमाडौं झिकाउनुभयो।
त्यसबेलासम्म उहाँले आफ्नै घरमा तत्कालीन विवेकशील नेपाली मञ्चको कार्यालय स्थापना गरिसक्नुभएको रहेछ। उज्ज्वल दाइले आफ्नो डाइनिङ टेबललाई कन्फ्रेन्स टेबल, बैठक कोठा, मिटिङ रूम र सुत्ने कोठालाई कार्यालयमा परिणत गर्नुभएको थियो। त्यसबेलासम्म मञ्चले घरभाडा तिर्नसक्ने अवस्था पनि थिएन।
शारीरिक अपाङ्ग उहाँकी आमा र उमेर ढल्किँदै गरेका बाबा भने आफ्नो घरनजिकै डेरा गरेर बसिरहनु भएको थियो। उज्ज्वल दाइले मलाई समेत उहाँहरूसँगै बस्ने व्यवस्था मिलाइदिनुभयो।
साधारण मानिसहरूको असाधारण प्रयास
उक्त मञ्चको कार्यालयमा जो कोहीलाई आउन, सदस्यता लिन, अनलाइन र भौतिक दुवै माध्यमबाट खुला गरिएको रहेछ। जर्मनीबाट बिदामा घर आएका नयाँ सडकका सुबोध मास्के हुन् वा फेसन डिजाइनिङ पढेकी विराटनगरकी ज्ञानु बराल, काठमाडौं विश्व विद्यालयबाट भर्खरै एमबीए सकेकी सिवांगी तापरिया हुन् वा जुम्लामा कृषिलाई व्यवसायीकरण गर्ने सपना बोकेका अंगराज भारती हुन्, जापानबाट राजनीतिशास्त्र अध्ययनगरी फर्केका गोविन्द नारायण नै किन नहुन्- यी र यस्ता थुप्रै युवाहरू कार्यालयबाटै धमाधम मञ्चको काम गरिरहेका हुन्थे।
हामी दिनभर काममा खट्थ्यौँ। उहाँकै भान्सामा कच्याककुचुक जे-जस्तो पकाएर खान्थ्यौ। त्यहाँ धेरैजसो समाजमा स्थापित नामहरू भन्दा पनि १८–२५ वर्ष बीचका कोही पढ्दै गरेका त कोही आफ्नो व्यवसायिक जीवनमा बामे सर्दै गरेका समाजमा गुमनाम मानिसहरू थिए।
उनीहरूसँग न त राजनीति गरेको लामो अनुभव थियो, न कुनै वादसँगको जडसुत्रीय लगाव ! थियो त केवल देशलाई एउटा दीर्घकालीन समाधान दिने हुटहुटी।
उज्ज्वल दाइ सबैलाई राखेर भन्नुहुन्थ्यो-नेपाल हाम्रो घर हो, डेरा होइन। घर चर्कियो भने छिमेकी आएर टालिदिँदैनन्। घर ढले त्यहाँ बस्ने मानिस पनि त्यसैसँग ढल्छन्। त्यसैले यो देशमा कुनै अलौकिक शक्ति भएको सपुत जन्मिएला र सुपरम्यानले जसरी सबै ठीक गर्देला भनेर बस्नु बेकार हो। अब विकल्प कुर्दै बस्ने हैन, आफैँ बन्ने हो।’ मञ्चले नेपालको १४ अञ्चलबाट त्यहाँका स्थानीय युवाहरू पैदल हिँडेर लुम्बिनीसम्म पुग्नेगरी एक देश दौडाहा (पदयात्रा) कार्यक्रम आयोजना गर्नेभयो। यसको मुख्य उद्देश्य – हामीले नेतृत्व गर्ने राजनीतिक परिवर्तन माटो सुहाउँदो र जनचाहनाअनुरूप हुनुपर्छ भन्ने सन्देश फैलाउनु थियो।
आयातित वादहरूलाई उतार्न प्रयास गरेर हुँदैन। काठमाडौँमा केही व्यक्ति बसेर कोरेको भरमा पनि हुँदैन। हामीले देश चिन्नुपर्छ, त्यो भन्दा महत्वपूर्ण भनेको ‘आम नागरिकलाई कस्तो परिवर्तन चाहिएको छ-त्यो बुझ्न सक्नुपर्छ ‘ भन्ने थियो। यसका निम्ति मलाई राष्ट्रिय संयोजकको जिम्मेवारी दिइयो। त्यसबेला म त्यस्तै १९ वर्षकी थिएँ सायद। तर, व्यक्तिगत रूपमा जीवनको सबैभन्दा कठिन परिस्थितिमा थिएँ। सही मार्ग देखाउने कोही नहुँदा बाटो बिराउन पनि सक्थेँ। तर, यसको विपरीत(त्यही समय नै मेरो जीवनको सबैभन्दा ऊर्जाशील समय बनेको थियो।
म र म जस्ताहरूलाई कसैको विश्वासको खाँचो थियो। काम गरेर प्रमाणित गर्ने अवसरको खाँचो थियो। कलिला मान्छेहरू, बिना धेरै अनुभव एकैपटक यति ठूलो जिम्मेवारी आउँदा हामी कयौ पटक नअत्तालिएका पनि होइनौँ। उज्ज्वल दाइ कहिले नरम त कहिलेरुखो बन्नुहुन्थ्यो। तर, जसरी होस् -हामीलाई आफ्नो क्षमतामा विश्वास गर्न सिकाउनुहुन्थ्यो। भन्नुहुन्थ्यो, ‘हामी लामो दूरीका धावक हौँ, अहिले नै अत्तालिनुहुन्न।’
कुकुर चुनाव चिह्नसहितको स्वतन्त्र उम्मेदवारी
पदयात्रा सकिएपछि उज्ज्वल दाइसहित मञ्चका ४ जना स्वतन्त्र उम्मेद्वारहरूले कुकुर चुनाव चिह्न लिएर चुनावमा सहभागिता जनाउनुहुने भयो। म भने उज्ज्वल दाइको सचिवालय व्यवस्थापकको भूमिकामा परेँ। कुकुर चुनाव चिह्न बोकेर भोट माग्न जाँदा शुरूमा कतिले उहाँलाई पागल, जोकर वा अमेरिकी जासुस पनि भने। हामी भन्थ्यौँ-‘उज्ज्वल दाइ नेपालमा सुट, बुट र चिल्ला गाडीमा हुइँकिदै, हुल बाँधेर घर–घर पुग्नेलाई मात्रै नेता भनेर मान्छन्। यस्तो अवस्थामा यो हाफपाइन्ट र चप्पल लगाएर, कुकुर चुनाव चिह्न भन्दै घर–घर पुग्दा कसरी चुनाव जितिएला र ‘
उहाँ भन्नुहुन्थ्यो, ‘चुनाव जित्नुमात्रै ठूलो कुरा हैन बहिनी ! हामीले त आम नेपालीहरूमा राजनीतिप्रति र त्यसको नेतृत्व गर्नेहरूप्रतिको दृष्टिकोण नै परिवर्तन गर्नुछ।’
नेता भनेको कुकुरजस्तै हुनुपर्छ, नुनको सोझो गर्ने, इमान्दार, बफादार, घरको पहरा दिने पहरेदार, भनेर बुझाउन सक्नुपर्छ। हामी दिनहुँजस्तो यी र यस्ता धेरै कुरामा सवाल-जवाफ गर्थ्यौँ। उहाँ अलि बढी नै जिद्दी हुनुहुन्थ्यो। आफूले विश्वास गरेको विषयमा अडिग रहनुहुन्थ्यो। बाँकी दुनियाँले के भन्छ भन्ने कुरामा उहाँलाई खासै परवाह हुँदैनथ्यो। चुनाव सकियो। मैले उहाँको स्वकीय सचिवको रूपमा त्यसपछि पनि करिब ३ वर्ष बिताएँ। उहाँका हरेक फोन र इमेल उहाँभन्दा पहिले मैले नै पाउने गर्थेँ र रेस्पोन्स पनि। यस्ता हरेक रेस्पोन्स गर्नुअघि म आफूलाई प्रश्न गर्थेँ, ‘यो अवस्थामा उज्ज्वल थापा के भन्नुहुन्थ्यो होला ?’ स्वीकार्न गाह्रो थियो। तर, सायद मभित्र पनि एक उज्ज्वल थापा जन्मिरहेको थियो।
छोडेका छापहरू
‘उद्यमशीलता नै आर्थिक समृद्धिको जरो हो’ भन्नेमा उहाँ विश्वास गर्नुहुन्थ्यो। पार्टी स्थापना हुनुभन्दा अघिदेखि नै उद्यमशीलता विकास अभियान नाम गरेर हामीले सँगसँगै सयौँ युवाहरूमा देशमै उद्यम गर्ने उत्साह जगाउन शुरू गरिसकेका थियौँ। उहाँ ‘नेतृत्व भनेको परिणाममुखी हुनुपर्छु भनेर विश्वास गर्नुहुन्थ्यो। २०७२ सालको महाभूकम्पमा नेपाल सरकार समेत नपुगेका कन्दराहरूमा उद्धार र राहत पुर्याउन विवेकशील नेपाली दल सफल भयो। उज्ज्वल दाइ भन्नुहुन्थ्यो : ‘नेपालमा नकारात्मक भाइरसहरूको सिन्डिकेट छ। यसविरुद्ध एक्लै लड्ने होइन, सकारात्मक भाइरसहरूको सिन्डिकेट निर्माण गर्नुपर्छ र उनीहरूलाई संक्रमण गर्नुपर्छ।’
स्वास्थ्य क्षेत्रको लुटतन्त्रविरुद्ध डा। गोविन्द केसीले शुरू गर्नुभएको आन्दोलनलाई आम नेपालीमाझ पुर्याउने र त्यसप्रति अपनत्व जगाउने अभियानमा उहाँ र विवेकशील नेपालीहरू सधै अग्रपङ्क्तिमा आउनेगर्दछ। उहाँले ‘सच्चा नेतासँग लुटतन्त्रविरुद्ध बोल्ने हिम्मत हुनुपर्छ’ भन्नुहुन्थ्यो। लोकमान सिहं कार्की प्रकरणविरुद्ध लड्ने साहस उहाँकै नेतृत्वमा सम्पन्न भयो।
उहाँ ‘पारदर्शिता हाम्रो मूलमन्त्र हुनुपर्छ’ भन्नुहुन्थ्यो। सम्भवत : आफ्नो वेबसाइटमार्फत सम्पूर्ण आम्दानी र खर्चहरू सार्वजनिक गर्ने नेपालको पहिलो दलको उहाँले नै नेतृत्व गर्नुभएको थियो।
महादेवजस्तो नेता
हुन त उहाँ पनि निश्चित कमजोरी सहितको मान्छे हुनुहुन्थ्यो। तर, उहाँले कुनै दिन चमत्कार होला र यो देश आफैँले खोजेजस्तो होला भनी कुरेर बस्नुभएन। मेरो नजर र अनुभवबाट हेर्दा यसरी एउटा आम युवाले आफ्नो भौतिक सुखसयल, बुद्धि-विवेक, धनसम्पत्ति र इज्जत सबै आहुति दिँदै परिवर्तनको बिगूल बोकेर हिँड्ने हिम्मत गरेको थियो। धेरैले यसको समर्थन गरे भने केहीले उहाँलाई बाँचुन्जेल गिज्याए। भाषण गर्न नजान्ने पनि नेता हुन्छ ?, यी डलरवादी हुन्, माइतीघर मण्डला मात्रै संसार हो ?, डा। केसीलाई उचालेर राजनीति गर्न खोजेका,’ जस्ता अनेकौं गाली उहाँले बाँचुन्जेल भोग्नुपर्यो। कहिलेकाहीँ हामी दिक्क हुन्थ्यौँ।
सोध्थ्यौँ-‘हामीले यो सब के का लागि गरेको दाइ ?’ उहाँ भन्नुहुन्थ्यो ‘नेता भनेको महादेव जस्तो हुनुपर्छ, विष पिएर अमृत ओकल्नसक्ने ! तिमी सोच कि, हाम्रो काम नै यो समाजका सबै विषहरू निलेर पनि यहीँ समाजमा बस्ने मानिसहरूको दैनिक समस्याको दिगो हल निकाल्ने हो। ‘
उहाँ प्राय : पछाडि बसेर नै नेतृत्व गर्नु चाहनुहुन्थ्यो। ‘हामीले गरेको कामको जस कसले लियो ? भन्ने चासोमा समय खर्च गर्नहुन्न, त्यो भन्दा पहिले देशको हितमा हाम्रो उद्धेश्य पूरा भयो कि भएन ? निर्क्योल गर्नुपर्छ’ भन्नुहुन्थ्यो।
‘हाम्रो काम बाटो देखाउने हो, उदाहरण बन्ने हो, मैले मात्रै गर्नुपर्छ, म भइनँ भने यहाँ सबै खत्तम होला भनेर सोच्नुपनि अहमतामात्रै हुनसक्छ’ भन्नुहुन्थ्यो। त्यसैले होला- उहाँ आफ्नो निकै ठूलो लगानी परेको बस्तु पनि चटक्कै छोडेर अघि बढ्न सक्नुहुन्थ्यो।
कयौँपटक ‘दाइ, यसरी त राजनीतिज्ञ हैन, बुद्ध चाहिं बनिएला नि !’ भनी जिस्क्याउँथ्यौँ। उहाँ भन्नुहुन्थ्यो-‘मेरो काम भनेको नेता जन्माउने हो। मेरो नेता तिमी हौ ! मेरो नेता रञ्जु, पुकारहरू र सयौँ अरू गुमनाम युवाहरू हुन्। त्यसैले हामीले देखेको सपना पूरा भएको दिन सम्भवतः म त्यहाँ नेतृत्व गरिरहेको हुनेछैन। अब तिमीहरूको पुस्ताले त्यसको तयारी गर्नुपर्छ,’ भन्नुहुन्थ्यो।
उज्ज्वल आफैँमा एक आन्दोलन
आज विवेकशील यात्राको करिब एक दशक पुग्न लागेको छ। यस बीचमा विभिन्न भूमिकाहरूमा मैले उज्ज्वल दाइको निकटमा बसेर काम गरेँ। उज्ज्वल थापा अस्पतालको शय्यामा कोभिड-१९ विरुद्धको लडाइँ लडिरहनुभएको थियो। म निकै डराएकी थिएँ। विवेकशील नेपाली दलका सह-संस्थापक गोविन्द नारायणसँग मेरो फोनमा कुरा भयो। उहाँले भन्नुभयो, ‘तिमी चिन्ता नगर, उज्ज्वल एक व्यक्ति हैन-विचार हो, उसको जीवन आफैँमा एक आन्दोलन हो। उ कहिल्यै बिलाउने छैन।’
अनुभव आ–आफ्नो होला र मेरो भोगाइमा पनि सम्भवत : यही नै उज्ज्वल थापाको जीवनको सारांश हो। उहाँ कहिले फकिरजस्तो, कहिले साथी, कहिले बुबा, कहिले विद्रोही, कहिले हठी, कहिले पथ प्रदर्शक त कहिले उत्प्रेरकजस्तो हुनुहुन्थ्यो।
उहाँ अरूले कहिल्यै नहिँडेको बाटो हिँड्न रमाउनुहुन्थ्यो। साधारण चिजहरूलाई असाधारण दृष्टिकोणबाट हेर्न सक्नुहुन्थ्यो। उहाँ साँच्चै अनौठो हुनुहुन्थ्यो। अब उहाँलाई हामीले खोजेको जस्तो राजनीतिक नेता मान्ने कि नमान्ने ? निर्णय तपाईंको। जसरी ठमेलको कार्यक्रममा पहिलोपटक उहाँले मेरो दिमाग घोचिदिनुभएको थियो, आज यस धर्तीबाट आफ्नो भौतिक शरीर छोडेर जाँदाजाँदै पनि, उहाँले लाखौँको दिमाग घोचिदिनुभएको छ।
(सुबुना विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुन्।)