आजका दिन हामीहरुले बाँचेको र भोगेको जीवनशैलीलाई सुक्ष्मतम ढङ्गबाट विश्लेषण गर्नुपर्ने अवस्था आइसकेको छ । हामीले बोल्ने बोली र देखाउने व्यवहारका वीचमा तादात्म्यता छैन । अरुलाइ देखाउनका लागी देखाइने संस्कृति प्रसस्त भएपनि यथार्थमा यो खोक्रो हुदैं गएको छ । हुन त यो सानो लेखमा सबै बयान र विश्लेषण सम्भव छैन तथापी सानो प्रयत्न गरिएको छ । कसैको चित्त दुखाउने मनसाय राखिएको छैन तर यहाँ उल्लेखित विषयले कसैको जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ ।
हामीहरु राज्यद्वारा आयोजना गरिने सबै सार्वजनिक कार्यक्रमहरु र विद्यालयहरु राष्ट्रिय गीतबाट प्रारम्भ गर्दछौं । राष्ट्रप्रति सम्मान दर्शाउने हाम्रो परम्परा नै हो । हाम्रा साहित्यीक निधि व्याकुल माइलाद्वारा रचित र वरिष्ठ संगीतकार अम्बर गुरुङ्गको सुन्दर संगीत सीर्जनामा बेरिएको सयौं थुँगा फूलका हामी एउटै माला नेपाली गाउँदा साँच्चै नै ह्रदय प्रफुल्ल भएर आउँछ ।
यति धेरै जातजाति भाषाभाषी र संस्कृतिका धनी हामीहरुको विशेषता वयान गर्न राष्ट्रिय गीत सक्षम छ । तर व्यवहारमा हामी यति अनुदार र कुटिल भएका छौं कि जाति विशेषलाइ लिएर गरिने टीकाटिप्पणी हेर्दा र पढ्दा धिक्कार्न मन लाग्छ । वितेका बर्षमा मुलुकमा घटित घटनाहरुले नेपाली समाजमा बढ्दो असहिष्णुतालाइ उजागर गरिसकेका छन ।
चेपुवामा पारेर गरिएको सुगौली सन्धिबाहेक नालापानी देउथल सिन्धुलीगढीका युद्धहरुमा नेपाली योद्धाले देखाएको वीरतालाइ स्मरण गर्न हटि होइन डटि लड्ने नेपालीको बानी हुन्छ भन्ने गीतपनि गायौं । तर आज शत्रुराष्ट्रका सेनासंग लड्न र भिड्न नभइ एक थुँगाले अर्को थुँगासंग लड्न कायर वीरताको अभ्यास गर्यौु र गर्दैछौ । धर्म जाति र समुदायका नाममा परस्परमा विषवमन गर्ने धृष्टता गरिरहेका छौ । अदृश्य लगानीको बलमा समाजलाइ विखण्डित पार्ने प्रयत्नमा लागिरहेका छौं । भाइ फुटे गँवार लुटे भन्ने उखानलाइ पर्वाह नगरी आफ्नालाइ पछारेर बिरानोलाइ खुशी पार्न लागी परेकाछौं । विपदमा सहयोग गर्न धर्मको सहारा लिइरहेका छौं कस्तो विडम्वना ।
मातातीर्थ औंशीको दिन फेसबुकका वालहरुमा आमाका नाममा लेखिएका कथनहरुले यस्तो झलक दियो कि वृद्धाश्रममा कोही वृद्धवृद्धाहरु छैनन । सबैले बाबुआमाहरुलाइ त्यति नै माया दिएर घरमा पालनपोषण गरिरहेका छन जति तिनका तिघ्रा नलागुञ्जेल बाबुआमाले गरेका थिए । विडम्वना घरमा पाल्न झर्कोफर्को गर्ने र झुक्याएर सम्पत्ति हडप्ने वृद्धाश्रममा लगेर छाडिदिने सन्तान नदेखेको पनि होइन । उमेरले नेटो काटेका बाबुआमालाइ वृद्धाश्रममा भेट्न जानेहरु नभएका पनि होइनन । विरामी भएर पल्लो छेउ पुगेका र मृत्युलाइ कुरेर बसेका बाबुआमालाइ घरमा मृत्यु भएमा छोराछोरी तर्सिन्छन भनेर अस्पताल पुर्याउने सन्तानहरु पनि छन् । तर बाबुको मुख हेर्ने दिन कुशे औंशी र आमाको मुख हर्ने मातातीर्थ औंशीका दिन गोहीका आँसु चुहाउने यस्ता सन्ततिहरुको आडम्बर कति दुर्भाग्यपूर्ण छ मनन गर्न सकिन्छ । सरकारमा बसेका र बाहिर रहेका सबै राजनीतिक दल र यिनका भ्रातृ संस्थाहरु सामाजिक संघसंस्थाहरु र सामुदायिक संस्थाले समेत विभिन्न कार्यक्रमको नाममा आर्थिक सहायता लिने भनेको वजार तथा उद्यमी व्यवसायीहरु बाट नै हो ।
व्यापारी व्यवसायीहरुले सीमित नाफा आर्जन गर्ने र समाजको लागी केही सेवाभावबाट व्यापार व्यवसायमा लगानी गरेका हुन् । लगानी गर्ने लगानीकर्ताले यी सबैलाइ दिएको आर्थिक सहयोग एक किसिमले लगानी नै हो । लगानीको प्रतिफल प्राप्त गर्ने चाहना सबै व्यवसायीमा हुन्छ । घरबार बेचेर सहयोग गर्ने पक्कै होइन । लगानीको प्रतिफल सेवाग्राहीबाट नै अशुलउपर गरिन्छ । अबका दिनमा राजनीतिज्ञहरुले स्वाभिमानको राजनीति गर्ने हो भने अर्काको आर्जनमा निर्भर रहने प्रवृत्ति त्याग गर्नसक्नु पर्दछ । समाजमा केही मानिसले आफ्नो पेशा नै समाजसेवा हो भनेर परिचय दिने गर्दछन् । के समाज सेवालाइ पेशाको रुपमा लिन सकिन्छ वा सकिदैंन यो विचारणीय प्रश्न रहेको छ । तर हाम्रो मुलुकमा समाजसेवालाइ विना लगानि प्रतिफल प्राप्त गर्ने पेशाको रुपमा चित्रित गरिएको छ । धेरै समाजसेवीहरुको हैसियत पुनरावलोकन गर्दा यो विषय सत्यको नजीक रहेको मान्नुपर्दछ । पेशाको धर्म प्रतिफल प्राप्ति हो अर्थात प्राप्तिको लालसामा गरिने कुनै पनि कार्यलाइ पेशा भनिन्छ । प्रतिफल आर्जन गर्ने मनसायले गिरएको लगानीलाइ व्यवसाय भनेजस्तै हो पेशा पनि । पेशामा काम गरेवापत निश्चित पारिश्रमिक प्राप्त गरिन्छ । त्यसैले राजनीति पेशा हुदैन यो त नागरिकहरुको सुविधाका लागी राज्यका तर्फबाट प्रदान गरिने सेवा सुविधालाइ संगठित ढंगले उपलव्ध गराउने प्रत्याभूति दिने माध्यम हो । यसका सारथीहरु व्यवसायिक होइन लोकहितका लागी वैयक्तिक लाभको त्याग गर्दछन ।
एक्काइसौं शताव्दिको प्रतिफल चाहना गर्ने तर व्यवहार सत्रौं शताव्दिको गरेर लक्ष हासिल हुदैंन । सोच र व्यवहारको वीचमा तालमेल भएमात्र सबै प्रणालीले निर्वाध काम गर्न सक्छन । हामी र हाम्रो समाज पूर्णतः आडम्वरी बन्दै गएको छ । यस्तो आडम्बरी शैलीबाट न वरत्र नै सप्रन्छ न त सन्ततिको भविष्य नै रहन्छ ।मुलुकलाइ समृद्ध बनाउन र नागरिकलाइ सुखी बनाउने हो भने आजैका मितिबाट सबैले म होइन हामी भन्न र मेरो होइन हाम्रो भन्नु पर्दछ । सम्पत्तिका लागी जननीको चीरहरण गर्न पछि नपर्ने प्रवृत्ति देखा पर्दैछ । यस्तो आडम्वरलाई नफ्याँकेसम्म नेपाल र नेपालीको सुख समृद्धिको कल्पना नगरौं ।
सरकारद्वारा नागरिकलाइ सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरी खटाइएका कर्मचारीहरु नै आफूलाइ मालिक सम्झन्छन । राष्ट्रसेवकहरु राष्ट्र र नागरिकको दोहन गर्न पाउनु आफ्नो अधिकार सम्झन पुग्नु कति विडम्वना हो त । कर्मचारीतन्त्रभित्र सस्तो लोकप्रियताका लागी काम गर्ने प्रवृत्ति झाङ्गिदै गएको छ । कानूनद्वारा गर्नु भनेको काम नगर्नु र नगर्नु भनेको काम गर्नुलाइ नै गैरकानूनी काम भनिन्छ । दुइ वीचको भेद नै यति हो । कानूनले कामलाइ गाँठो पारेर नागरिकहरु माथि पीडा दिनुपर्छ भन्ने आशय राखेको हुदैन । स्वविवेकीय व्याख्याद्वारा कानूनलाइ जटिल बनाउन खोज्ने विषय गम्भीर मान्नु पर्दछ ।कानूनको व्यवस्थापिकीय मनसायका आधारमा सर्वसाधारण नागरिकहरुको लागी सेवा प्रवाह गर्ने कर्मचारीतन्त्र आवश्यक छ । वर्तमान कर्मचारीतन्त्रले यो भूमिका निर्वाह गर्न सक्दैन भने अलोकप्रिय निर्णय लिनु पर्नेछ ।
नागरिक समाजको तात्पर्य कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रह विना आफूलाइ लागेको र जनहितका विषयमा बोल्ने र सरकारको ध्यानाकर्षण गराउनु पर्दछ । तर हाम्रा नागरिक समाज राजनीतिक विचारधारामा विभाजित छन र आफू अनुकुलका राजनीतिक विचारमा समर्थन र विपरीत विचारको विरोध गर्दछन । यो परिवेशमा नागरिक समाजको अस्तित्व नागरिक समाजकै अगुवा भनिएका मानिसहरुबाटै मासिने र नासिने खतरा बढेको छ । एक समय थियो नागरिक समाजको आग्रहमा समाजका विभिन्न वर्ग र तहका मानिसहरु गोलवन्द हुन्थे तर अव छैन । अब नागरिक समाजले नागरिक हितका लागी मात्र समर्पित भएको देखाउन र प्रमाणित गराउन नसके नेपालमा नागरिक समाज थियो भनेर कथा सुनाउन वाहेक भविष्यका लागी केही बाँकी रहने छैन ।
नागरिक स्वयं पनि इमान्दार बन्नु पर्दछ र अरुलाइ इमान्दार बन्न दवाव सीर्जना गर्नुपर्दछ । समाजको उन्नति र प्रगतिका लागी निस्वार्थ नागरिकले मात्र अरुमाथि दवाव सीर्जना गर्न सक्दछन । अहिले हाम्रो समाज अधिकारको खोजीमा लागेको छ तर अधिकार प्राप्तिको लागी कर्तव्य र दायित्व पूरा गर्नुपर्छ भन्ने जवाफदेहिताको अभाव छ । नागरिक चेतना अभिबृद्धि हुनु सकारात्मक कुरा हो तर यो चेतना साधन र स्रोतको दोहनका लागी प्रयोग भयो भने दुःखद हुन पुग्दछ । विकास निर्माणका काम सञ्चालन गर्दा उपभोक्ता समितिमा बस्न तँछाड मछाड र एकै कामका लागी वहु उपभोक्ता समिति गठन हुनु यसैको उदाहरण हो । इमान्दार प्रयत्नका लागी नलाग्ने हो भने नागरिकलाइ समेत इतिहासले गलत ठहराउनेछ । राजनीतिक दलको गल्तीका लागी प्रायश्चित्त गर्ने माध्यम आवधिक निर्वाचन हुनसक्छ तर नागरिकको गल्तीका लागी के गर्ने । इतिहासले मूल्यांकन गर्ने भएपनि के गर्ने र सबै समाप्त भएपछि ।
सबै क्षेत्रका प्रतिनिधिमूलक संस्था क्रियाशील व्यक्ति तथा समूह र नागरिक सबैले गम्भीर भएर सोचौं मनन गरौं । कहाँ गल्ती भएको छ कसरी सुधार्नुपर्ने हो छलफल गरौं र बेलैमा सच्त बनौं । नातीकाजीको स्वरमा रहेको गीत नेपाली हामी रहुँला कहाँ नेपालै नरहे लाइ ह्रदयबाट मनन गरौं । जतिखेर मनन गर्छौ समय समाप्त भइसकेको नहोस् । <puru2023@gmail.com>