यसपालि निकै साथीहरुले भने–खोइ निर्वाचनका बारेमा त केही लेख्न नि । कतिलाई भनि दिएँ, लेखीसक्नु भा’पो लेख्नु । कतिसँग पन्सिएँ, आचारसंहिता लाग्छ नि त । अनि कसैसँग भाका राखें, बेला हुँदैछ नि त, आहानै छ फलाम तातेका बेला कुट्दा मात्रै आकार लिन्छ भन्ने । उस्तैलाई भनिदिएँ फल्नाको लेखले मेरो भोट बिगा¥यो भन्ने अवसर किन दिनु र । तर अरुलाई जे जस्ता ओठे जवाफ फर्काए पनि यहाँको निर्वाचनका बारेमा लेख्न अल्छी गरेकै हो ।
निर्वाचनका बारेमा लेख्ने के भनेर रु जनतामा ठूलो उत्साह छ भनौं त्यो सबैले देखे जानेकै छ । कार्यकर्ता पंक्तिमा असन्तुष्टि छ भनौं त्यो नौलो भएन । यसलाई भोट दिऔं भनौं भने त्यस्तो भोट दिउँ दिउँ लाग्ने उम्मेद्वार नै देखिँदैन । यो पार्टी वा ऊ पार्टी भनौं, सबै एकै ड्याङका मुला जस्ता लाग्छन् । अधिकांश उम्मेद्वार पार्टीका भन्दा पनि पार्टीको यो वा त्यो गुटका छन् । गुटको लाउकेले खल्तीबाट झिकेर टिकट थमाएको छ । अधिकतर जनमत एकातिर टिकट अर्कातिर ।
साना पार्टीमा उति चासो जाँदैन, त्यसैले त्यहाँ के छ थाहा भएन तर कांग्रेस र एमालेले टिकट दिएका भन्दा पनि नदिएका मानिस हेर्दा प्रश्न गर्न मन लाग्छ, ती पार्टीमा उम्मेद्वार बन्ने योग्यता के होला रु जसले पाए तिनको योग्यता पुगेरै पाए होलान् । त्यसैले तिनलाई अयोग्य भन्ने अधिकार हामीलाई कहाँबाट हुनु, उसै पनि त्यो उनीहरुको आन्तरिक मामिला हो । तर नपाउनेले के कमी भएर पाएनन् भन्ने जान्न पाउँदा चित्त बुझाउने बाटो हुन्थ्यो । तर यी त भए थितिका कुरा, हाम्रा पार्टीहरुबाट थितिको अपेक्षा राख्नु आपैmमा मुख्र्याइँ हो ।
कांग्रेसको कुरा गर्ने भए आउनुहोस् इलाम नगरपालिकामा । बिष्णु दहालको के योग्यता पुगेन र उनलाई टिकट दिइएन रु पार्टीमा योगदान छैन भनौं भने उनी महाधिवेशन प्रतिनिधि हुन् क्यार कति क्रियाशील सदस्यहरुले मत हालेर चुनेकी । निर्वाचनमा हेर्नुपर्ने अर्को पक्ष हो लोकप्रियता अर्थात् कति मत ल्याउन सक्छ भन्ने । इलाम नगरपालिकाको उप–प्रमुखमा बिष्णु दहाललाई टिकट दिएको भए उनको विजय निश्चित थियो भन्न सकिन्छ । त्यति मात्रै होइन उनका कारणले प्रमुखमा समेत सय–पचास मत थपिन सक्थ्यो । तर उनलाई मौका दिइएन । अब अर्को निर्वाचनसम्म पर्खने अवस्था समेत उनको छैन । बूढो शरीर, पाँच–पाँच बर्ष भनेको कम होइन । अर्को पटक टिकट दिए पनि सायद उनले भन्ने छिन्–‘होस् सक्दिन म त ।’ भन्नुस्, अब कांग्रेसमा लाग्ने किन रु गाउँफर्के शैली पो टिप्यो त कांग्रेसले । कि त्यसको अनुभव भएको कोही छ त्यहाँ रु
बिष्णु दहालले टिकट पाउनै पथ्र्यो भन्ने मुढाग्रह होइन तर सबै हिसावले उनले पाउनु पथ्र्यो । कम्तिमा २०४७ देखि उनी निरन्तर पार्टीमा क्रियाशील छन् । कामले, उमेरले, प्रतिष्पर्धात्मक क्षमता समेतले उनी टिकटको हकदार थिइन् तथापि उनलाई टिकट दिइएन । तर उनले टिकट नपाई विजय हासिल गरिन् । सबैका मुखमा छ, बिष्णु दहालमाथि अन्याय ग¥यो पार्टीले । र, यसको सम्भावना पनि प्रवल छ, उनलाई टिकट नदिने नाइकेहरु मतदाताबाट दण्डित हुँदैछन् ।
यो व्यथा कांग्रेसमा मात्रै होइन एमालेमा पनि देखिन्छ । सूर्योदय नगरपालिकामा काजीमान कागतेलाई टिकट दिएको भए उनले मनोनयन दर्ता गरेकै दिन विजयको माला लगाई दिन सकिन्थ्यो । तर कहाँ के पुगेन, उनले टिकट पाएनन् । टिकट दिनाको कुनै विशेष आधार छ र त्यो अनुसार कागतेको योग्यता पुग्दैन भने एमालेकै साथीहरु जानुन् अन्यथा उनलाई टिकट नदिँदा अन्याय हुने मात्रै होइन, निर्वाचन परिणाम एमालेको पक्षमा नपर्न समेत सक्छ । यो आप्mनो ब्रम्हले देखेको कुरा हो । कसैको सहमति कुर्नु पर्दैन आप्mनो कुरा भन्नलाई । लोकतन्त्रमा वाक स्वतन्त्रता प्रत्याभूत जो छ ।
अझ त्यहाँ त अर्को पनि हल्ला छ । एमालेको तर्पmबाट चित्रकला बराइलीलाई उपाध्यक्षको टिकट दिइयो । केही दिन उनी भोट मागेर पनि हिंडिन् । त्यसपछि एकाएक उनीबाट टिकट खोसियो र अरु कसैलाई दिइयो । भन्नुस्, अब बराइलीले के भनेर चित्त बुझाउने रु यो त मानिसको स्वाभिमानमाथिको खेलबाड भएन र रु पार्टीका आन्तरिक कुरा अन्यथा हुन सक्लान् तर उम्मेद्वार तय गर्दा ती सबै कुरामाथि पहिले नै बिचार गरिंदैन र रु यो त राजदूत छाने जस्तै भयो नि १ योभन्दा भद्दा ठट्टा अरु के हुन सक्छ रु
उता माई नगरपालिकामा पनि त्यस्तै हल्ला सुनियो । एमालेको तर्पmबाट दिपक थेवेले टिकट पाए । दुई÷तीन दिनपछि त्यो टिकट ध्रुव श्रेष्ठकहाँ पुग्यो । पार्टीभित्र निकै रस्साकस्सी भयो र पुनः टिकट थेवेकै पक्षमा गयो । यस्ता कुराले के देखाउँछ भने पार्टीमा कुनै पद्धति छैन । कुनै नीति छैन । छ त गुट र कुन् गुटको हात माथिबाट पर्छ त्यस पक्षका हनुमानले टिकट पाउँछन् । यो त कुरा निर्वाचनमा टिकट पाउने मात्रै भयो, अन्य समयका अवसरका त कुरै गर्नु परेन ।
आपूmले पनि केही समय त्यहीं रहेर काम गरेकाले मलाई कांग्रेसका बारेमा अलिक बढी थाहा छ । बिपीले भन्नु हुन्थ्यो, प्रजातन्त्र पुनस्र्थापना भएपछि पार्टीमाथि सुकिला–मुकिला हावी हुनेछन् । दुःख पाएका, त्याग गरेका इमान्दार कार्यकर्ताहरु पाखा पारिने छन् । हो, तिनलाई कसरी संरक्षण दिने भन्ने दायित्व समेत ममाथि छ । खाली क्रान्ति गरेर काम सकिने भए, पञ्चायत फाल्दैमा समस्या सकिने भए त्यस्तो क्रान्ति म भोलि नै सम्पन्न गर्न सक्छु ।
मानिस किन कांग्रेसमा लागेका छन् भनेर मलाई कसैले सोध्यो भने मेरो उत्तर हुनेछ– त्यसमा आदर्श छ, त्यसमा इतिहास छ । होला कोही कुनै अवसर देखेर त्यो अवसरबाट फाइदा उठाउन पनि कांग्रेसमा पसेको होला । तर म उसको मनको कुरा त जान्न सक्दिन । त्यसैले मैले उसलाई आपैm जस्तो देख्नु पर्दछ । विभेद राख्न हुँदैन । उसको परीक्षा ऊ आपैmले लिन्छ । पास फेल पनि उसैको कुरा ।
यसै भन्ने गर्थें म कांग्रेसमा रहेका बखत । काग्रेसी संगठनमा पस्न सदस्यता लिनु पर्छ, खराब भए त्यहीं रोक्नु पर्छ, सदस्य बनाई सकेर विना कारण छेक्न पाइँदैन । मैले कांग्रेसमा त्यस बेला प्रवेश गरें जुन बेला त्यसो गर्नु ज्यान जोखिममा पार्नु हुन्थ्यो । तर त्यसको चिन्ता कहिल्यै भएन । पटक–पटक ज्यानलाई बाजीमा राखेर पार्टीको काममा अग्रसर भइयो । एक पटक जेलमा त म मृत्युको मुखमै पुगेर फिरेको हुँ । त्यस बेला मसँग कुनै चाहना थिएन । सोच्थें, एक दिन प्रजातन्त्र अवश्य आउँछ र त्यस दिन मलाई देशबासीले सम्झने छन् । सायद त्यसमा पो गलत भएँ कि भन्ने लाग्छ आजकल ।
जेलबाट छुटेर २०३६ सालमा गाउँ–गाउँमा गएर आमसभामा बोल्दा मानिस भन्थे रे, अब त यसले बोल्न बिसाए हुने नि १ बोल्दा–बोल्दै हुरुक्क भएर ढल्छ कि जस्तो देखिन्थें रे । धेरै कमजोर थिएँ । त्यसरी बोली सकेर बाहिर आउँदा सर्वत, चिया, दूध आदिका ग्लास लिएर अपरिचित मानिस सामने आउँथे । कसैले ल्वाङ दिंदै भन्थे, यो मुखमा च्याप, घाँटी रसाउँछ । बडो स्नेह पाएको छु मैले मानिसहरुबाट । त्यस्तो स्नेह अचेलकाले पाउँछन् पाउँदैनन् थाहा छैन । उसबखत त्यसरी स्नेह पाए पनि पछि–पछि हप्काई पनि खाएको छु । यस्तो निर्वाचन जब नजिकिन्छ म गाली खाने गर्छु । शुभचिन्तकहरु भन्छन्, खोइ गतिलो मानिस नै भएन पार्टीमा । तैंले अरुहरुलाई कांग्रेस बनाउँदै हिंडिस् र आपूm चाहिँ अलग भइस् । त्यस्तो गाली अलिअलि यसपालि पनि खाएँ मैले । ती सबलाई हाँसेर टारिदिन्छु म । धेरैलाई थाहा छैन म किन कांग्रेसमा छैन भनेर । मेरो क्रियाशील सदस्यता केबी गुरुङ्गले रोके भन्दा कतिलाई पत्यार नलाग्ला ।
हो, प्रजातन्त्रको पुनस्र्थापना भएपछि भराइएको क्रियाशील सदस्यताको मेरो आवेदन केबी गुरुङ्गले गायब गरे । तिथि–मिति थाहा भएन, एक बिहान बेनुप प्रसाईं, महाबीर अग्रवाल र मलाई बोलाएर क्रियाशील सदस्यताको आवेदन फाराम भर्न लगाइयो । पछि महाबीरजीको सदस्यता आयो, बेनुपजी र मेरो आएन । त्यसपछि मैले बिपीको कथन सम्भेंm–अब पार्टी सुकिला–मुकिलाको भएछ । त्यस बेलासम्म गाउँ फर्केका हाकिम केबीका भित्र्याहा भइसकेका थिए ।
म त्यहाँ बिद्रोह गर्न सक्थें तर मेरो मन यसरी विरक्तियो मैले दलीय राजनीतिबाट अलग रहने निर्णय गरें । मैले पार्टीमा रहेर प्रजातन्त्रको प्राप्तिका लागि गरेको कठोर संघर्षलाई सबैभन्दा नजिकबाट देख्ने र जान्नेमध्येमा केबी प्रमुख हुन् । उनले नै मेरो क्रियाशील सदस्यता रोके । मैले तत्काल गिरिजा दाइलाई सोधें, मेरो सदस्यता केन्द्रले रोकेको हो रु उनले भने, म त तिम्रो सदस्यता रोक्न सक्दिन भने अरु कसले रोक्छ रु यो कुरा सुन्दा केबीलाई आदर्श नेता मान्ने मानिसलाई आश्चर्य लाग्ला ।
सबै कुरा थाहा भएपछि गिरिजा दाइले काठमाडौं बोलाएर सम्झाए । तर मैले सदस्यता लिन मानिन । भनें, तपाईंले अराएको काम जीवनभर गर्छु तर म पार्टीको सदस्यता लिन्न । सुशील दाइलाई धर्मलाई सम्झाउनु भनेर लगाउनु भएछ, मैले उनको चित्त बुझाएँ । बडो इमान्दार र कोमल ह्दयका थिए सुशील कोइराला । तर अब त उनीहरुसँग सौहार्द सम्बन्ध थियो भन्न पनि मन लाग्दैन । उनीहरु मरेर गई गए, जे भने पनि त भयो नि भनेर कसैले टिप्पणी गर्न सक्छ ।
हो, कुरा थियो चुनावको । स्थानीय चुनाव भएकाले उम्मेद्वारको व्यक्तित्वले धेरै काम गर्दछ । निकै मानिसले पार्टीभन्दा पनि व्यक्ति हेर्दछन् । एउटा खराब मानिस पार्टीको अग्रपंक्तिमा पुगेको हुन सक्छ, पार्टी नेताका रुपमा उसलाई माने पनि मानिसले आप्mनो प्रतिनिधिका रुपमा उसलाई मान्न नरुचाउन सक्छन् । बरु अर्को पार्टीको सज्जन उम्मेद्वारका पक्षमा लाग्छन् खुसुक्क ।
कांग्रेसले निकै ठाउँमा सही मानिसलाई उम्मेद्वार बनाउन सकेको छैन, यो कुरा सुनेर तिनीहरुलाई रिस उठ्ला । तर निर्वाचन परिणाम पर्खन म तिनलाई आग्रह गर्छु । स्वाभाविक रुपमा यहाँको परिणाम कांग्रेसको पक्षमा उति राम्रो हुने देखिंदैन । यो मेरो निजी मूल्याङ्कन हो । चुनावको मुखमा यसो भन्नु हुन्थ्यो या हुँदैन थियो भन्ने कुरा उठ्न सक्ला तर आफ्नो ब्रम्हले देखेको कुरा भन्न किन हिचकिचाउने रु मतदाता यति सचेत छन् मेरो कुरा गलत रहेछ भने गलत सावित गरिदिने छन् । मैले सच्चिने अवसर पाउने छु ।
इलामको कांग्रेसमा नेतृत्वको अभाव छ । नेतामा हुनुपर्ने गुणमध्ये प्रमुख हो कार्यकर्ताप्रति समभाव । नेता त कार्यकर्ताको अभिभावक हो । उसले नै कार्यकर्तालाई काखा र पाखा ग¥यो भने कार्यकर्ताको संरक्षण कसले गर्छ रु आज कांग्रेस त्याग्नेको लहर छ नगरमा । भोला खवास जस्तो मानिसले किन छाडे कांग्रेस रु भोलाको योगदान थाहा छ अहिलेका लाउकेलाई रु
भन्दै थिएँ नेतृत्वको गुण भएको नेता इलाम कांग्रेसले पाउन सकेन । केबी गुरुङ्गको कुरा मैले गरिहालें । नेतृत्वको गुण भएको एक व्यक्ति थिए बेनुप प्रसाईं तर उनी पनि प्रभावशाली देखिएनन् पछिल्लो समयमा । उनको काठमाडौं बसाइका कारण जिल्लाका कार्यकर्तासँगको सम्पर्कले निरन्तरता पाउन सकेन सायद । इलाम कांग्रेसमा बेनुपबिरोधी मोर्चाले पनि पिरल्यो । जिल्लाको राजनीति बुभ्mनेले त्यसलाई बुझेको छ ।
भएका नेता न अध्ययनशील भए न अनुकरणीय । अध्यनशीलता भएन भने मानिसलाई समयले उछिन्छ । जिल्लाध्यक्षले नै सार्वजनिक रुपमा म कुनै बुद्धिजीवि होइन भनेर बोलेको सुनेको छु । बुद्धिजीवि भनेको धेरै पढेको, धेरै प्राज्ञिक प्रमाण–पत्र भएको मानिस भनिएको होइन । बुद्धिजीवि भनेको विवेकशील भनेको हो । मानिसमा विवेक छ भने उसले गल्ती गरेर पनि सच्याउँछ । कसैमाथि अन्याय भयो भने ऊ झस्किन्छ । विवेक छैन भने त मानिस होइन पशु होइन्छ ।
म यहाँ बिष्णु दहालकै उदाहरण दिन्छु । म उनीसँग एक दशकदेखि नजिकमा रहेर काम गरिरहेको छु बृद्धाश्रम व्यवस्थापनका सन्दर्भमा । उनका आप्mना कमजोरी छन्, त्यो अनौठो होइन, मानिसमै हो कमजोरी हुने । तर उनी इमान्दार छन् । इमान्दार भौतिक र आध्यात्मिक दुबै रुपमा । अर्काको पैसामा उनमा लालच छैन, त्यस्तै बुझेको छु मैले । उनी अलिक हठी छन् तर यथोचित तर्क गरेर उनको विचार परिवर्तन गर्न सकिन्छ, उनी मूढ पूर्वाग्रही छैनन् । पूर्वाग्रहरहित हुनु आध्यात्मिक गुण हो । ‘म जान्दिन’ भन्न सक्नु लर्तरो कुरा होइन ।
बिष्णु दहालले इलाम नगरको उपप्रमुखको लागि पार्टीबाट टिकटको अपेक्षा गरेकी थिइन् । उनलाई टिकट दिइने सम्भावना मैले देखेको थिइन । त्यसैले भेटमा म भन्थें, तपाईंलाई दिंदैनन् है दिदी, कतै छ सोर्स लगाउने भने लगाउनुस् । मैले बुझे अनुसार केन्द्रले आपूmलाई न्याय गर्छ भन्ने उनको विश्वास थियो । तर त्यस्तो न्याय भएन । अहिले पनि दिदी प्रचार–प्रसारमा कुदिरहेकी छन् । भन्छिन्–भाइ, जे भए पनि पार्टी त हार्नु भएन नि । १ हो, कांग्रेस यस्तै मानिसका बलमा टिकेको पार्टी हो । तर अब त्यस्ता मानिस कति होलान् , तर बिष्णु दिदीले जति नै बल गरे पनि उनको पार्टीले यसपालि उत्तम नतिजा ल्याउने लक्षण म देख्दिन । केही नेताको राजनीतिक जीवन समाप्त हुन्छ होला । यो कुरा पढ्दा दिदीलाई दुःख लाग्ला तर हुने यही हो । त्यसपछि इलामको कांग्रेसमा नयाँ नेतृत्व आउँछ । त्यसले संगठनलाई नयाँ जीवन दिन्छ । अर्को स्थानीय निर्वाचनसम्ममा कांग्रेस अर्कै रुपमा प्रतिस्थापित भएको हुनेछ । आखिर सामाजिक रुपान्तरण गर्ने दायित्व त कांग्रेसकै हो ।
बिपी भन्नु हुन्थ्यो, नेपाल भनेको गाउँ हो । कांग्रेस पनि गाउँकै गतिला छन् । उनीहरु प्रतिष्पर्धाबाट खारिएका छन् । उनीहरु कमजोर भए विपक्षीको पेलाइमा पर्नुपर्छ । त्यसैले उनीहरु संगठित रहन्छन् आफ्नै सुरक्षाका लागि भए पनि । त्यसैले कांग्रेसको नेतृत्व गाउँमा जन्मिनु पर्छ । अब सदरमुकाममा ठूला घर र धेरै सम्पति भएका भरमा नेता हुने दिन गए । अब नेता गाउँमा जन्मिन्छन्, स्थानीय तहमा खारिएर अगाडि आउँछन् । गाउँका कार्यकर्ताले सदरमुकामका गुणवत्ताहीन नेताको पिछा लाग्न छाडेपछि मात्रै कांग्रेस सप्रन्छ । स्थानीय तहको गठनले संरचनागत रुपमा त्यो अवसर मिलेको छ गाउँका नेता कार्यकर्तालाई ।
कांग्रेसको कोर्स केन्द्रबाटै दिग्भ्रमित भएको छ । उसले माओवादी केन्द्रसँग साँठगाँठ गरेर ठूलो गल्ती गरेको छ । सत्तामा बसेर त्यसलाई राम्ररी सञ्चालन गर्न नसके पनि प्रजातन्त्रको पक्षमा लड्ने ठूलो शक्तिका रुपमा मानिसले लिन्छन् कांग्रेसलाई । यसपालि उसले साँठगाँठ गरेर जिताएको माओवादी केन्द्रले ‘जनसत्ता’ का निर्णयलाई वैधानिकता दिन थालेको कसरत देखेर मानिस झस्किएका छन् । जनसत्ता र लोकतन्त्र सँगसँगै जान सक्दैन । यस बारेमा कांग्रेसीजन सचेत हुनै पर्दछ । आफ्नो निहीत स्वार्थका लागि नेताहरुले गरेका सबै निर्णयलाई शिरोधार्य गर्नु लोकतान्त्रिक अभ्यास होइन ।
इलाम नगरको प्रमुख, उपप्रमुख र साविक नगरभित्र बनेका केही वडाहरुमा अध्यक्षको उम्मेद्वार चयन उपयुक्त भएको भए यसपालि यो नगरको नेतृत्व कांग्रेसको हातमा जाने थियो तर उम्मेद्वारका अनुहारकै कारण त्यो सम्भव रहेन । परिणामले अन्यथा देखाएछ भने म भनौंला मेरो बुझाइ गलत भएछ । तर मलाई लाग्छ मैले त्यसो गर्नुपर्ने छैन । कांग्रेसको युवा पुस्ताले यसलाई मनन गरोस्, शुभकामना । इलाम पाेष्टमा छापिएकाे ।