इलाम : इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित चार दिने निःशुल्क आँखा परीक्षण शिविरमा ११८ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७३ औं जन्मोत्सवको अवसरमा धार्मिक संस्था किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिको आयोजनामा गत कात्तिक ३० गतेदेखि शुक्रबारसम्म सञ्चालित शिविरमा एक हजार २५० जनाको आँखाको परीक्षण गरिएको थियो ।
जसमध्ये मोतिबिन्दुको समस्या देखिएका ११८ जना बिरामीको निस्शुल्क शल्यक्रिया गरिएको आयोजक अङ्सीमाङगेन्ना सेवा समिति अध्यक्ष केहरसिं योङहाङले जानकारी दिए । शिविर दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरणमा कात्तिक ३० गते माङसेबुङ गाउँपालिकाको कार्यालयमा र मङ्सिर २ गते माङसेबुङ गाउँपालिका-५ स्थित भालुटारमा आँखा परीक्षण शिविर सञ्चालन गरी मोतिबिन्दुको समस्या पहिचान गरिएको थियो ।
दोस्रो चरणमा मङ्सिर २ र ४ गते भालुटारमा नै ११८ जनाको शल्यक्रिया गरिएको अध्यक्ष योङहाङले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गरेकामध्ये ४६ जना छिमेकी माई नगरपालिकाका नागरिक हुन् । उक्त शल्यक्रिया विश्वविख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा गरिएको थियो । उनको नेतृत्वमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका अन्य ३ जना चिकित्सकको टोलीले आँखा जाँच गर्नुका साथै मोतिबिन्दुको शल्यक्रिया गरेका थिए ।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोग र माङसेबुङ गाउँपालिकाको सहयोगमा माङसेबुङमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा मोतिबिन्दु शल्यक्रियाका लागि नागरिकको घरबाट भालुटारसम्म लैजाने र शल्यक्रियापश्चात पुनःघर पुर्याउन माङसेबुङ गाउँपालिकाले गाडीको व्यवस्था गरेको थियो । यस्तै मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरुका लागि खाना र बस्नको व्यवस्था आयोजक संस्थाले गरेको थियो ।
मोतिबिन्दुको असर झेलिरहेको बिरामीहरु गाउँमा नै शिविरमार्फत शल्यक्रिया गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । विगत ६ वर्षदेखि मोतिबिन्दुका कारण आँखाले राम्रोसँग देख्न नसकिरहेकी माङसेबुङ गाउँपालिका-५ की ८५ वर्षीय टिकरानी आङदेम्बे शल्यक्रियापछि राम्रोसँग देख्न सक्ने भएकी छिन् ।
‘आँखाले मधुरो मात्र देख्न थालेको ६ वर्ष भइसकेको थियो, सहरमा राम्रो अस्पतालमा उपचार गराउन पाएकी थिएन’, आङदेम्बेले भनिन्, ‘बुढेसकालमा फेरि आँखा खुल्ला जस्तो लागेको थिएन । तर, गाउँमै आएको निस्शुल्क शिविरमा उपचार गरेपछि अहिले राम्रोसँग देख्न सक्ने भएको छु ।’ सहर पुगेर शल्यक्रिया गर्ने खर्च र व्यवस्थापन गर्न नसकेको अवस्थामा माङसेबुङमा आयोजित शिविरले उनले घरमै उपचार गर्ने अवसर पाएकी हुन् ।
माङसेबुङ गाउँपालिका-५ कै ६८ वर्षीय दुर्गा साङपाङले मोतिबिन्दुको शल्यक्रिया गर्नकै लागि ठूला अस्पताल जान र शुल्क समेत तिर्नु नपरेको भन्दै खुशी व्यक्त गरे । ‘डा। सन्दुक रुइतको उपस्थितिमा गाउँमै आँखाको निस्शुल्क उपचार गराउन पाउनु नै मेरा लागि सौभाग्य हो’, उनले भने, ‘यसबाट म जस्ता धेरै बिरामीहरुको समय र खर्च दुवै बचेको छ ।’
मोतिबिन्दुको शल्यक्रिया गरेका माङसेबुङ गाउँपालिका-१ का राजन थापाले ग्रामीण स्तरमा नै शिविर आयोजना गरेर मोतिबिन्दुको उपचार गराउनकै लागि टाढाको सेवा लिनुपर्ने बाध्यता हटाउन र आर्थिक व्ययभार कम गर्न सहयोग मिलेको बताए । मोतिबिन्दुका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका बिरामीलाई राहत पुर्याएको आयोजक किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समिति अध्यक्ष योङहाङले बताए ।
‘धर्मगुरुको जन्मोत्सवमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । त्यसध्ये निस्शुल्क शल्यक्रियासहितको आँखा शिविर एउटा कार्यक्रम थियो । यो शिविरबाट आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका बिरामीलाई राहत पुर्याएको छ’, अध्यक्ष योङहाङले भने, ‘ निःशुल्क शल्यक्रियाबाट नागरिकले पुन : दृष्टि प्राप्त गर्ने अवसर पाएका छन् ।’ धर्मगुरु लिङदेनको पहलमा माङसेबुङमा डा। रुइतको नेतृत्वमा शिविर सञ्चालन गरिएको थियो ।
माङसबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आफ्नो पालिकामा पहिलोपटक निःशुल्क शल्यक्रियासहितको शिविर आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरे । धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा माङसेबुङमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जन्मोत्सवको अवसरमा मङ्सिर ९ गतेदेखि १९ औ संस्करणको आत्मानन्द गोल्डकपसँगै विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । धर्मगुरुको जन्मोत्सव मङ्सिर १८ गते बर्सेनि माङसेबुङ गाउँपालिकाले स्थानीय सार्वजनिक विदा समेत दिँदै आएको छ ।