फिक्कल। नेपालीहरूको महान् पर्व बडादशैँको अघिल्लो दिन इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा चहलपहल बढेको छ। दशैँका लागि आवश्यक सामग्री खरिद गर्न स्थानीय तथा आसपासका क्षेत्रबाट सर्वसाधारण बजारमा आउने र बाहिरी जिल्लाबाट घर फर्किनेहरुको संख्या बढेसँगै फिक्कल बजारमा भीडभाड बढेको हो।
दशैँलाई लक्षित गर्दै बजारमा नयाँ कपडा, जुत्ताचप्पल, खाद्यान्न, फलफूल, मासुजन्य पदार्थ, मिठाई तथा दैनिक उपभोग्य सामग्रीको कारोबार बढेको व्यवसायी हरि तामाङले बताए । विशेषगरी गाउँ तथा ग्रामीण क्षेत्रबाट किनमेलका लागि फिक्कल आउनेको संख्या बढेपछि बजारका पसलहरूमा ग्राहकको चाप देखिन थालेको छ।
दशैँका लागि घर फर्किने क्रमसमेत सुरु भएकाले फिक्कल बजार र आसपासका सडकमा सवारीसाधनको आवागमन बढेको छ। लामो समयदेखि रोजगारी तथा अध्ययनका लागि बाहिर रहेका परिवारका सदस्यहरू घर फर्किन थालेसँगै बजारमा उत्साह थपिएको छ।
व्यवसायीहरूका अनुसार दशैँ नजिकिँदै जाँदा कारोबार अझ बढ्ने अपेक्षा गरिएको छ। ग्राहकको मागअनुसार विभिन्न सामग्रीको तयार गरिएको उनीहरूले बताएका छन्।
यता, दशैँको समयमा बजारमा हुने भीडभाडलाई व्यवस्थित गर्न स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायले बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र उपभोक्ता हित संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन्। फिक्कल बजारमा सडक कालोपत्रेको काम शुरु भएको यातायातका साधान संचालन भएकाले अत्याधिक धुलोका कारण समस्या रहेको छ । दशैँको आगमनसँगै फिक्कल बजारमा देखिएको बढ्दो चहलपहलले पर्वको उमङ्गसँगै स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको छ।
थप तस्बिरहरु :
