इलाम । कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका ६१ वटा आयोजनालाई बहुवर्षीय ठेक्का प्रक्रियामा लैजान स्रोत सहमति प्रदान गरेको छ।
कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय, बजेट तथा कार्यक्रम शाखाले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाउँदै बहुवर्षीय आयोजनाका लागि स्रोत सहमति प्रदान गरेको हो।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३र०८४ मा प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट भएका एक वर्षभन्दा बढी अवधिमा कार्यान्वयन गर्नुपर्ने आयोजनालाई बहुवर्षीय ठेक्का प्रक्रियामा लैजान स्रोत सहमति प्रदान गरिएको हो।
मन्त्रालयले ‘बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड, २०८३’ को दफा ३ बमोजिम आयोजना सूची तथा सम्बन्धित कागजातका आधारमा स्रोत सहमतिको प्रक्रिया अघि बढाएको जनाएको छ। प्रदेश योजना आयोगको मिति २०८३ जेठ ३१ को पत्रसमेतका आधारमा बहुवर्षीय ठेक्का सहमतिका लागि आवश्यक प्रक्रिया पूरा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार स्रोत उपलब्धता, आयोजनाको आवश्यकता तथा औचित्यसमेतका आधारमा बहुवर्षीय ठेक्का सहमति प्रदान गरिएको हो। बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड, २०८३ को दफा ४ को १० बमोजिम भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका ६१ वटा आयोजनाका लागि ४ अर्ब १५ करोड ८० लाख १६ हजार बराबरको स्रोत सहमति प्रदान गरिएको पत्रमा उल्लेख छ।
बहुवर्षीय ठेक्का सहमतिका लागि सम्बन्धित आयोजनाको चालु आर्थिक वर्षको विनियोजित बजेट तथा स्रोत सहमति प्रदान गरिएको रकमलाई आधार बनाइएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले मिति २०८३ अशोज २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त स्रोत सहमति प्रदान गरिएको कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बुले बताइन् ।
इलामका पाँच सडक आयोजनाका लागि बहुवर्षीय ठेक्का सहमति
कोशी प्रदेश सरकारले इलाम जिल्लाका पाँच वटा सडक आयोजनालाई बहुवर्षीय ठेक्का प्रक्रियामा लैजान स्रोत सहमति प्रदान गरेको हो । बहुवर्षीय ठेक्का सहमति पाउने आयोजनाहरूमा देउमाई नगरपालिकाअन्तर्गतको नेपालटार–मंगलवारे सडक दोस्रा प्याकेज रहेको छ। उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरिएको छ भने बहुवर्षीय ठेक्काका लागि १० करोड स्रोत सहमति प्रदान गरिएको कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बुले बताइन् ।
त्यस्तै हर्कटे–रम्याङ–सलकपुर–निन्दा सडक, माङसेबुङ गाउँपालिका रोड दोस्रो प्याकेजका लागि चालु आर्थिक वर्षमा १ करोड विनियोजन गरिएको र १० करोड स्रोत सहमति प्रदान गरिएको छ।
रङ्सुङचोक–गोरख बजार–मानेडाँडा–माईजोगमाई गाउँपालिका जोड्ने सडक, सूर्योदय नगरपालिका–३ दोस्रो प्याकेजका लागि १ करोड २० लाख विनियोजन तथा १२ करोड स्रोत सहमति प्रदान गरिएको हो ।
यसैगरी इलाम बजार–सन्दकपुर पर्यटकीय सडक तेस्रो प्याकेजका लागि चालु आर्थिक वर्षमा १ करोड ४० लाख बजेट विनियोजन गरिएको छ भने बहुवर्षीय ठेक्काका लागि १४ करोड स्रोत सहमति दिइएको हो । त्यस्तै फाकफोकथुम दोभान–आङचेर–फुएतप्पा–आमचोक सडक, फाकफोकथुम, इलाम आयोजनाका लागि १ करोड बजेट विनियोजन गरिएको छ भने ९ करोड स्रोत सहमति प्रदान गरिएको छ। यससँगै इलामका यी सडक आयोजनाहरूलाई बहुवर्षीय ठेक्का प्रक्रियामार्फत अघि बढाउन बाटो खुलेको छ।