Local Sandesh सोमबार, असोज २६ २०८३
  • ट्रेण्डिङ :

कहाँ कस्तो छ राजमार्गको अवस्था ?

कहाँ कस्तो छ राजमार्गको अवस्था ?

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २६ २०८३


कहाँ कस्तो छ राजमार्गको अवस्था ?
  • बाढी र पहिरोका कारण गण्डकी प्रदेशका गोरखा जिल्लाको सडक पूर्ण रूपमा बन्द भएको छ।
  • गण्डकी प्रदेशका म्याग्दी, नवलपरासी (पूर्व) र मनाङका सडक एकतर्फी सञ्चालनमा छन्।
  • बागमती प्रदेशअन्तर्गत धादिङको त्रिभुवन राजपथ पहिरोले प्रभावित भई हाल एकतर्फी सञ्चालनमा छ।

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न पाँच जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै राजमार्गको अवस्थाबारे जानकारी दिएको हो। प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशको एक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ भने अन्य चार जिल्लाका सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्।

प्रहरी तथ्यांकअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको सडक पूर्ण रूपमा बन्द छ। असोज २५ गते बिहान ५:३० बजे आएको बाढीले आरुघाट गाउँपालिकाका वडा नम्बर २ र ३ तथा वडा नम्बर ९ स्थित नयाँपुल क्षेत्रमा क्षति पुर्‍याएको हो। ‘सोतीमा रहेको फलामे पुल’, प्रहरीको विवरणमा उल्लेख छ, ‘र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरोध छ।’

गण्डकी प्रदेशकै अन्य तीन जिल्लामा भने सडक एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा असोज १० गते बिहान ५:५० बजे खसेको पहिरोका कारण प्रभावित बेनी-जोमसोम सडकखण्ड हाल एकतर्फी सुचारु छ। त्यस्तै, नवलपरासी ९पूर्व० को बौदीकाली गाउँपालिका-३ जन्ती पहिरोमा खसेको पहिरोले कालीगण्डकी करिडोर प्रभावित बनाएको छ।

असोज १४ गते बेलुका ४:४५ बजेदेखि प्रभावित उक्त सडक एकतर्फी रूपमा चलेको छ। ‘उक्त सडक एकतर्फी सुचारु भए पनि’, प्रहरीले प्रस्ट पारेको छ, ‘त्यहाँबाट ठुला गाडी जान सक्दैनन्।’ यता मनाङमा असोज ८ गते दिउँसो ४ बजेको बाढीले बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडक प्रभावित बनाएको थियो। यो सडकखण्ड पनि अहिले एकतर्फी रूपमा मात्र सुचारु छ।

उता बागमती प्रदेशअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका-९ खत्रीपौवामा पहिरो जाँदा त्रिभुवन राजपथ प्रभावित भएको छ। असोज २१ गते राति ९:५० बजे खसेको पहिरोका कारण बन्द भएको उक्त राजमार्ग हाल एकतर्फी रूपमा सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार