कन्याम : इलामको सूर्योदय नगरपालिका–८ कन्यामका गायक सन्तोष शिवाको नयाँ गीत ‘हुरहुरेको चिसो हावाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कन्यामस्थित विश्व होटलमा आयोजित एक कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
सूर्योदय नगरपालिका–७ का वडाध्यक्ष एलबी चाम्लिङ राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वनगर उपप्रमुख दुर्गादेवी भट्टराईसहित कलाकार पुजन प्रधान, भुपेन्द्र राई, लेखु मुखिया, कमल अर्याललगायतको उपस्थिति थियो। कार्यक्रममा श्री निधि हस्पिटलका सञ्चालक विवेक अधिकारी तथा फिक्कल युनाइटेड क्लबका सदस्यहरूको समेत सहभागिता रहेको थियो।
संगीत क्षेत्रमा केही समयको मौनतापछि गायक शिवाले पुनः नयाँ गीतमार्फत आफूलाई प्रस्तुत गरेका हुन्। हालै रेकर्ड गरिएको ‘हुरहुरेको चिसो हावाले कान्छी’ गीतमा शिवाकै शब्द र संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा विक्रम सुन्दास र विद्या शिवाले अभिनय गरेका छन्। यसअघि केही वर्ष अगाडि ‘अटो रिक्सामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेर दर्शक तथा स्रोताको माया पाएका शिवाले नयाँ गीतलाई आफ्नो संगीत यात्राको दोस्रो चरणका रूपमा लिएका छन्।
एचकेआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको म्युजिक भिडियोको निर्देशन तथा छायांकन हिकस राईले गरेका हुन् भने सम्पादन एचकेआर प्रोडक्सन हाउसले गरेको छ। भिडियोको सम्पूर्ण छायांकन पर्यटकीय क्षेत्र कन्याममै गरिएको निर्माण पक्षले जनाएको छ। व्यावसायिक जीवनसँगै संगीत कर्मलाई पनि निरन्तरता दिँदै आएका गायक शिवाले नयाँ गीत तथा भिडियोले यसपटक पनि दर्शक–स्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।
कन्यामको प्राकृतिक सौन्दर्यलाई भिडियोमा समेटिएकाले गीतसँगै भिडियो पनि दर्शकका लागि आकर्षण बन्ने उनको अपेक्षा छ।