इलाम : जिल्लाको फुटबल विकाससँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका इलामका खेलकुदकर्मीहरू नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका छन्। खेलकुद संगठनको नेतृत्व र युवामाझ सक्रिय रहेका उनीहरूको उम्मेदवारीले कांग्रेसको महाधिवेशनमा खेलकुद क्षेत्रको सहभागितालाई समेत चर्चामा ल्याएको छ।
इलाम नगरपालिका–५ बरबोटे, बिब्ल्याँटेका पूर्णबहादुर लिम्बू ‘फत्र माइला’ले इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोशी प्रदेश फुटबल संघका उपमहासचिव तथा जिल्ला फुटबल संघ इलामका उपाध्यक्ष रहेका लिम्बू लामो समयदेखि फुटबल, सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय छन्।
खेलकुद क्षेत्रमै लामो समय नेतृत्व गरेका निरोज खड्गी इलाम क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि (खुला) पदका उम्मेदवार बनेका छन्। खड्गीले २०६६ सालमा जिल्ला फुटबल संघ इलामको महासचिव तथा २०७० सालमा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। २०७४ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा इलामबाट निर्वाचित भएका खड्गी २०७९ सालको एन्फा केन्द्रीय सदस्य निर्वाचनमा भने पराजित भएका थिए।
इलाममा फुटबललाई संस्थागत स्वरूप दिन महत्वपूर्ण भूमिका खेलेका राजकुमार भक्तराज लावट कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार बनेका छन्। लावट जिल्ला फुटबल संघ इलाम का संस्थापक अध्यक्ष हुन्। इलाममा छरिएर रहेको फुटबलको क्रेजलाई एकीकृत गर्दै संस्थागत संरचनामा लैजाने प्रारम्भिक नेतृत्व लावटले गरेका थिए।
उनको नेतृत्व र मार्गदर्शनमा जिल्लामा फुटबल संस्कृतिको विकाससँगै खेलाडी उत्पादन तथा प्रशिक्षणको आधार तयार भएको बताइन्छ। लावटको नेतृत्वकालदेखि इलामले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका खेलाडी उत्पादन गर्न थालेको थियो
फुटबल र युवा राजनीतिसँग जोडिएका बिमलकाजी खम्बु पनि १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार बनेका छन्। ३५ वर्षमुनिको जेन्जी पुस्ताको प्रतिनिधित्व गर्दै खम्बु महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेका हुन्। युवापुस्ताको सहभागिता र प्रतिनिधित्वलाई आफ्नो उम्मेदवारीको महत्वपूर्ण आधार बनाएका खम्बु विद्यार्थी राजनीतिदेखि नै संगठनमा सक्रिय रहँदै आएका छन्।
खम्बुले २०६४ सालमा पञ्च माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको सहसचिव तथा २०६७ सालमा भानुभक्त माध्यमिक विद्यालयमा नेविसंघ सदस्यका रूपमा काम गरेका थिए। त्यसपछि उनी तरुण दल देउमाई नगरपालिकाको अध्यक्ष बने। कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश प्रतिनिधिसमेत बनेका खम्बु हाल जिल्ला फुटबल संघ इलामका महासचिव छन्।
खम्बुको नेतृत्वमा देउमाई नगरपालिकामा पछिल्ला तीन वर्षदेखि निरन्तर ‘तरुण कप’ फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ। खेलकुदमार्फत युवालाई संगठन, सामाजिक गतिविधि र सिर्जनात्मक कार्यसँग जोड्ने प्रयास गर्दै आएका खम्बुले फुटबल क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा फुटबल क्षेत्रबाट सक्रिय रहेका तीन व्यक्तिको उम्मेदवारीले इलाममा खेलकुद र राजनीतिबीचको सम्बन्धलाई थप चर्चामा ल्याएको छ।
खेलकुद क्षेत्रमा लामो समयदेखि युवासँग प्रत्यक्ष सम्पर्कमा रहेका यी उम्मेदवारहरूले संगठनमा आफ्नो अनुभव उपयोग गर्ने बताएका छन्।