Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दोश्रो पटक पर्यटन मन्त्रालय सम्हालेकी लङ्वाको राजनीतिक यात्रा

दोश्रो पटक पर्यटन मन्त्रालय सम्हालेकी लङ्वाको राजनीतिक यात्रा

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १ २०८३


दोश्रो पटक पर्यटन मन्त्रालय सम्हालेकी लङ्वाको राजनीतिक यात्रा

इलामको सूर्योदय नगरपालिका–३ रुङसुङ निवासी खिनु लङ्वा कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्री बनेकी छन् । उनले नेकपाको तर्फबाट सरकारमा नेतृत्व समेत गर्नेछिन् ।  इलाम–१(क) बाट प्रदेशसभा सदस्यका रूपमा दुई पटक निर्वाचित भइसकेकी लङ्वाका लागि मन्त्रीको जिम्मेवारी नयाँ अनुभव भने होइन । यसअघि पनि उनले कोशी प्रदेश सरकारमा पर्यटन तथा संस्कृति मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् ।लामो समय नेकपा (एमाले) को संगठनमा सक्रिय रहेकी लङ्वाको राजनीतिक यात्रा भुइँतहका कार्यकर्तासँगको सम्बन्ध र स्थानीय मुद्दासँग जोडिएको देखिन्छ ।

एमालेको इलाम जिल्ला संगठन तथा अखिल नेपाल महिला संघमा सक्रिय रहँदा उनले विशेषगरी महिला, जनजाति र स्थानीय समुदायका सवाललाई राजनीतिक बहसमा उठाउँदै आएकी थिइन् । एमालेभित्रको आन्तरिक विवाद र पार्टी विभाजनपछि भने उनको राजनीतिक यात्रा नयाँ मोडमा पुग्यो । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी)  रोजेकी लङ्वा अहिले नेकपा माओवादीसंग पार्टी एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य एवम इलाम इन्चार्ज छिन् ।
दुई पटक प्रदेशसभामा निर्वाचित
लङ्वाको राजनीतिक प्रभावको महत्वपूर्ण आधार उनको निर्वाचन यात्रा हो । २०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनमा उनी इलामबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइन्। त्यसपछि २०७९ को निर्वाचनमा पनि उनले आफ्नो जितलाई निरन्तरता दिइन् । २०७९ मा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नम्बर १ (क) मा उम्मेदवार बनेकी लङ्वाले आफ्नै पूर्वदल नेकपा (एमाले) की उम्मेदवार शोभा पराजुलीलाई १ हजार ९७६ मतान्तरले पराजित गरिन्। यसले लङ्वाको राजनीतिक आधार पार्टी परिवर्तनसँगै समाप्त नभएको देखिएको छ । निर्वाचन क्षेत्रमा कायम रहेको व्यक्तिगत राजनीतिक सम्बन्ध, संगठनात्मक सक्रियता र स्थानीय मुद्दासँगको उनको निरन्तर जोडले उनलाई पुनः प्रदेशसभामा पु¥यायो ।
पहिलोपटक मन्त्री बन्दा पर्यटन र संस्कृति प्राथमिकतामा
लङ्वाले यसअघि कोशी प्रदेश सरकारमा पर्यटन तथा संस्कृति मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन्। तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उनले मन्त्रीका रूपमा काम गरिन्। मन्त्रीका रूपमा उनको कार्यकालमा पूर्वी नेपालका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने विषयले प्राथमिकता पाएको थियो।

इलामको चिया पर्यटनदेखि किराँत सांस्कृतिक सम्पदासम्मका विषयलाई प्रदेशको पर्यटन विकाससँग जोडेर अघि बढाउने प्रयास उनको कार्यकालसँग जोडिन्छ । इलामजस्तो प्राकृतिक तथा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना बोकेको जिल्लाबाट प्रदेश राजनीतिमा प्रतिनिधित्व गर्ने भएकाले पर्यटन र संस्कृति मन्त्रालयको जिम्मेवारी उनका लागि राजनीतिक रूपमा पनि अर्थपूर्ण थियो।
सडकदेखि चियासम्मका मुद्दामा आवाज
प्रदेशसभामा लङ्वाको अर्को पहिचान भनेको स्थानीय विकासका मुद्दालाई निरन्तर उठाउने नेताका रूपमा हो। आफ्नो निर्वाचन क्षेत्रका सडक, पुलपुलेसा, कृषि, चिया किसान तथा स्थानीय पूर्वाधारका विषय उनले प्रदेशसभामा उठाउँदै आएकी छन्। इलामको अर्थतन्त्रमा चियाको ठूलो भूमिका भए पनि किसानले भोग्दै आएका समस्या, बजारको अस्थिरता, उत्पादन लागत र पूर्वाधारको अभावजस्ता विषय प्रदेश सरकारको नीतिसँग जोडिनुपर्ने उनको जोड रहँदै आएको छ। यससँगै ग्रामीण क्षेत्रका सडक र यातायात, पर्यटन पूर्वाधार तथा स्थानीय उत्पादनको बजारीकरण पनि उनका प्राथमिक मुद्दामध्ये पर्दै आएका छन्।
महिला र जनजाति नेतृत्वको प्रतिनिधित्व
कोशी प्रदेशको राजनीतिमा महिला तथा जनजाति समुदायबाट प्रभावशाली राजनीतिक नेतृत्व स्थापित गर्ने नेतृका रूपमा पनि लङ्वाको परिचय बनेको छ। नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गए पनि निर्णय तहमा महिलाको उपस्थिति अझै सीमित रहेको अवस्थामा लङ्वाको दुई पटकको प्रदेशसभा यात्रा र मन्त्रीको जिम्मेवारीले उनको राजनीतिक हैसियतलाई थप स्थापित गरेको छ।

उनको राजनीतिक यात्राको अर्को विशेषता भनेको संगठनात्मक राजनीति र संसदीय राजनीतिलाई समानान्तर रूपमा अघि बढाउनु हो। पार्टी संगठनमा लामो समय काम गरेकी उनले निर्वाचनमार्फत जनप्रतिनिधिको भूमिका निर्वाह गरिन् र त्यसपछि सरकारमा मन्त्रीका रूपमा कार्यकारी जिम्मेवारीसमेत सम्हालिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार