Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वर्षा ओलीको ह्याट्रिकमा इलाम सेमिफाइनलमा, धनकुटामाथि ५–० को फराकिलो जित

वर्षा ओलीको ह्याट्रिकमा इलाम सेमिफाइनलमा, धनकुटामाथि ५–० को फराकिलो जित

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १६ २०८३


वर्षा ओलीको ह्याट्रिकमा इलाम सेमिफाइनलमा, धनकुटामाथि ५–० को फराकिलो जित

इलाम । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा इलामको आत्मा पवित्र एफसी, मासेबुङ ले उत्कृष्ट प्रदर्शन गर्दै धनकुटा जिल्ला फुटबल संघलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ। एकतर्फी जितसँगै इलामले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

इटहरी रंगशालामा मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा इलामले सुरुआतदेखि नै खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। खेलको चौथो मिनेटमै वर्षा ओली ले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि १५औँ मिनेटमा कल्पना जिम्बा ले अर्को गोल थपेपछि इलामले पहिलो हाफमै बलियो पकड बनायो।

धनकुटामाथि लगातार दबाब बनाएको इलामका लागि वर्षा ओलीले २५औँ र ३७औँ मिनेटमा थप दुई गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरिन्। पहिलो हाफ सकिँदा इलाम ४–० को सहज अग्रतामा थियो। दोस्रो हाफमा पनि इलामको आक्रामक खेल रोकिएन। खेलको ६३औँ मिनेटमा विमला चौधरी ले पाँचौँ गोल गर्दै इलामको शानदार जित सुनिश्चित गरिन्।

धनकुटाले केही अवसर सिर्जना गरे पनि इलामको सुदृढ रक्षापंक्ति र गोलकिपरलाई चुनौती दिन सकेन। ह्याट्रिकसहित टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरेकी वर्षा ओली खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्। यसैबीच, अन्तिम क्वाटरफाइनलमा आयोजक इटहरी फुटबल क्लब ले गाईघाट फुटबल क्लब, उदयपुर लाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको छ।

घरेलु टोली इटहरीले सुरुदेखि नै खेलमा दबाब कायम राख्दै सहज जित निकालेको हो। अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा इलामको आत्मा पवित्र एफसी र आयोजक इटहरी फुटबल क्लब बीच बिहीबार प्रतिस्पर्धा हुनेछ। पहिलो सेमिफाइनलमा धरानको फेयर फुटबल क्लब र तेह्रथुमको सृजनशील महिला फुटबल क्लब आमनेसामने हुनेछन्।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार