Local Sandesh सोमबार, कार्तिक ३ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा शान्ति, सद्भाव र सुव्यवस्थापन समिति गठन

फाकफोकथुममा शान्ति, सद्भाव र सुव्यवस्थापन समिति गठन

  • सन्देश सम्बाददाता
  • सोमबार, कार्तिक ३ २०८३


फाकफोकथुममा शान्ति, सद्भाव र सुव्यवस्थापन समिति गठन

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा नेपालीहरूको महान् चाड विजया दशमीसहित विभिन्न मौलिक चाडपर्वलाई लक्षित गर्दै शान्ति, सुशासन तथा सुव्यवस्थापन समिति गठन गरिएको छ।

फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालको संयोजकत्वमा गठन गरिएको समितिको उपसंयोजकमा गाउँपालिका उपाध्यक्ष कल्पना राई रहेकी छन् । सामाजिक परम्परा, आपसी आत्मीयता, सद्भाव र शान्तिपूर्ण वातावरण कायम गर्दै सभ्य तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यले सर्वदलीय तथा सरोकारवाला प्रतिनिधिहरूको सहभागितामा समिति गठन गरिएको हो ।

समितिमा वडा नम्बर ७ का अध्यक्ष छत्र लिम्बू, वडा नम्बर ६ का अध्यक्ष टंकनाथ खनाल र वडा नम्बर ५ का अध्यक्ष सिद्धमान आले ‘सुदीप सहित कार्यपालिका सदस्यहरू कविता राई, देवीमाया लामिछाने पौडेल, छत्र बराइली, रिता दर्जी र डम्बरकुमारी बलम्पाकी सहभागी छन् ।

त्यस्तै, नेपाली कांग्रेसका प्रेम खड्का, नेकपा एमालेका कृष्णप्रसाद लुइँटेल, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द नेपाली, श्रम संस्कृति पार्टीका सनबहादुर लिम्बू, नेपाली कम्युनिस्ट पार्टीका टठबहादुर राई र लक्ष्मण घतानी लगायत विभिन्न राजनीतिक दल र धार्मिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

नेपाल प्रहरीतर्फबाट मंगलबारे प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राई, आमचोक प्रहरी चौकीका इन्चार्ज रामविलास सरदारलगायत प्रहरी कर्मचारीको समेत सहभागिता रहेको थियो।

बैठकले चाडपर्वका समयमा फाकफोकथुम गाउँपालिकाभित्रका बजार, चोक तथा गाउँघरमा सामाजिक सद्भाव, शान्ति र सुव्यवस्था कायम गर्न विभिन्न निर्णय गरेको छ। चाडपर्वका अवसरमा आपसी शुभकामना आदानप्रदान गर्दै सभ्य र मर्यादित व्यवहार प्रदर्शन गर्ने, अश्लील भाषा प्रयोग नगर्ने तथा अनावश्यक होहल्ला नगर्ने निर्णय गरिएको छ।

त्यसैगरी, मादक पदार्थ सेवन गरी झैझगडा नगर्ने, सार्वजनिक स्थानमा प्रहरी प्रशासनको अनुमति बिना कुनै गतिविधि सञ्चालन नगर्ने तथा कुनै व्यक्ति वा समूहबाट होहल्ला, अमर्यादित व्यवहार वा अशान्ति सिर्जना भएको पाइएमा तत्काल नजिकको प्रहरी प्रशासनलाई जानकारी गराउने निर्णय गरिएको छ।

बैठकले विभिन्न जातजाति तथा धर्मका मौलिक चाडपर्वमा एक–अर्कालाई निमन्त्रणा गरी आपसी आत्मीयता र सामाजिक सद्भाव अझ मजबुत बनाउन समेत आग्रह गरेको छ। धार्मिक तथा जातीय सहिष्णुता कायम राख्दै कुनै पनि धर्म, जात वा समुदायप्रति होच्याउने, खिसीट्युरी गर्ने तथा समाजमा द्वन्द्व सिर्जना हुने गतिविधि नगर्न सबैलाई आग्रह गरिएको छ। समितिले फाकफोकथुमलाई शान्त, सभ्य, सुरक्षित र सामाजिक सद्भावयुक्त गाउँपालिकाका रूपमा विकास गर्न स्थानीयवासी, राजनीतिक दल, धार्मिक संघसंस्था, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवालाको सहयोग र निर्णयको पालना आवश्यक रहेको जनाएको छ।

थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार