इलाम । चुलाचुली रङ्गमञ्च इलामको प्रस्तुतिमा तयार पारिएको ‘उता घाम यता छाँया..’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो चुलाचुली रङ्गमञ्च अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा कलाकार शिखा लिम्बु, सरोज रसाइली र लक्ष्मी दर्जीले अभिनय गरेका छन्। कवि **राजकुमार सुब्बा ‘अनिश्चित’**को शब्द, अशोक थापाको संगीत तथा अपेक्षा शेर्पाको स्वर रहेको गीतको म्युजिक भिडियोको निर्देशन रङ्गकर्मी तथा निर्देशक चेतन आङथुपोले गरेका छन्।
भिडियोको छायाङ्कन अनुप चौलागाईं र समिर चबेगुले गरेका हुन् भने दिपेस मगरले सम्पादन गरेका छन्। भिडियोको छायाङ्कन इलामको साधुहोली पर्यटन स्थल आसपासका क्षेत्रमा गरिएको निर्माण पक्षले जनाएको छ।
स्थानीय कला, संस्कृति र पर्यटन क्षेत्रलाई भिडियोमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरिएको जनाइएको छ। गीत तथा भिडियोले इलामको प्राकृतिक सौन्दर्यसँगै स्थानीय कलाकारको सिर्जनशीलतालाई समेत उजागर गरेको छ।