Local Sandesh शुक्रबार, मंसिर ५ २०८३
  • ट्रेण्डिङ :

इलाममा मेडिकल कलेज स्थापनाको तयारी, नगरपालिकाद्वारा आधारपत्र सार्वजनिक

इलाममा मेडिकल कलेज स्थापनाको तयारी, नगरपालिकाद्वारा आधारपत्र सार्वजनिक

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ५ २०८३


इलाममा मेडिकल कलेज स्थापनाको तयारी, नगरपालिकाद्वारा आधारपत्र सार्वजनिक

इलाम : इलाममा मेडिकल कलेज (स्वास्थ्य विज्ञान प्रतिष्ठान) स्थापना गर्ने विषयले पुनः गति लिएको छ । इलाम नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी प्रस्तावित मेडिकल कलेज स्थापनासम्बन्धी आधारपत्र सार्वजनिक गरेको छ । नेपाल सरकार र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीबीच गत कात्तिक २९ गते भएको सहमतिलाई आधार बनाउँदै नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि आवश्यक तयारी, जग्गा व्यवस्थापन, पूर्वाधार विकास र सेवा विस्तारका विषय सार्वजनिक गरेको हो ।

प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाको नेतृत्वमा राजनीतिक दलका नेता, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, स्वास्थ्य मन्त्री तथा स्वास्थ्य सचिवसहित विभिन्न तहका नेतृत्वबीच मौखिक सहमति जुटेको आधारपत्रमा उल्लेख छ। प्रतिष्ठान स्थापनाका लागि नगरपालिकाबाट समन्वय समिति र विज्ञ सल्लाहकारसहितको समिति गठन गर्ने प्रस्तावसमेत अघि सारिएको छ ।

आधारपत्रमा मेडिकल शिक्षालाई शैक्षिक कक्षामा मात्र सीमित नराखी मेची पहाडी जिल्लाको स्वास्थ्य सेवा सुदृढीकरण गर्ने मोडालिटी तयार पार्ने उल्लेख छ। साथै इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकाससँगै कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायत समग्र क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिएको भए पनि मेची क्षेत्रमा अहिलेसम्म मेडिकल कलेज स्थापना हुन नसकेको आधारपत्रमा उल्लेख छ ।

डा गोविन्द केसीसँग भएको सहमतिअनुसार इलाममा मेडिकल कलेज स्थापना गर्न सरकारले प्रतिबद्धता जनाएको विषयलाई पनि आधारपत्रमा समेटिएको छ । करिब १४ सय रोपनी जग्गा आवश्यक प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि करिब १४ सय रोपनी जग्गा आवश्यक पर्ने आधारपत्रमा उल्लेख छ । इलाम अस्पताल आसपास तथा अन्य स्थानमा जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाउने विषय समेटिएको छ ।

स्थानीय विभिन्न व्यक्तिको स्वामित्वमा रहेको जग्गा आवश्यकताअनुसार अधिग्रहण तथा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । त्यस्तै, इलाम अस्पताललाई तत्काल ३०० शय्याको अस्पतालमा स्तरोन्नति गर्नुपर्ने, भवन निर्माणका लागि भारतीय राजदूतावासबाट सहयोग जुटाउने तथा संघीय सरकारको बजेटमा प्रतिष्ठानको नाम समावेश गर्नुपर्ने आवश्यकतासमेत औँल्याइएको छ ।

कलेज स्थापनाका लागि देश तथा विदेशमा रहेका सेवाक्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाता, नागरिक संस्था, लाभग्राही र सम्बन्धित व्यक्तिहरूसँग समन्वय गर्ने प्रस्ताव पनि आधारपत्रमा छ । इलाम अस्पतालको सेवा क्षेत्र इलामसहित पाँचथर, ताप्लेजुङ, तेह्रथुम, झापा तथा आसपासका जिल्लासम्म फैलिएको र करिब १० लाख नागरिकले उच्चस्तरीय स्वास्थ्य सेवा पाउन सक्ने आधारपत्रमा उल्लेख गरिएको छ ।

गत कात्तिक २९ गते भएको सहमतिअनुसार डा। गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने सहमति भएको थियो । सहमतिको पाचौँ बुँदामा इलाम मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सरकारकाले बजेट विनियोजन गर्ने विषय उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार