Local Sandesh बिहिबार, मंसिर ४ २०८३
  • ट्रेण्डिङ :

रेडहर्स इलाम छैटौ सिरिजंघा गोल्डकपमा सहभागि हुने

रेडहर्स इलाम छैटौ सिरिजंघा गोल्डकपमा सहभागि हुने

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर ४ २०८३


रेडहर्स इलाम छैटौ सिरिजंघा गोल्डकपमा सहभागि हुने

इलाम । इलामको रेडहर्स फुटबल क्लबले ताप्लेजुङमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा सहभागिता जनाउने भएको छ । मङ्सिर २३ देखि २९ गतेसम्म सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा हुने छैटौ संस्करणको प्रतियोगितामा रेडहर्सले प्रतिस्पर्धा गर्नेछ । तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा भारतको एकसहित आठ टोली सहभागी हुँदैछन् ।

सहभागी टोलीमा भारतको युनाइटेड खर्साङ क्लब, आयोजक तेल्लोक स्पोर्टिङ क्लब, झापाको सैनिक युथ क्लब, इलामको रेडहर्स फुटबल क्लब , पाँचथर फुटबल क्लब, मोरङको युनिक महादेव क्लब बेलबारी, मरिक एफसी धरान र म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुम रहेका छन् । रेडहर्सका लागि सिरिजङ्गा गोल्डकप नयाँ प्रतियोगिता भने होइन ।

गत वर्ष आयोजित पाँचौँ सिरिजङ्गा गोल्डकपमा पनि रेडहर्सले सहभागिता जनाएको थियो । प्रतियोगिताको उद्घाटन खेलमै आयोजक तेल्लोक स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गरेको रेडहर्स निर्धारित समयमा खेलको निर्णय हुन नसकेपछि पेनाल्टी सुटआउटमा पराजित भएको थियो । आयोजकसँगको पेनाल्टी प्रतिस्पर्धामा चुकेपछि रेडहर्स क्वार्टरफाइनल चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार रुपैयाँ र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार