Local Sandesh शुक्रबार, मंसिर ५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईको कार्यालयमा फोहोर फाल्ने आफ्नै नेता–कार्यकर्तालाई कारबाही गर्न रास्वपा सभापति घिमिरेको प्रतिबद्धता

माईजोगमाईको कार्यालयमा फोहोर फाल्ने आफ्नै नेता–कार्यकर्तालाई कारबाही गर्न रास्वपा सभापति घिमिरेको प्रतिबद्धता

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ५ २०८३


माईजोगमाईको कार्यालयमा फोहोर फाल्ने आफ्नै नेता–कार्यकर्तालाई कारबाही गर्न रास्वपा सभापति घिमिरेको प्रतिबद्धता

इलाम । इलामको माईजोगमाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा फोहोर फालिएको घटनामा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संस्थापक सभापति विरेन निरौला र वर्तमान उपसभापति मोहन सुवेदीलाई कारबाहीको दायरामा ल्याउन पार्टी तयार रहेको रास्वपा माईजोगमाईका सभापति योगेन घिमिरेले बताएका छन्।

गाउँपालिकाको फोहोरमैला व्यवस्थापनमा बेवास्ता गरिएको भन्दै रास्वपाका नेता–कार्यकर्तासहित स्थानीय युवाहरूले अध्यक्ष कुशबहादुर थेवे र उपाध्यक्ष प्रवीना राईको कार्यकक्षमा फोहोर थुपारेका थिए। उक्त घटनापछि गाउँपालिकाले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो। घटनामा आफ्नै पार्टीका नेता तथा कार्यकर्ता संलग्न रहेको विषयमा सर्वदलीय छलफलमा सभापति घिमिरेले गल्ती गर्ने जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्ने बताएका हुन्।

जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता वा आफ्नै परिवारका सदस्य नै किन नहोस्, गल्ती प्रमाणित भए कारबाही हुनुपर्ने उनको भनाइ छ। घटनामा संलग्न संस्थापक सभापति विरेन निरौलाले आफू भागेर नहिँडेको र पार्टीले बचाउँछ भन्ने अपेक्षा पनि नराखेको भन्दै गल्ती गरेको भए कारबाही गर्न चुनौती दिएका थिए। निरौलाको उक्त अभिव्यक्तिको जवाफ दिँदै घिमिरेले यस घटनामा न हिजो पार्टी जोडिएको र न भोलि जोडिने स्पष्ट पारेका छन्।

घिमिरेले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै गल्ती गर्ने व्यक्तिलाई राजनीतिक आडमा संरक्षण गर्न नहुने बताएका छन्। उनले लेखेका छन्, ‘छानबिनपछि जनप्रतिनिधि होस् या मेरो आमा–बुबा होस् या पार्टी साथी, म नै भए पनि कारबाही हुनुपर्छ।’ माईजोगमाई गाउँपालिकाको बदनाम हुने गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नहुने उल्लेख गर्दै उनले हरेक विषयमा राजनीति जोड्न नहुने धारणा राखेका छन्। गल्ती गर्ने व्यक्तिलाई मात्र जिम्मेवार बनाउने गरी निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।

यसअघि माईजोगमाई गाउँपालिका–१ नयाँबजारको फोहोर लामो समयदेखि नउठेको भन्दै रास्वपाका उपसभापति मोहन सुवेदी, संस्थापक सभापति विरेन निरौलालगायत स्थानीय युवाले बजारबाट फोहोर संकलन गरी गाउँपालिका कार्यालय पुर्‍याएका थिए। उनीहरूले अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमै फोहोर थुपार्दै गाउँपालिकाको फोहोर व्यवस्थापनप्रति विरोध जनाएका थिए।

विरोधका क्रममा गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि करिब ६० लाख रुपैयाँ खर्च गरेर मेसिन बनाएको विषयमा समेत प्रश्न उठाउँदै खर्च विवरण सार्वजनिक गर्न माग गरिएको थियो। गाउँपालिका अध्यक्ष थेवेले भने खर्चमा अनियमितता भएको आरोप प्रमाणित गर्न चुनौती दिँदै गाउँपालिकाको हिसाबकिताब जाँच गर्न सकिने बताएका थिए।

घटनापछि गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा कार्यालयको मर्यादामा आँच पुर्‍याउने, जनप्रतिनिधि तथा कर्मचारीलाई त्रसित पार्ने र सार्वजनिक उपद्रव मच्चाउने गतिविधि अस्वीकार्य रहेको उल्लेख गरेको थियो। फोहोर व्यवस्थापनका विषयमा संवाद र समन्वय गर्नुपर्नेमा कार्यकक्षमै फोहोर तथा मलमूत्रजन्य वस्तु फालिनु असभ्य र कानुनविपरीत भएको गाउँपालिकाको ठहर थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार