Local Sandesh मंगलबार, असोज २७ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेशमा पर्यटकीय पदमार्ग लक्षित होमस्टे दर्ता शिविर चलाइने, पूर्वसन्ध्यामा इलामको सन्दकपुरमा समन्वयात्मक छलफल

कोशी प्रदेशमा पर्यटकीय पदमार्ग लक्षित होमस्टे दर्ता शिविर चलाइने, पूर्वसन्ध्यामा इलामको सन्दकपुरमा समन्वयात्मक छलफल

  • सन्देश सम्बाददाता
  • मंगलबार, असोज २७ २०८३


कोशी प्रदेशमा पर्यटकीय पदमार्ग लक्षित होमस्टे दर्ता शिविर चलाइने, पूर्वसन्ध्यामा इलामको सन्दकपुरमा समन्वयात्मक छलफल
सन्दकपुर । कोशी प्रदेशका प्रमुख पर्यटकीय पदमार्ग क्षेत्रहरूमा सञ्चालित तथा नयाँ सञ्चालन गर्न इच्छुक होमस्टेहरूलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकारले विशेष ‘होमस्टे दर्ता शिविर’ सञ्चालन गर्ने भएको छ ।  प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन महाशाखाको आयोजनामा शिविर सञ्चालन पूर्व सोमबार सरोकारवाला निकायहरूसँग समन्वयात्मक छलफल कार्यक्रम पर्यटकीय गाउँपालिका सन्दकपुर गाउँपालिका इलाममा सम्पन्न भएको छ ।
प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनका दृष्टिले उच्च सम्भावना बोकेको कोशी प्रदेशमा हाल विभिन्न पर्यटकीय पदमार्गहरूको विकास तथा पूर्वाधार निर्माणको काम तीव्रताका साथ अघि बढिरहेको छ ।  मन्त्रालयका अनुसार भोजपुर र खोटाङ जिल्ला जोड्ने प्रसिद्ध मुन्दुम ट्रेल, तेह्रथुम र संखुवासभा जिल्लाको लालीगुराँस क्षेत्र, पाँचथर र इलाम जिल्लाको फाल्गुनन्द क्षेत्र तथा इलामको चियाबारी क्षेत्रका पदमार्गहरूमा पूर्वाधार निर्माणका कार्यहरू भइरहेका छन् ।
यी पदमार्गहरूमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीयस्तरमै सुरक्षित आवास, मौलिक परिकार र स्थानीय संस्कृति एवं जीवनशैलीको प्रत्यक्ष अनुभव गराउन होमस्टेको भूमिका निर्णायक रहने सरोकारवालाहरूको भनाइ रहेको छ । तर, हाल दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका वा सञ्चालन गर्न इच्छुक धेरै होमस्टेहरू कानुनी रूपमा दर्ता हुन सकेका छैनन् ।
त्यसलाई आवश्यक कानुनी मापदण्ड र प्रक्रियाबारे जानकारीको कमी, सम्बन्धित सरकारी निकायहरूबीच पर्याप्त समन्वयको अभाव तथा दर्ता प्रक्रियाका लागि सदरमुकाम वा प्रादेशिक कार्यालयसम्म धाउनुपर्ने बाध्यताका कारण ग्रामीण पर्यटन व्यवसायीहरूले कठिनाइ भोग्दै आएकाले होमस्टे दर्ताको घुम्ति शिविर संचालनको तयारी रहेको पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन माहाशाखाका शाखा अधिकृत पेशल पौडेलले बताए ।
व्यावहारिक समस्याहरूलाई समाधान गर्दै स्थानीय तहमै सरकारी सेवा पु¥याउने उद्देश्यले पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा उल्लिखित चारवटै प्रमुख ट्रेल क्षेत्रहरूमा स्थलगत ‘होमस्टे दर्ता शिविर’ आयोजना गर्न लागेको हो ।
शिविरलाई प्रभावकारी र नतिजामुखी बनाउन आयोजना गरिएको समन्वयात्मक छलफलमा प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, इलाम र पाँचथरका स्थानीय तहका जनप्रतिनिधि, होमस्टे महासंघका पदाधिकारी, पर्यटनसँग आवद्ध सरोकारवाला निकायका व्यक्तिको सहभागिता रहेको थियो । सन्दकपुर गाउँपालिका इलामका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षता र फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा होमस्टे दर्ताको घुम्ति शिविर संचालन बारे पर्यटन महाशाखाका शाखा अधिकृत पेशल पौडेलले सहजिकरण गरेका थिए । त्यसैगरि होमस्टे दर्ताको कानुनी व्यवस्थाबारे पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलका क्रममा शिविर सञ्चालनको स्पष्ट कार्ययोजना, संघ, प्रदेश र स्थानीय तहबीचको भूमिका तथा जिम्मेवारी, सम्भावित होमस्टेहरूको पहिचान एवम् अनुमानित संख्याबारे विस्तृत अध्ययन गरि मात्रै दर्ता शिविर संचालन गर्नुपर्नेमा सहभागिको जोड थियो ।
दर्ताका लागि आवश्यक पर्ने कानुनी कागजात र मापदण्डबारे स्थानीय तह र व्यवसायीहरूलाई जानकारी गराउँदै शिविर सञ्चालनका क्रममा आउन सक्ने सम्भावित समस्याहरूको पूर्वपहिचान र समाधानका उपायहरूका विषयमा समेत कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले होमस्टे दर्ताका लागि अनलाइन सेवा सुरु गर्नुपर्नेमा जोड दिए । उनले होमस्टे दर्ताको काम स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताए । कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले दर्ता शिविर संचालन अघि गर्नुपर्ने सबै प्रक्रिया समुदायलाई जानकारी दिन सुचना प्रकाशन र प्रशारण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पाँचथर फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ, फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ्ग जबेगु, सुर्योदय नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विज्ञान कोइराला, केचना कंचनजंघा पर्यटन विकास समितिका अध्यक्ष नरेन्द्र बुडाथोकी, पूर्व कार्यकारी अधिकृत केशवकुमार धौराली, पूर्व बोर्ड सदस्य सुजन तिमसिना, सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बु, होमस्टे महासंघ कोशी प्रदेश अध्यक्ष लिला भट्टराई लगायतको सहभागिता रहेको थियो ।
स्थानीय तहमै दर्ता शिविर सञ्चालन भएसँगै ग्रामीण क्षेत्रका होमस्टेहरू कानुनी रूपमा सुदृढ हुने, पर्यटन क्षेत्रको तथ्याङ्क व्यवस्थित हुने र प्रदेशको समग्र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने अपेक्षा पर्यटन वन तथा वातावरण मन्त्रालयले अपेक्षाका साथ समन्वय बैठक आयोजना गरिएको सहभागिलाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार