इलाम । प्राकृतिक विपद्बाट क्षतिग्रस्त इलामका सडक तथा पुलहरूको पुनर्निर्माणका लागि संघीय सरकारले ४ अर्ब ४४ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। सडक डिभिजन, इलाममार्फत कार्यान्वयन हुने गरी जिल्लाका ११ वटा सडक तथा पुलसम्बन्धी योजनाका लागि बहुवर्षीय बजेट सुनिश्चित गरिएको हो।
स्वीकृत बजेटमध्ये चालु आर्थिक वर्ष २०८३/८४ मा खर्च गर्ने गरी ११ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको छ। विपद्बाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण, वैकल्पिक सडक निर्माण, पहिरो नियन्त्रण र सडक स्तरोन्नतिका कामलाई योजनामा समेटिएको छ।
स्वीकृत योजनामध्ये राजदुवालीमा ११० मिटर लामो पुल र दुई किलोमिटर वैकल्पिक सडक निर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ। सिमलगोलाई–तिल्केनी सडकका लागि ८५ करोड, फिक्कल–श्रीअन्तु सडकका लागि ४५ करोड रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, जोगमाई खोला पुल र पुवा खोला पुल निर्माणका लागि ४०र४० करोड रुपैयाँ स्वीकृत भएको छ। बिब्ल्याटे–माइपोखरी–सन्दकपुर सडक तथा सोही खण्डका पुल निर्माण र पहिरो नियन्त्रणका लागि ८९ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।
मेची राजमार्गको पहिरो नियन्त्रणका लागि २० करोड तथा ठाडे खोला पुल निर्माणका लागि १५ करोड रुपैयाँ स्वीकृत भएको छ। विपद्बाट क्षतिग्रस्त जिल्लाका सडक तथा पुल पुनर्निर्माणका लागि ठूलो रकम सुनिश्चित भएसँगै दीर्घकालीन सडक पूर्वाधार निर्माण, यातायात सहजता र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।