Local Sandesh शनिबार, मंसिर १३ २०८३
  • ट्रेण्डिङ :

भन्ज्याङ–बेलासे सडक अनिश्चित, निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण

भन्ज्याङ–बेलासे सडक अनिश्चित, निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर १३ २०८३


भन्ज्याङ–बेलासे सडक अनिश्चित, निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण

इलाम : इलामको केचना–कञ्चनजङ्घा सडकको भन्ज्याङ–बेलासे खण्ड निर्माण कार्य तत्काल सुचारु गरी निर्धारित समयसीमाभित्र सम्पन्न गराउन इलामका विभिन्न संघसंस्था तथा सचेत नागरिक समाजका प्रतिनिधिले नेपाल सरकारसँग माग गरेका छन् । इलामको आर्थिक समृद्धि, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समग्र विकाससँग जोडिएको महत्वपूर्ण सडक आयोजना अदालतको आदेशपछि अनिश्चित बनेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सम्बोधन गरी जिल्ला प्रशासन कार्यालय इलाममार्फत पठाइएको ध्यानाकर्षण तथा मागपत्रमा सडक निर्माण कार्य तत्काल सुचारु गर्न माग गरिएको छ । ध्यानाकर्षणपत्रमा केचना–कञ्चनजङ्घा सडक इलामको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएको उल्लेख गरिएको छ ।

सडक केवल एउटा यातायात आयोजना मात्र नभई जिल्लाको आर्थिक समृद्धि, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समग्र विकासको महत्वपूर्ण आधार रहेको उनीहरूको भनाइ छ । यस महत्वपूर्ण सडक निर्माणका लागि लामो समयदेखि इलामेली नागरिक, विभिन्न संघसंस्था, राजनीतिक दल, जनप्रतिनिधि तथा निजी क्षेत्रबाट पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि अदालतको आदेशपछि निर्माण कार्य अनिश्चित बनेको पत्रमा उल्लेख छ ।

सडक निर्माणमा भइरहेको ढिलाइले जिल्लाको व्यापार, व्यवसाय, पर्यटन, स्थानीय उत्पादनको ढुवानी तथा नागरिकको सहज आवागमनमा प्रत्यक्ष असर परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । ध्यानाकर्षणपत्रमार्फत अदालतको आदेशबाट उत्पन्न कानुनी तथा प्रशासनिक जटिलताको यथाशीघ्र समाधान गरी सम्बन्धित निकाय र सरोकारवालाबीच आवश्यक समन्वय तथा संवादमार्फत सडक निर्माण कार्य तत्काल सुचारु गर्न माग गरिएको छ ।

त्यस्तै, आयोजनाका लागि पर्याप्त बजेट तथा स्रोतसाधनको व्यवस्था गरी स्पष्ट कार्ययोजना र समयसीमा निर्धारण गर्न तथा निर्धारित अवधिभित्र आयोजना सम्पन्न गराउन सरकारसँग आग्रह गरिएको छ । केचना–कञ्चनजङ्घा सडकलाई सामान्य पूर्वाधार निर्माणको विषयका रूपमा मात्र नलिई इलामको समृद्धि, सम्भावना र भविष्यसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय सरोकारका रूपमा ग्रहण गर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

ध्यानाकर्षण तथा मागपत्रमा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौडेल, नेपाल पत्रकार महासंघ इलामकी उपाध्यक्ष सुनिता खालिङ, निर्माण व्यवसायी संघ इलामका वरिष्ठ उपाध्यक्ष नवीन तामाङ, होटल व्यवसायी संघ इलामका महासचिव प्रकाश चापागाईं, गैसस महासंघ इलामका अध्यक्ष भक्त थामी, पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघका कार्यालय सचिव यतिराज काफ्ले सुमन तथा सचेत नागरिक समाज इलामका सदस्य महेन्द्र चौहानले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । उनीहरूले सडक निर्माण कार्य शीघ्र अघि बढाउन नेपाल सरकारबाट प्रभावकारी पहल हुने अपेक्षा गरेका छन् ।
ठेक्का विवाद कानुनी प्रक्रियामा
इलामको भञ्ज्याङ–बेलासे सडक निर्माणको ठेक्का विवाद कानुनी प्रक्रियामा पुगेको छ । ठेक्का सम्झौताको म्याद, बैंक जमानत भुक्तानी र कालोसूचीमा राख्ने सिफारिससम्बन्धी विवादमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै सम्बन्धित कारबाही यथास्थितिमा राख्न आदेश दिएको छ । उच्च अदालत पाटनको संयुक्त इजलास नं। १० का न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र नेत्रप्रकाश आचार्यको इजलासले मंसिर ७ गते यस्तो आदेश दिएको हो ।

खड्का कृष्ण सक्षम जेभीका तर्फबाट समीर खड्काले सडक विभाग, चाकुपाट ललितपुरसमेतलाई विपक्षी बनाई निषेधाज्ञाको माग गर्दै रिट निवेदन दिएका थिए । निवेदनमाथि सुनुवाइका क्रममा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो । अदालतको आदेशअनुसार निवेदक र सडक डिभिजन इलामबीच २०७८ असार २९ गते भएको ठेक्का सम्झौताको अवधि २०८३ असार ३० गतेसम्म रहेको उल्लेख छ । सम्झौताको म्याद थप, बिमा नवीकरण तथा बैंक जमानत नवीकरणका विषयमा समेत सम्बन्धित निकायबीच पत्राचार भएको देखिएको छ ।

यसैबीच, सडक डिभिजन इलामले बैंक जमानत भुक्तानीका लागि पत्राचार गर्नुका साथै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको विषय पनि अदालतमा पुगेको थियो । अदालतले बैंक जमानत भुक्तानी माग गरिएको पत्र, बैंक जमानतको अवधि तथा कालोसूचीमा राख्न गरिएको सिफारिसलगायतका सम्बन्धित पत्राचारलाई विचार गर्दै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार