Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

आयुर्वेद उपचारमा आकर्षण, जिल्ला आयुर्वेद आइतबारेमा ३१ हजार २ सय ६६ ले सेवा लिए  

आयुर्वेद उपचारमा आकर्षण, जिल्ला आयुर्वेद आइतबारेमा ३१ हजार २ सय ६६ ले सेवा लिए  

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन ३० २०८२


आयुर्वेद उपचारमा आकर्षण, जिल्ला आयुर्वेद आइतबारेमा ३१ हजार २ सय ६६ ले सेवा लिए  
इलाम (आइतबारे) । आयुर्वेद उपचार पद्धतिबाट स्वास्थ्य उपचार गराउने बिरामीको संख्या इलाममा बढ्दै गएको छ । एलोपेथिक उपचार पद्धतिबाट उपचार हुन नसकेका बिरामीहरुले समेत इलामको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराई स्वास्थ्य लाभ लिएका छन् ।  सुर्योदय नगरपालिका ११ मा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको   चाप बढेको छ ।
आयुर्वेद पद्धतिबाट उपचार गराउने बिरामीको संख्या स्वास्थ्य केन्द्रमा बढेको हो । विसं २०३८ मा स्थापना भएको मेची अञ्चल आयुर्वेद औषधालय प्रदेश सरकारमा हस्तान्तरण भएपछि आयुर्वेद केन्द्र भएपछि बिरामीको स्वास्थ उपचारमा सक्रिय छ । सरकारी क्षेत्रबाटै सुविधासम्पन्न आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि इलाम, पाँचथर र ताप्लेजुङ्गका बिरामीहरुले समेत सेवा लिइरहेका छन् ।
स्वास्थ्य केन्द्रमा बसेर उपचार गर्न पाइने भएपछि बिरामीहरु समेत खुशि भएका छन् । विभिन्न जडीबुटीको प्रशोधनबाट बनाइएका औषधि र पञ्चर्कम विधिबाट केन्द्रमा बिरामीको उपचार गरिँदै आएको छ । केन्द्रमा पञ्चकर्म सेवा, सिरोधारा, स्थानिक बस्ती क्षार सूत्र, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा संचालनमा छन् ।  केन्द्रमा इमर्जेन्सी सेवा, सःशुल्क र निःशुल्क फार्मेसी सेवा, विशेषज्ञ चिकित्सक सेवा सञ्चालनमा रहेको केन्द्र प्रमुख सरोजप्रसाद विशालले बताए ।
उनले भने – बिरामीको संख्या ओपिडीमा भन्दा पञ्चर्कमा बढी रहेको छ । सर्वसाधारणसम्म आयुर्वेद पद्धति र यसको फाइदाबारे केन्द्रबाट जनचेतनाका काम पनि हुँदै आएका छन् ।  केन्द्रमा २४ सै घण्टा आकस्मिक उपचार सेवा समेत संचालनमा रहेको छ । आकस्मिक सेवा अन्य अस्पताल सरहको हुने गरेको छ ।
कार्यालयको पाँचकोठे भवन मात्र भएकाले हाल भाडामा अन्य भवन लिएर केन्द्रले बिरामीको सेवा दिँदै आएको छ । बिरामीको संख्या बढ्दै गएको अवस्थामा भौतीक पूर्वाधार अनुसार सेवा कम रहेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा अहिले दैनिक ५० बढी बिरामीले आयुर्वेद पद्धतिबाट उपचार गराउँदै आएका छन् । केन्द्रमा गत आर्थिक वर्षमा ३१  हजार २ सय ६६ बिरामीले उचार सेवा लिएका छन् ।
जस अन्तरगत बहिरंग सेवामा ३ हजार ८ सय ८९, एकांग स्वेदनबाट २ हजार ६ सय ६०, स्थानीय बस्तीबाट २ हजार ३ सय ४९, सर्वाङ्ग ६ सय ६४, शिरोधारा ४ सय ९० जनाले सेवा लिएका छन् । त्यसैगरी बाहिरी स्नेहनमा ५ हजार ६ सय २३, मात्रा बस्ती १ सय ८१, नस्य ५ सय १२, योग सेवा ३ हजार १ सय ६५ र प्रयोगशाला सेवा १ हजार २ सय ३४ जनाले लिएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट जेष्ठ नागरिक सेवा १ हजार ४ सय ७३, स्तनपायी सेवा १ सय ६४, आकस्मिक सेवा २ सय ९६, नागरिक आरोग्य अभियान ३ हजार १ सय ३० जनाले लिएका छन् । केन्द्रमा घरभेट कार्यक्रम २ हजार ७४, स्वास्थ्य जीवन प्रवद्र्धन सेवाबाट ३ हजार १ सय, क्षारसुत्र सेवा ३३, शल्य सेवा ३७, अग्निकर्म सेवा १ सय ५० र अन्तरङ्ग सेवा ४२ जनाले लिएका छन् ।
केन्द्रमा पञ्चकर्म (फिजियोथेरापी) गर्ने बिरामीको संख्या बढी रहेको बैद्य विश्वमणि ढकालले बताए । केन्द्रमा झापा र भारतका विभिन्न क्षेत्रबाट उपचार गर्न आउने बिरामीको संख्या पनि बढी रहेको     छ । भारतको दार्जिलिङ्गका विभिन्न क्षेत्रबाट उपचार गराउने बिरामीको संख्या बढी रहेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार