माई । विश्व स्वास्थ्य संगठनको सहयोगमा जापानिज इन्सेफ्लाइटिस (जेई) रोगबाट बच्ने उपायसम्बन्धी एकदिने जनचेतनामूलक कार्यक्रम इलामको माई नगरपालिका–८ स्थित श्री जनसिद्ध आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा विश्व स्वास्थ्य संगठनबाट डा संगिता, नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, वडा नं ८ का अध्यक्ष अमृतबहादुर मोक्तान, वडा सदस्य शेरबहादुर बस्नेत, विद्यालयका शिक्षक तथा वडा नं ८ का करिब ५० जना स्थानीयको सहभागिता रहेको थियो।
कार्यक्रममा जापानिज इन्सेफ्लाइटिस रोगको संक्रमण, यसका लक्षण, जोखिम, रोकथामका उपाय तथा व्यक्तिगत र सामुदायिक सतर्कताबारे जानकारी प्रदान गरिएको थियो। विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने यस रोगबाट बच्न सरसफाइमा ध्यान दिन, पानी जम्न नदिने, झुलको प्रयोग गर्ने, पूर्ण खोप लगाउने तथा समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा सहभागीलाई सचेत गराइएको थियो।
कार्यक्रमको सहजीकरण डा सङ्गीता र नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिरु पापो लिम्बू, शिक्षक–अभिभावक संघका अध्यक्ष रामबहादुर लोक्ताम तथा वडा अध्यक्ष अमृतबहादुर मोक्तानले जापानिज इन्सेफ्लाइटिस नियन्त्रणमा समुदायको सक्रिय भूमिका आवश्यक रहेको भन्दै जनचेतना अभिवृद्धिमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए।
सहभागीहरूले कार्यक्रमबाट जापानिज इन्सेफ्लाइटिस रोगबारे आवश्यक जानकारी प्राप्त भएको र समुदायस्तरमा यसको रोकथामका लागि यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।