Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

जिल्ला प्रहरी कार्यालय इलाममा भदौमा २१ मुद्दा, १८ पक्राउ

जिल्ला प्रहरी कार्यालय इलाममा भदौमा २१ मुद्दा, १८ पक्राउ

  • सन्देश सम्बाददाता
  • शनिबार, असोज ३ २०८३


जिल्ला प्रहरी कार्यालय इलाममा भदौमा २१ मुद्दा, १८ पक्राउ

इलाम : जिल्ला प्रहरी कार्यालय इलामका अनुसार भदौ महिनामा २१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये सामान्य प्रकृतिका दुई, गम्भीर प्रकृतिका ६ र जघन्य प्रकृतिका तीन मुद्दा रहेका छन्। दर्ता भएका मुद्दामध्ये १० वटा दुई वर्षे अवधिका मुद्दा रहेको प्रहरीले जनाएको छ । सो अवधिमा दर्ता भएका मुद्दामा संलग्न १८ प्रतिवादीमध्ये १५ जना पक्राउ परेका छन् भने तीन जना फरार छन् ।

फैसला कार्यान्वयनतर्फ १६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट आठ वर्ष नौ महिना कैद तथा एक लाख दुई हजार ९८० रुपैयाँ नगद जरिवाना असुल भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका चारवटा कसुरसम्बन्धी मुद्दा पनि दर्ता भएका छन् ।

यस्तै, हराएका महिला, पुरुष, बालक, बालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १५ जना हराएको विवरण प्राप्त भएकोमा अघिल्लो महिनाका पाँच र भदौ महिनाका ६ गरी ११ जना फेला परेका छन् । अघिल्लो महिनाको एक र भदौ महिनाका दुई गरी तीन जना फेला पर्न बाँकी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

घरेलु हिंसातर्फ तीनवटा उजुरी परेका थिए । तीमध्ये दुईवटा मानसिक यातना, एउटा शारीरिक यातना र एउटा कुटपिटसम्बन्धी रहेको विवरणमा उल्लेख छ । तीनवटै उजुरीमा मिलापत्र गराइएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा ३७ तथा जिल्ला प्रशासन कार्यालयमार्फत दुई गरी कुल ३९ वटा ठाडो उजुरी परेका थिए ।
आठ जनाले गरे आत्महत्या
भदौ महिनामा आठ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय इलामको भदौ महिनाको प्रगति विवरणअनुसार आत्महत्या गर्नेमा दुई महिला र छ पुरुष छन् । उमेर समूहअनुसार १६ देखि २५ वर्षका दुई जना, ३६ देखि ४५ वर्षका तीन जना, ४६ देखि ६० वर्षका दुई जना र ६० वर्षमाथिका एक जना छन् ।

३६ देखि ४५ वर्ष उमेर समूहमा आत्महत्याका घटना बढी देखिएको प्रहरी तथ्यांकले देखाएको छ । प्रहरीको विवरणमा भदौ महिनामा आत्महत्याका आठ घटना भएको उल्लेख भए पनि घटनाका कारण वा मृतकको विस्तृत सामाजिक तथा पारिवारिक अवस्थाबारे छुट्टै विवरण दिइएको छैन । आत्महत्या न्यूनीकरणलाई लक्षित गर्दै जिल्ला प्रहरीले भदौमा समुदाय केन्द्रित २३ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रहरी निरिक्षक सुचना अधिकारी मौसम उदासले जानकारी दिए ।
८६० मिलिग्राम ब्राउन सुगर
प्रहरीले ८६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामको भदौ महिनाको प्रगति विवरणअनुसार लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिएको जनाएको छ । भदौ महिनामा लागुऔषधसम्बन्धी ९ वटा सामुदायिक कार्यक्रम सञ्चालन गरी ४४४ जनालाई सहभागी गराइएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
भरुवा बन्दुकसहित एक पक्राउ
भदौ १४ गते देउमाई नगरपालिका–५ बारुङमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको थियो । घरमा भरुवा बन्दुक लुकाइराखेको गोप्य सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले ३६ वर्षीय राजकुमार तामाङको घरबाट एक थान भरुवा बन्दुक बरामद गरी उनलाई पक्राउ गरेको र आवश्यक अनुसन्धानपछि भदौ २४ गते जिल्ला सरकारी वकिल कार्यालय इलाममा पेश गरेको जनाएको छ ।
सवारी दुर्घटनामा तीनको मृत्यु, २० घाइते
भदौ महिनामा इलाममा १३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १६ वटा सवारी साधन संलग्न थिए । दुर्घटनामा तीन जनाको मृत्यु, २० जना घाइते भएको र २३ जनालाई प्रहरीले उद्धार गरेको तथ्यांक छ । प्रहरीले दुर्घटनाका प्रमुख कारणमा चालकको लापरबाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, कच्ची तथा जोखिमयुक्त सडक, विपद् र खराब मौसम, घुमाउरो तथा साँघुरो सडक, उकालो–ओरालो बाटो तथा वर्षायाममा पहिरो र हिलोका कारण सडक चिप्लो हुनु र सवारी साधनको अवस्था रहेको जनाएको छ ।

सवारी चेकिङका क्रममा २९० पटक चेकिङ गरी ४१८ वटा सवारी साधनमाथि कारबाही गरिएको र चार लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । भन्सार छली नियन्त्रणतर्फ प्रहरीले ३६ हजार ७२० रुपैयाँ राजस्व संकलन गरेको छ । अवैध वन पैदावार चोरी–पैठारी नियन्त्रणतर्फ ५६ हजार २१० रुपैयाँ राजस्व संकलन, दुई जना पक्राउ र ८० क्युबिक फिट वन पैदावार बरामद भएको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ६ हजार रुपैयाँ राजस्व संकलन गरी दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ ।
विपद्बाट १३ लाखभन्दा बढीको क्षति
भदौमा इलाममा १८ वटा विपद्का घटना भएका छन् । प्रहरीको तथ्यांकअनुसार बाढी–पहिरोको एक, आगलागीका तीन, जंगली जनावरको आक्रमणको एक, चट्याङका नौ, हावाहुरीका तीन र अन्य एक घटना भएका छन् । विपद्का घटनामा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार आगलागी, जंगली जनावरको आक्रमण, चट्याङ र हावाहुरीबाट गरी १३ लाख ३३ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ ।
जनचेतना कार्यक्रम
प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित विभिन्न ११३ वटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रममा कुल ३ हजार १४६ जना लाभान्वित भएका छन् । लागुऔषधसम्बन्धी नौ कार्यक्रमबाट ४४४ जना, आत्महत्यासम्बन्धी २३ कार्यक्रमबाट ६८७ जना, पीडित पुनःभेटघाट कार्यक्रमबाट तीन जना, विपद्सम्बन्धी नौ कार्यक्रमबाट १८१ जना, साइबर अपराधसम्बन्धी १० कार्यक्रमबाट १५४ जना र अन्य ६१ कार्यक्रमबाट १ हजार ६७७ जना लाभान्वित भएको तथ्यांक छ ।

विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत लागुऔषधसम्बन्धी दुई, यौन दुव्र्यवहारसम्बन्धी एक र बाल अधिकारसम्बन्धी तीन गरी छवटा कार्यक्रम सञ्चालन गरिएका छन् । ती कार्यक्रममा १३२ विद्यार्थी सहभागी भएका थिए। विभिन्न विद्यालयमा लागुऔषध तथा साइबर अपराध, बाल यौन दुव्र्यवहार, बालविवाह, सामाजिक सञ्जालको दुरुपयोग तथा नेपाल प्रहरी एप्सका सेवासम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

नागरिकता सर्जमिन, अन्य कागजातका काममा प्रहरीले ४७ वटा मुचुल्का तयार गरेको छ । यसमध्ये नागरिकता सर्जमिनका ३० र अन्य कागजातका १७ वटा रहेका छन् । भदौ महिनामा प्रहरी कार्यालयमा विभिन्न सेवाका लागि ७३१ जना सेवाग्राही पुगेका छन् । तीमध्ये २२९ महिला, ४७३ पुरुष, चार ज्येष्ठ नागरिक पुरुष, नौ ज्येष्ठ नागरिक महिला, १० बालक र छ बालिका रहेका छन् ।

प्रहरीको हटलाइन तथा नियन्त्रण कक्षमा आएका कलमध्ये १४६ वटा अन्य प्रकृतिका कल रहेको विवरणमा उल्लेख छ । यस्तै, मुद्दा तथा निवेदनको अनुसन्धान प्रगतिबारे निवेदकलाई फोन र एसएमएसमार्फत जानकारी दिने, अनलाइनबाट प्राप्त उजुरीमा तत्काल छानबिन तथा कानुनी प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

आकस्मिक अवस्थामा तत्काल परिचालन गर्न प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको ‘स्ट्यान्ड बाइ’ टोलीसमेत राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अपराध न्यूनीकरणका लागि प्रहरीले संवेदनशील स्थानमा सीसीटीभी निगरानी, ग्रामीण क्षेत्रमा लामो, मध्यम तथा छोटो दूरीका गस्ती बढाउने, समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने तथा शंकास्पद व्यक्ति, स्थान र सवारीमाथि निगरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार