इलाम । इलाम कारागारमा रहेका कैदीबन्दीहरूको लागि निःशुल्क आँखा जाँच, चस्मा वितरण तथा मोतिविन्दु भएका बिरामीहरूको शल्यक्रियाका लागि छनोट गर्ने उद्देश्यले विशेष शिविर सञ्चालन गरिएको छ । नेपाल नेत्र ज्योति संघ इलामको आयोजनामा शनिबार सम्पन्न उक्त शिविरमा कारागारभित्र रहेका करिब १३६ कैदीबन्दीहरूको आँखा परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघ इलाम शाखाका सचिव प्रकाश भट्टराईले जानकारी दिए ।
जस्मा ३४ जनालाई चस्मा बितरण, ६ जनालाई मोतियाबिन्दु भएको पाइएकोमा ४ जनालाई शल्यक्रियाका लागि छनौट गरिएको साथै २ जनालाई औषधी बितरण गरिएको समेत भट्टराईले जानकारी दिए । कारागार इलाम प्रमुख मधुर बिशुखेका अनुसार कारागारमा अहिले ३ सय ३१ कैदीबन्दी रहेका छन् । जस्मा २ सय आठ पुरुष र २० महिला तथा ३ जना बालबालिका रहेको प्रमुख बिशुंखेले जानकारी दिए ।
उनले भने ,“शनिबार भएको आँखा परीक्षण कार्यक्रममा २० जना महिला र ४० बर्ष माथिका १ एक सय २१ पुरुष सहित कार्यालयका कर्मचारीको निःशुल्क आँखा जाँच गरिएको हो । बाकी रहेका कैदीबन्दीको अर्को पटक जाँच गर्ने कार्यक्रम रहेको छ ।”
शिविरमार्फत दृष्टि कमजोर भएका कैदीबन्दीहरूलाई नजिक हेर्ने तथा पढ्ने चस्मा निःशुल्क वितरण गरिएको थियो भने मोतिविन्दु समस्या भएका बिरामीहरूको पहिचान गरी आगामी दिनमा निःशुल्क शल्यक्रिया गरिने गरी छनोट गरिएको आयोजकले जनाएको छ ।
कारागारभित्र स्वास्थ्य सेवा पहुँच सीमित हुने अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस कार्यक्रमले कैदीबन्दीहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ । साथै, यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले कैदीबन्दीहरूमा सकारात्मक ऊर्जा र आशा जगाउने विश्वास गरिएको छ।