इलाम : नेपालमा जापानी इन्सेफलाइटिस (जेई) को संक्रमण र मृत्युदर चिन्ताजनक रूपमा बढिरहेका बेला इलाम पनि यसको जोखिम देखिएको छ । स्वास्थ्य सम्बन्धी पछिल्लो विवरणअनुसार इलाममा दुई जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। देशभर पुस महिनायता ५४ जनामा संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु भइसकेको छ। यस आधारमा संक्रमित चार जनामध्ये एक जनाको मृत्यु हुने अवस्था देखिएको छ।
हालसम्म यो संक्रमण २१ जिल्लामा फैलिएको छ। सबैभन्दा बढी प्रभावित प्रदेशका रूपमा कोशी प्रदेश देखिएको छ। कोशी प्रदेशमा मात्रै २० जनामा संक्रमण पुष्टि भएको छ भने ६ जनाको ज्यान गएको छ। कोशी प्रदेशअन्तर्गत झापा, मोरङ, सुनसरी र इलाममा संक्रमण देखिएको छ। तथ्याङ्कअनुसार झापामा आठ, मोरङ र सुनसरीमा पाँच–पाँच तथा इलाममा दुई जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेमध्ये झापामा पाँच तथा मोरङ, सुनसरी र इलाममा एक–एक जना रहेका छन्।
परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार विगत तीन वर्षयता जापानी इन्सेफलाइटिसको संक्रमण आक्रामक रूपमा देखिन थालेको छ। उनका अनुसार खोप नपाएका ५० वर्षभन्दा माथिका व्यक्तिमा संक्रमण र मृत्युको जोखिम बढी देखिएको छ। जापानी इन्सेफलाइटिस भाइरसका कारण हुने रोग हो। यो रोग क्युलेक्स प्रजातिको लामखुट्टेमार्फत मानिसमा सर्ने गर्छ।
विशेषगरी बिहान र साँझ सक्रिय रहने यी लामखुट्टाले संक्रमित चराचुरुङ्गी र सुँगुरलाई टोकेपछि मानिसमा रोग सार्ने गर्छन्। गत वर्ष मात्रै जापानी इन्सेफलाइटिसका कारण नेपालमा ४१ जनाको मृत्यु भएको थियो। यस वर्ष पनि संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
स्वास्थ्यकर्मीहरूले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्न, घर वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन तथा ज्वरो, टाउको दुख्ने, बान्ता हुने वा बेहोस हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएका छन्।