इलाम : इलाम अस्पतालको आकस्मिक भवनको शिलान्यास गरिएको छ । भारत विकास सहयोग अन्र्तगत निर्माण हुने भवनको एक कार्यक्रमको बिच भारतीय राजदुतावासकी काउन्सिलर गीताञ्जली ब्रैडन र इलाम नगर प्रमुख केदार थापाले संयुक्त रुपमा शिलान्यास गरे ।
११ करोड ९८ लाख ५ हजार ६५७ रुपैया ८९ पैसाको लागतमा निर्माण हुने भएको हो । अर्थ डिजाइनर एन्ड डेभ्लोप्मेन्ट प्रालिसंग २०८२ फागुन १४ गते सम्झौता भएको भवन १५ महिना भित्र सम्पन्न गरिने भएको छ । कार्यक्रममा बोल्दै ब्रैडनले परियोजना भारत सरकारको सहयोगको उच्च प्रभाव विकास कार्यक्रम भएको बताइन् ।
उनले नेपाल भारतबिचको सम्बन्धको महत्वपूर्ण योजना भएको समेत बताइन् । कार्यक्रममा बोल्दै पूर्व संघीय संसद महेश बस्नेतले इलाममा भारत सरकारको धेरै वटा परियोजनाहरु रहेको बताए । उनले करफोक मावि, शेराको कोल्डोर लगायतका विभिन्न आयोजनाहरुमा भारत सरकारको सहयोग रहेको बताए ।
कार्यक्रममा बोल्दै इलाम नगर प्रमुख केदार थापाले भारतीय दुतावास र इलाम नगरपालिका बिच १० नोभेम्बर २०२५ भएको समझदारी भएको बताए । उनले १९ करोड ७५ लाख ४४ हजार ४२ रुपैयाको सम्झौतामा ५ करोड ६० लाख बराबरको स्वास्थ्य उपकरण समेत समावेश भएको बताए ।
शिलान्यासको अवसरमा काउन्सिलर ब्रैडनलाई इलाम नगरपालिकाका मिनि दमकल उपलब्ध गराइदिन अनुरोध पत्र समेत बुझाइएको छ । भौगोलिक विकटताका कारण ठुला दमकलहरु पुग्न समस्या भएकाले सानो दमकल आवश्यक रहेको नगर प्रवक्ता नुतनदेव दुलालले जानकारी दिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । शिलान्यासकै अवसरमा नगरपालिकाकालाई प्रारम्भिक रुपमा २ करोडको चेक हस्तान्तरण गरिएको छ । चेक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खड्काले लिएका छन् ।