एउटी नाबालिक बलात्कृत हुन्छिन, घाँटी निमोठेर प्राण पखेरु उडाइन्छ । भावविह्वलपूर्ण करुणाका आँसुले टलपलाएका करोडौं नयनहरु न्यायका लागि टोलाई रहँदा फैसलाका लागि मजबुत प्रमाण, बलियो कानुन र उपयुक्त नजिर हुँदा हुँदै पनि हाम्रा निकायहरुले न्यायको त्यो सुनौलो बिहानी पस्कन सक्दैनन् ।
नेपाली नारीको दुर्भाग्य भनौ या अजबको दृष्टान्त करोडौं नेपालीको मन रुवाएको र निर्मलाप्रति पल पल सहानुभूति रहेको त्यस निर्मला हत्याकाण्डमा न्यायको न पनि उच्चारण हुन सकिरहेको छैन। त्यति मात्र मात्र होइन,एउटी निर्दोष नारीको दिनदाडै घाँटी निमोठेर हत्या गरिन्छ र त्यसलाई दबाउन अनाकन्टार जंगलमा लगेर पेट्रोल छर्किएर लासलाई आगो लगाएर सबुत नामेट पार्न खोजिन्छ ।
सबुतै सबुतले भरिएको त्यस हत्याकाण्डका ज्यानमारा अपराधी श्रीमानलाई आफ्नो अपराधको २० बर्षे जन्मकैद दिलाएर एउटी महिलाप्रति थोर बहुत न्याय दिलाइन्छ । तर फैसलाको ८ बर्ष नबित्दै मुद्दालाई उल्टाएर जेलमा अपराधको दण्ड भोगीरहेको अपराधीलाई सुनपानी छर्केर महिला प्रतिको गौरवपूर्ण न्यायलाई उल्टाएर पैतलामुनि धसाई रहँदा समेत मुक दर्शक बनी रहेको नेपाली आधा आकास अधिकारमा अब्बल पङ्तीमा भएर पो के भो र ? समावेशितामा एक तिहाई हिस्सा ओगटेर पो के भो र ? राष्ट्रको उच्च सिहासनमा विराजमान भएर पो के भो र ?
आखिर पितृसत्तावादी, अहंकारी र भ्रष्ट मानसिकताले रगरग जरा गाडेको यस समाजमा अझ पनि महिलाहरुलाई भोक विलासको साधन र आफ्नो खेलौना सम्झने कपटपुर्ण महिला हिंस्रक प्रवृतिको विरुद्धमा महिला क्रान्तिको राँको सल्काउन नसक्ने अनगिन्ती महिला मुक्ति, सयौं महिला जागरण, हजारौ महिला अधिकार र लाखौ महिला सशक्तीकरणका झुण्डहरु भएर के गर्नु आखिर यहि देशमा एउटी नाबालिक छोरीको बलत्कार गरेर हत्या गरिन्छ, एउटी बुहारीको लोहोराले किच्याई किच्याई बिभत्स हत्या गरिन्छ।
तपाईं हामी ती मुठ्ठीभर जघन्य अपराधमा संलग्न ती अपराधी र न्याय क्षेत्रलाई नै उथलपुथल र भाँडभैलो मच्चाउने ती गिरोह, तस्कर र माफियाहरुको विरुद्धमा चु बोल्न नसकेर हरेक घटनाको प्रत्यक्ष साक्षी भईकन पनि मुक दर्शक बनेर टोलाई रहेका छौं । अनि संघीय कानुनमा महिला हक हित र अधिकारका ठुलठुला र फुस्रा आश्वसन र भ्रम निसंकोचरुपमा बाँडिरहेका छौं ।