जाडो सकिन लागेको थियो । २०६६ सालको सम्भवतः फागुन महीना हुनुपर्छ । मित्र महेन्द्र कार्कीसँग उहाँको घर तेह्रथुमको कालिपा गएँ । जुन तत्कालीन इवा गाविसमा पर्दो रहेछ । त्यहाँदेखि अलिक तल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतको पुख्र्यौली घर रहेछ । ठाउँ चिसो । तर, हरियाली र राम्रो । अझ राम्रो त महेन्द्रजीको परिवार रहेछ । मुलघरको अगेनोंमा बसेर आगो ताप्यौं ।
महेन्द्रजीको बुबाचाहिँ रेडियोमा समाचार नियमित सुन्नुहुँदो रहेछ । मैले उहाँलाई काका भनें । बिहानको सम्भवतः साढे ८ बजे हुनुपर्छ, ताप्लेजुङको तमोर एफ।एम।बाट समाचार आयो । सुन्दै गर्दा एउटा विज्ञापन पनि आयो । पाँचथरको सुम्हात्लुङ एफ.एम को रहेछ । सेसेफुङ शेर्माको आवाजमा रेकर्ड भएको विज्ञापनमा रेडियोमा जागिरको कुरा रहेछ ।
‘‘के तपाईं रेडियोमा काम गर्न चाहनुहुन्छ रु यदि, चाहनुहुन्छ भने तपाईंलाई हामी अवसर दिन्छौं । ’ यस्तै व्यहोराको विज्ञापन थियो । जहाँ, समाचार वाचकलाई फाराम शुल्क १०० सहित एक हजार ६००, कार्यक्रम प्रस्तोतालाई दुई हजार र प्राविधिकलाई दुई हजार ६०० रूपैयाँ तोकिएको रहेछ । विज्ञापनले म बडो प्रभावित भएँ । मनमनै एकखालको हुट्हुटी जाग्यो ।
जतिबेला स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिएँ । सोलार प्राविधिक पनि थिएँ । पढ्ने खर्च जुटाउने मेसो सोलार जडान नै थियो । भान्जा डेकेन्द्रकुमार तामाङको सोलार पसलमा प्राविधिकको काम गर्दै थिएँ । त्यसबेला सोलार जडान गर्दाको जम्मा १७ सय जति पैसा मसँग थियो ।
प्राविधिक र कार्यक्रम प्रस्तोताको लागि तोकिएको शुल्क बुझाउन पुग्ने थिएन । र, समाचारवाचक पदमै फाराम भर्ने निधो गरें । अन्ततः भरें पनि । चैतमा तीन दिने आधारभूत रेडियो पत्रकारिता सम्बन्धी तालिम रेडियोले आयोजना गर्यो । तालिमबाट आवश्यक रहेको दुई जना समाचारवाचक पदमा म पनि छनौंट हुन पुगें । प्राविधिक शाखाबाट वैकल्पिक सूचीमा प्रदीपसिंह योञ्जन तामाङको नाम रहेछ ।
प्रदीपजीको पनि नाम देखेपछि मलाई तामाङ भाषामा समाचार वाचन गर्न टीम बन्ला कि त भन्ने भयो । पछि उहाँ प्राविधिक सहायक हुँदै प्राविधिक प्रमुखसम्मै बन्नुभयो । प्रदीपजी र म भन्दा पहिले नै सरिता तामाङ राई रेडियोमा आबद्ध हुनुहुन्थ्यो । उहाँलाई हामी नाना (दिदी) भन्थ्यौं । अहिले पनि भन्छौं । उहाँले हामीलाई मायापूर्वक भाइ भन्नुहुन्थ्यो र भन्नुहुन्छ । वीरेन्द्र रूम्बाजी पनि रेडियोमा पहिले नै आबद्ध हुनुहुन्थ्यो ।
नेपाली भाषामा राम्रो समाचार वाचनकला नानामा थियो । वीरेन्द्रजीचाहिँ तामाङ भाषामा रेडियो कार्यक्रम उत्पादन गरेर प्रसारण गर्नुहुन्थ्यो । यति ठूलो टीम भएपछि त आफ्नै मातृभाषामा दैनिक समाचार प्रसारण गर्नेतर्फ छलफल गर्यौं । र, कार्यक्रम पनि प्रसारण गर्ने भन्यौं । सोही अनुसार २०६८ सालको साउन ८ गते पहिलोपटक सुम्हात्लुङ एफ.एमबाट तामाङ भाषामा समाचार प्रसारण गर्न सफल भयौं ।
समय बिहानको १० बजे थियो । उक्त रेडियोको पहिलो तामाङ भाषाको समाचारवाचक मै भएँ । हुन त तामाङ भाषामाभन्दा पहिले खस–नेपाली भाषामा वाचन गर्थें । साथ सरिता नाना, प्रदीपजी, र वीरेन्द्रजीबाट पाएँ । अझ समाचार प्रसारणको लागि तत्कालीन स्टेशन म्यानेजर विजयबोध लावतीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
त्यतिबेला पूर्वी पहाडी जिल्लामा सञ्चालनमा रहेका रेडियोहरूमध्ये रेडियो मेन्छायम तेह्रथुममा राजु लामा र पम्फा तामाङको तामाङ भाषामै एउटा रेडियो कार्यक्रम (नामचाहिँ बिर्सें) प्रसारणमा थियो । छिमेकी जिल्ला धनकुटाको रेडियो मकालुमा सन्तवीर मोक्तान दाई तामाङ भाषामै समाचार वाचन गर्नुहुन्थ्यो । उहाँलाई प्रशिक्षणको लागि बोलायौं । र, प्रशिक्षणपछि समाचार वाचन गर्न सक्ने भयौं ।
बोलीचालीको भाषामा समस्या थिएन । रून पनि भाषामा आउँथ्यो । र, आउँछ पनि । मात्रै केही प्राविधिक शब्दावलीमा समस्या थियो । त्यही समस्याले गर्दा तामाङ भाषाविद् अजितमान तामाङलाई भेट्न काठमाडौंमा आएँ । रत्नपार्क छेउमा रहेको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा बोलाउनुभयो । त्यहाँ पुगें ।
राजेन्द्र थोकर, सिजार पाख्रिन र उहाँ गरी तीन जनाको संयुक्त लेखन भएको त्रैभाषिक शब्दकोशको पाण्डुलिपि रहेछ । मैले ‘‘शब्दकोशको पाण्डुलिपि नै भए पनि दिनुपर्यो ज्योज्यो, हामीलाई समस्या भयो र बदमासी मबाट हुन्न’’ भनें । उहाँले रातो मसी भएको कलमले प्रत्येक पानामा हस्ताक्षर गरेर दिनुभयो । जसले गर्दा तामाङ भाषामा समाचार उत्पादन गरेर प्रसारण गर्न अत्यन्तै सहज भयो । र, तामाङ भाषामै ‘सेमला ताम’ रेडियो कार्यक्रम पनि उत्पादन गरेर प्रसारण गरें । समाचारमा होस् या त कार्यक्रममा प्रयुक्त शब्द अत्यन्तै नरम खालको हुनुपर्छ भन्ने मान्यता ममा थियो । त्यसो भए मात्रै समुदायका मानिसहरूले समाचार बुझ्छन् । उनीहरूकै लागि भनेर समाचार उत्पादन गरेर प्रसारण गर्ने तर, उनीहरूले बुझेनन् भने अर्थ हुँदैन भन्ने थियो ।
त्यही भएर जनजिब्रोमै रहेका शब्दहरूको प्रयोग भयो । कतिपय शब्दको अनुवाद नभए भाव दर्शाउने शब्दको प्रयोग गथ्र्यौं । तर, खस–नेपाली भाषामा रहेको ‘जबरजस्ती करणी’ वा ‘बलात्कार’ शब्दलाई अनुवाद गर्ने क्रममा चाहिँ आपत पर्यो । दुवै शब्दको भाव बोक्ने तामाङ भाषामा एउटा मात्रै शब्द छ, जुन शब्दको उच्चारण गर्नु सामाजिक रूपमा ग्राह्य हुँदैन । अन्त्यमा ‘‘आयान्ना आयान्ना हुना लाजी’’ प्रयोग गरें । यसले ‘‘नमान्दा नमान्दै सुतायो’’ भन्ने भावचाहिँ अलिअलि दिने महसुस गरें ।
जिल्ला, देश र विदेशका तामाङ समुदायसँग सम्बन्धित विविध क्षेत्रको गतिविधि समाचारमा प्रस्तुत गथ्र्यौं । समाचार स्रोतको रूपमा तामाङ समाज डटकम (सम्पादक–विष्णु तामाङ), तामाङ सरोकार (खोजराज गोलेलगायतको टीम), छार गोङ्मा (प्रतीक ङेसुर), छार म्हेन्दो, जस्ता भाषिक अनलाइन र पत्रिकामा छापिएका खबर अनुवाद गर्दै पढ्थें ।
तामाङ डाजाङ भने तामाङ भाषामै प्रकाशन हुने भएकोले उक्त पत्रिकामा छापिएका रचनाहरू रेडियो कार्यक्रममा वाचन गर्थें । जिल्लामा रहेको नेपाल तामाङ घेदुङले सम्पादन गर्ने गतिविधिसँगै अन्य राजनीतिक, सामाजिक लगायत विषयमा नेपाली भाषामा लेखिएको समाचार पनि अनुवाद गरेर पढिन्थ्यो । जतिबेला वीरेन्द्र रूम्बाजीको कार्यक्रम ‘नाङसाल’ प्रसारण भएको करीब दुई वर्ष हुन लागेको थियो । सरिता नाना र मैले ‘शौचालय गएपछि साबुन पानीले हात धोऔं’ भन्ने सूचनालाई तामाङ भाषामा रेकर्ड गरी प्रसारण गर्यौं ।
त्यसैबेला जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन भएको थियो । भर्खरै, रामचन्द्र बम्जन तामाङ (हाल सोही रेडियोको स्टेशन म्यानेजर हुनुहुन्छ) पनि रेडियोमा जोडिनुभएको थियो । अनि, दिलकुमारी योञ्जन तामाङ ‘माइच्याङ’ पनि सहकर्मीका रूपमा भित्रिसक्नु भएको थियो । उहाँले तामाङ भाषामा समाचार वाचन गर्ने र कार्यक्रम उत्पादन गरेर प्रस्तुत गर्ने कर्म लामो समय गर्नुभयो । स्वरमा बडो मिठासपन थियो । उहाँकै ठूली दिदीको छोरी चर्चित गायिका अञ्जु पन्त रहेछ ।
यसरी माइच्याङ, प्रदीपजी र मेरो आवाजमा ‘‘शौचालय निर्माण गरौं, वातावरण सफा राखौं’’ भन्ने सूचनालाई संवाद शैलीमा रेडियो सूचना तामाङ भाषामै तयार भयो । र, प्रसारण पनि गरायौं । आजभोलि पनि प्रसारण हुने गरेको छ । पाँचथरको केही तामाङ गाउँमा उक्त सूचनामा प्रयुक्त तामाङ शब्द ‘ब्लिजिरिक’ लाई लिएर मलाई जिस्काउँछन् पनि ।
सोही समयमा जिल्लाकै अर्को रेडियो इगल एफ.एम मा उर्गेन लो तामाङले ‘ह्याङ्ला ह्युल’ नामक तामाङ भाषामै रेडियो कार्यक्रम चलाउन थाल्नुभएको थियो। उहाँभन्दा पहिले सोही रेडियोमा पुष्पा स्याङ्तान तामाङ आवद्ध हुनुुहुन्थ्यो । पुष्पाको नेपाली भाषामा समाचार वाचन तिख्खर थियो । र, उक्त रेडियोको शुरूआती चरणमा भने विकेन्द्र वाइवा तामाङ पनि आवद्ध हुनुहुन्थ्यो । उहाँ प्राविधिकको भूमिकामा हुनुहुन्थ्यो ।
इगल एफ।एम।पछि प्रसारणमा आएको जिल्लाको अर्को रेडियो सिंहलीला एफ.एम मा पदमराज गोले आवद्ध हुनुभयो । उहाँलाई तामाङ भाषा बोलीचालीमा केही समस्या भएकोले उहाँबाट तामाङ भाषामा समाचार वा कार्यक्रम सञ्चालन भएन । पछि लक्षिमा योञ्जन तामाङले उक्त रेडियोमा ‘नमोत्तम श्री मिडिया ग्रुप प्रवास’ को सहयोगमा तामाङ भाषाको कार्यक्रम ‘सेमला काइरन’ र पाथिभरा मिडिया ग्रुप प्रवासको सहयोगमा ‘ह्याङ तामाङला ताम’ उत्पादन गरेर प्रसारण गर्नुभयो । दुवै कार्यक्रम पाँचथर र त्यस आसपासका जिल्लादेखि प्रवासी तामाङहरूले सर्वाधिक सुन्ने कार्यक्रम बन्यो ।
त्यसबेला चाहिँ यता सुम्हात्लुङ एफ।एम।मा मनिषा मोक्तान तामाङ समाचार वाचक भइसक्नु भएको थियो । उहाँसँगै शुक्रराज मोक्तान पनि तामाङ भाषामा समाचार वाचक बन्नुभयो । म भन्दा पत्रकारितामा झण्डै एक वर्ष जेठो सहरसिं थिङ तामाङ पनि सुम्हात्लुङ एफ।एम।को सम्वाददाता भइसक्नु भएको थियो । पछि लोकेन्द्र योञ्जन तामाङ पनि सम्वाददाताको रूपमा सुम्हात्लुङमै जोडिनुभयो । र, प्राविधिक तथा कार्यक्रम प्रस्तोताको रूपमा रूपन घिसिङ र कार्यक्रम प्रस्तोता तथा प्राविधिकको भूमिकामा पदमराज मोक्तान पनि पछि जोडिनुभयो । जुन सामुदायिक रेडियो हो ।
जिल्लामा तत् समयमा यी तीन वटा रेडियोमा गरी तामाङ समुदायबाट पत्रकारिता पेसामा आएकाहरू झण्डै १५ जनाको हाराहारीमा थियौं । यति ठूलो संख्यामा रहेपछि हामीले तामाङ सञ्चार समूह (हालको तामाङ पत्रकार संघ) को जिल्ला शाखा गठन गर्यौं । जिल्लाको पहिलो अध्यक्ष भएर समूहको नेतृत्व गर्ने अवसर साथीहरूले प्रदान गर्नुभयो । हाल संघको जिल्ला अध्यक्ष रामचन्द्र बम्जन तामाङ हुनुहुन्छ ।
यद्यपि, बाध्यताले धेरै साथीहरू पेसामा रहेको तीन–चार वर्षपछि लाखापाखा लाग्नुभयो । प्रदीपजी जिल्लाकै कुम्मायक गाउँपालिकाको शिक्षा अधिकृत हुनुभएको छ । सरिता नाना, लक्षिमा नाना, पुष्पाजी, लोकेन्द्रजी र वीरेन्द्रजी शिक्षण पेसामा हुनुहुन्छ । हालसम्म म, रामचन्द्र जी, उर्गेनजी र सहरसिंजी पत्रकारितामै छौं । पदमराजजी पनि आंशिक स्वास्थ्यकर्मी आंशिक पत्रकारिता क्षेत्रमा हुुनुहुन्छ ।
विकेन्द्रजी होटल व्यवसाय र पदमजी वैदेशिक रोजगार, मैच्याङ आङी बीमा क्षेत्रमा, मनिषाजी गृहस्थी जीवनमा र शुक्रराजजी घरव्यवहारमा व्यस्त हुनुहुन्छ । यही कारण, २०६८ साउन ८ गतेदेखि पान्थरको तीन रेडियोमा गुञ्जयमान भएको तामाङ स्वर २०७५ सालपछि इतिहास बनेको छ । तामाङ भाषामा अन्तिम समाचार वाचक लक्षिमा योञ्जन तामाङ (नाना) हुनुभयो । पाँचथर सहित तेह्रथुम र ताप्लेजुङका तामाङ समुदायले रेडियोबाट तामाङ स्वर सुन्न नपाएको दुई वर्ष नाघेको छ ।
आफ्नै लाग्ने रेडियोसँग अपनत्व केही घटेको होला । अहिले राजधानी काठमाडौंमा बसेर ‘२६ औं तामाङ प्रसारण दिवस’ मनाइरहँदा मन ‘टर्रो’ भएको छ । तैपनि, तामाङ प्रसारण दिवसको हार्दिक शुभकामना । आजभन्दा २६ वर्ष पहिले अर्थात् २०५१ साल भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषामा समाचार वाचन गर्नेदेखि उत्पादन गर्ने सबैप्रति सम्मान व्यक्त गर्दछु ।
(सामुदायिक रेडियो सुम्हात्लुङ एफएम १०४.२ मेगाहर्ज, पान्थरको पूर्व स्टेशन म्यानेजर तामाङको यो संस्मरणात्मक लेख देखापढी डटकमबाट लिइएको हो । )