Local Sandesh मंगलबार, असोज ६ २०८३
  • ट्रेण्डिङ :

अन्तु पर्यटकीय क्षेत्रमा होटल तथा पर्यटन व्यवसायीलाई आतिथ्य सत्कार तालिम, कोशी प्रदेश भरीका पर्यटन व्यवसायीको सहभागि

अन्तु पर्यटकीय क्षेत्रमा होटल तथा पर्यटन व्यवसायीलाई आतिथ्य सत्कार तालिम, कोशी प्रदेश भरीका पर्यटन व्यवसायीको सहभागि

  • सन्देश सम्बाददाता
  • आइतबार, असोज ४ २०८३


अन्तु पर्यटकीय क्षेत्रमा होटल तथा पर्यटन व्यवसायीलाई आतिथ्य सत्कार तालिम, कोशी प्रदेश भरीका पर्यटन व्यवसायीको सहभागि

अन्तु । होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशको संयोजनमा इलामको सूर्योदय नगरपालिकामा होटल तथा पर्यटन व्यवसायीका लागि ‘आतिथ्य सत्कार तालिम’ सुरु भएको छ।

नेपाल पर्यटन बोर्डको दिगो पर्यटन विकास आयोजनाअन्तर्गत सञ्चालन गरिएको तालिमको व्यवस्थापन अन्तु पर्यटन व्यवसायी संघले गरेको हो। पर्यटन क्षेत्रमा आबद्ध होटल तथा पर्यटन व्यवसायीको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यावसायिक तथा पर्यटकमैत्री बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

असोज ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाका पर्यटन व्यवसायीको सहभागिता रहेको छ। तालिममा पर्यटक तथा पाहुनालाई गरिने आतिथ्य सत्कार, सेवा प्रवाह, व्यवहार, पर्यटन व्यवसायमा आवश्यक व्यावसायिक सीप तथा गुणस्तरीय सेवाका विभिन्न विषयमा प्रशिक्षण दिइने जनाइएको छ।

होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष मडिन्द्रबहादुर कटुवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तेजबहादुर पुरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संयोजन संस्थाका उमेश दाहालले गरेका थिए।

उद्घाटन कार्यक्रममा सूर्योदय नगरपालिका–४ का वडाध्यक्ष शरण राई, नेपाल पर्यटन बोर्ड दिगो पर्यटन परियोजनाका अधिकृत राजेन्द्र खड्का, होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशका सल्लाहकार देवी गौतम, नाट्टा कोशी प्रदेशका अध्यक्ष पुण्य भट्टराई, नेपाल पर्यटन बोर्डका निवर्तमान बोर्ड सदस्य कृष्ण साह, अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे तथा होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिलकुमार सुवेदीलगायतको सहभागिता थियो।

कार्यक्रममा वक्ताहरूले पर्यटन व्यवसायमा पर्यटकको अनुभव र सन्तुष्टि महत्वपूर्ण हुने भएकाले स्थानीय व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम आवश्यक रहेको बताएका थिए। तालिमले इलामसँगै कोशी प्रदेशको पर्यटन सेवामा व्यावसायिकता, गुणस्तर र पर्यटकमैत्री सेवा प्रवाह बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार