इलाम । कोशी प्रदेशकी पर्यटन, वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बुले वन, वातावरण र पर्यटन क्षेत्रबीच प्रभावकारी समन्वय गर्दै प्रदेशमा रहेका प्राकृतिक तथा पर्यटकीय सम्भावनाको उपयोगका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताएकी छन्।
डिभिजन वन कार्यालय इलाममा आयोजित स्वागत तथा छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री लिम्बुले वन क्षेत्रसँग जोडिएको पर्यटन आयआर्जन वृद्धि गर्ने महत्वपूर्ण सम्भावना भएको बताइन्। वनभित्र रहेका पर्यटकीय सम्भावना भएका स्थान तथा प्राकृतिक रूपमा आकर्षक क्षेत्रहरूको पहिचान गरी तिनको संरक्षण र विकासका लागि आवश्यक गतिविधि अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।
स्थानीय समुदाय, सामुदायिक वन, डिभिजन वन कार्यालय तथा सम्बन्धित निकायबीच समन्वय र संवादमार्फत यस्ता क्षेत्रलाई पर्यटकीय गन्तव्य तथा स्थानीय आम्दानीको स्रोतका रूपमा विकास गर्न सकिने मन्त्री लिम्बुको भनाइ थियो। वन, वातावरण र पर्यटन क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै उपलब्ध सम्भावनाको अधिकतम उपयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताइन्।
मन्त्री लिम्बुले डिभिजन वन कार्यालय इलामले कार्यसम्पादनका क्रममा भोग्दै आएका समस्या र चुनौती समाधानका लागि मन्त्रालय तयार रहेको बताइन्। विभिन्न जिल्लाबाट प्राप्त सुझाव तथा समस्यालाई सम्बोधन गर्दै आवश्यक कानुनी, नीतिगत र व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने उनको भनाइ थियो।
वनसम्बन्धी केही ऐन संशोधन गर्नुपर्ने तथा नियमावलीमा सुधार आवश्यक रहेको विषय कोशी प्रदेशका विभिन्न जिल्लाबाट उठिरहेको उल्लेख गर्दै मन्त्री लिम्बुले गैरकाष्ठ वन पैदावार, काठ उद्योग, चिराइतो तथा अन्य जडीबुटीजन्य वस्तुको व्यवस्थापन र निकासीमा देखिएका समस्या समाधानका लागि पहल गरिने बताइन्।
जडीबुटीसम्बन्धी नियमावलीमा रहेको अस्पष्टताका कारण उद्योग तथा प्रशोधन केन्द्र स्थापना गर्न कठिनाइ भइरहेको भन्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उनले कानुनी तथा नीतिगत अस्पष्टतालाई आवश्यक सुधारमार्फत सम्बोधन गर्न प्रदेश मन्त्रालयले विशेष जोड दिने बताइन्।
इलामबाट चुरे क्षेत्रमा काम गर्न कठिनाइ भइरहेको, जनशक्तिको अभाव रहेको तथा वन क्षेत्र र निजी जग्गाबीचको सीमाना स्पष्ट नभएको विषय उठेको बताउँदै मन्त्री लिम्बुले मन्त्रालयको क्षमता र उपलब्ध स्रोतसाधनअनुसार समस्या समाधानका लागि काम गरिने बताइन्।
कर्मचारी अभावको विषय पनि गम्भीर रूपमा उठिरहेको उल्लेख गर्दै उनले दरबन्दी भए पनि आवश्यक कर्मचारी उपलब्ध नभएको अवस्था रहेको जानकारी दिइन्। यस सम्बन्धमा संगठन तथा व्यवस्थापन सर्वेक्षणअन्तर्गत आवश्यक प्रक्रिया अगाडि बढाइएको र सम्बन्धित फाइल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको उनले बताइन्।
पहिले पठाइएका विवरण र वर्तमान अवस्थाबीच कुनै परिवर्तन वा छुट भएका विषय भए डिभिजन वन कार्यालय इलामलाई आवश्यक विवरण यथाशीघ्र पठाउन पनि मन्त्री लिम्बुले निर्देशन दिइन्।
इलाम जिल्लाका विभिन्न सब–डिभिजन वन कार्यालयका भवन निर्माण भए पनि केही स्थानमा निर्माण कार्य अझै अधुरो रहेको विषय उठेको उल्लेख गर्दै उनले बाँकी काम कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयस्तरबाट पहल गरिने बताइन्। हाल बजेटको सीमितता रहे पनि उपलब्ध स्रोतसाधनभित्र सम्भव हुने कामका लागि आवश्यक प्रयास गरिने उनको धारणा थियो।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सोममाया राई ‘सिन्धु’को आतिथ्यता रहेको थियो।
डिभिजन वन कार्यालय इलामका प्रमुख उत्सव थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयका वन अधिकृत सोमेस दासले स्वागत मन्तव्य राखेका थिए भने प्रशासन प्रमुख लिला बिष्टले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा कार्यालय प्रमुख थापाले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रगति तथा चालु आर्थिक वर्षका लागि तय गरिएका वार्षिक कार्यक्रमबारे जानकारी गराएका थिए।
सो अवसरमा पर्यटन, वन संरक्षण तथा जैविक विविधताको प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो। केचना–कञ्चनजंघा पर्यटन विकास समितिका अध्यक्ष नरेन्द्र बुढाथोकी ‘रोशन’, समितिका निवर्तमान बोर्ड सदस्य सुजन तिमसिना तथा रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक राम रिमाललगायतले इलामको पर्यटन विकास तथा जैविक विविधता संरक्षणका लागि आवश्यक पहल र सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागीहरूले प्राकृतिक सम्पदा, वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै त्यसलाई दिगो पर्यटन विकाससँग जोड्नुपर्नेमा जोड दिएका थिए। इलाममा रहेका प्राकृतिक तथा पर्यटकीय सम्भावनाको उचित संरक्षण र प्रवर्द्धनका लागि सरकार, स्थानीय समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सहभागीहरूको धारणा थियो।