इलाम । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले पुराना राजनीतिक दल र तिनको नेतृत्वबाट अब रूपान्तरण सम्भव नभएको दाबी गर्दै नयाँ राजनीतिक यात्रामा जोडिन आह्वान गरेका छन्। श्रम संस्कृति पार्टीद्वारा सञ्चालित ‘केचना कवल–सगरमाथा हातेमालो’ कार्यक्रम इलामको सन्दकपुर पुगेका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै किराँतीले पुराना दलहरूले इतिहासमा गरेको योगदानको सम्मान गर्दै अब नयाँ राजनीतिक विकल्प निर्माणमा अघि बढ्नुपर्ने बताएका हुन्।
उनले पुराना दलका नेतृत्वमा बढ्दै गएको अहंकार, लामो समयसम्म पद र नेतृत्वमा रहिरहने प्रवृत्ति तथा सिद्धान्तमाथि नै विचलन देखिन थालेको दाबी गरे। ‘पुराना पार्टीहरूले इतिहासमा काम नगरेका होइनन्, गरेकै हुन्। इतिहासमा गरेको योगदान र गणतन्त्र ल्याएसम्मको भूमिकालाई हामी सम्मान गर्छौं,’ किराँतीले भने, ‘तर नेतृत्वमा म बाँचुन्जेल यही कुर्सीमा रहनुपर्छ भन्ने कुर्सी मोह देखियो। त्यसैविरुद्ध जनताको विद्रोह हो।’
उनले आफूलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रवृत्तिका कारण नागरिकमा असन्तुष्टि बढेको दाबी गर्दै पुराना दलमा रहेका नेता–कार्यकर्तालाई नयाँ राजनीतिक यात्रामा सहभागी हुन आग्रह गरे। ‘मबिना पृथ्वी घुम्दैन भन्ने नेताहरूमा जसरी अहंकार पैदा भयो, त्यसको विरुद्धमा नागरिकले विद्रोह गरे,’ उनले भने, ‘अहिले पार्टीका नेताहरूले सिद्धान्तमाथि नै हिंसा गरिरहेका छन्। त्यसैले त्यस्ता पार्टी र नेतासँग छिटो विद्रोह गरेर आउनुहोस्।’
किराँतीले श्रम संस्कृति पार्टीलाई आफूहरूले निर्माण गर्न खोजेको नयाँ राजनीतिक यात्राको केन्द्रका रूपमा प्रस्तुत गर्दै पुराना राजनीतिक शक्तिसँगको सम्बन्ध विच्छेदमा ढिलाइ नगर्न आग्रह गरे। ‘पुरानो साधन चढेर नयाँ साध्यमा पुगिँदैन, गन्तव्यमा पुगिँदैन,’ उनले भने, ‘श्रम संस्कृति पार्टीलाई तपाईं–हामी मिलेर बनाउनुपर्छ।’
एमालेका पूर्व जिल्ला सचिव गुरुङसहित नेता–कार्यकर्ता प्रवेश
यसैबीच, कार्यक्रममा नेकपा (एमाले) का पूर्व इलाम जिल्ला कमिटी सचिव तथा हाल कोशी प्रदेश कमिटी सदस्य उमेश गुरुङसहित विभिन्न राजनीतिक दल परित्याग गरेका दर्जनौँ नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। पार्टीले नवप्रवेशी नेता–कार्यकर्तालाई कार्यक्रममा स्वागत गरेको जनाएको छ। गुरुङसहितको प्रवेशलाई श्रम संस्कृति पार्टीले इलाममा संगठन विस्तारका क्रममा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा लिएको छ। पार्टी प्रवेश गर्नेहरूले मुलुकमा वैकल्पिक तथा श्रममुखी राजनीतिको आवश्यकता महसुस गर्दै श्रम संस्कृति पार्टी रोजेको बताएका छन्।
श्रम संस्कृति पार्टीले कोशी प्रदेशको तराईदेखि हिमालसम्म राजनीतिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित ‘केचना कवल–सगरमाथा हातेमालो’ अभियान सञ्चालन गरिरहेको छ। पार्टीका अनुसार अभियानको उद्देश्य विभिन्न भूगोल, समुदाय र संस्कृतिबीच सम्बन्ध बलियो बनाउँदै जनस्तरसम्म संवाद विस्तार गर्नु हो।