इलाम । ताप्लेजुङ र पाँचथरको सीमावर्ती पर्यटकीय क्षेत्र तिम्बुङ पोखरीमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिताको पुरुषतर्फ इलामका सञ्जय राई (समीर) र महिलातर्फ डोल्पाकी कमला क्षेत्रीले उपाधि हासिल गरेका छन् । २१ किलोमिटर लामो उच्च पहाडी ट्रेल रन सञ्जयले १ घण्टा २४ मिनेटमा पूरा गर्दै पुरुषतर्फ प्रथम स्थान हासिल गरेका हुन्।
सोलुखुम्बुका अर्जुन कुलुङ राई दोस्रो तथा ताप्लेजुङको मैवाखोलाका फुर्वालाक्पा शेर्पा तेस्रो भए। महिलातर्फ डोल्पाकी कमला क्षेत्रीले १ घण्टा ४६ मिनेटमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितिन्। पाँचथरकी अन्जना लिम्बू दोस्रो भइन्। स्थानीय विधातर्फ भरत बानियाँ प्रथम भएका छन्।
प्रतियोगितामा ५२ जना धावक सहभागी थिए। पुरुष तथा महिलातर्फ प्रथम हुने खेलाडीले जनही ८३ हजार ५२५ रुपैयाँ, दोस्रो हुनेले जनही ६३ हजार ५२५ रुपैयाँ र पुरुषतर्फ तेस्रो हुने खेलाडीले ४३ हजार ५२५ रुपैयाँ पुरस्कार प्राप्त गरे। स्थानीय विधातर्फ प्रथम भएका भरत बानियाँले ३३ हजार ५२५ रुपैयाँ प्राप्त गरे। विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको आयोजक तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिए।
समुद्री सतहबाट करिब ४ हजार ३५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रको पर्यटन, जैविक विविधता र स्थानीय संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। ट्रेल रनसँगै सहभागी तथा पर्यटकका लागि केञ्जो फूलको अवलोकन, याक–चौंरी प्रदर्शनी र केलाङ नृत्यलगायत सांस्कृतिक गतिविधिसमेत आयोजना गरिएको आयोजकले जनाएको छ।
उच्च पहाडी भूगोलमा साहसिक खेलसँग पर्यटन र स्थानीय संस्कृतिलाई जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले तिम्बुङ पोखरीलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न योगदान पुग्ने आयोजकको विश्वास छ।