इलाम (सन्दकपुर) । एकिकृत रुपमा पर्यटन प्रवद्र्धनका लागि पूर्वी पहाडी क्षेत्रका स्थानीय तह एकजुट हुने भएका छन् । पूर्वी पहाडि क्षेत्र इलाम र पाँचथर स्थानीय बिच एकिकृत रुपमा पर्यटन प्रवद्र्धन गर्न स्थानीय तह एकजुट हुँदै गएका हुन् । एकिृकत रुपमा पर्यटन प्रवद्र्धन र विकासका लागि स्थानीय तहबिच समन्वय गर्ने काम कोशी प्रदेश सरकारको पर्यटन कार्यालय काँकरभिट्टाले गर्दै आएको छ ।
झापादेखि ताप्लेजुङ्गको कंचनजंघासम्म एकिृकत रुपमा पर्यटन प्रवद्र्धन गर्न पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा इलामको सन्दकपुरमा सिमापार पर्यटन संभावना र चुनौतीका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणा गरि कार्यान्वयन गरिरहेको अवस्थामा पर्यटन प्रवद्र्धन र विकासका आयोजनाहरु संचालनको सुझाव संकलन गर्ने उदेश्यले स्थानीय तहसँग अन्तरक्रिाया शुरुवात भएको पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए । पर्यटन कार्यालय काँकरभिट्टाको कार्यक्षेत्र रहेको झापा, इलाम, पाँचथर, झापा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने योजना रहेको खतिवडाले बताए ।
पर्यटन कार्यालय काँकरभिट्टाले प्रथम चरणमा भारतसँग सीमा जोडिएको इलामको माईजोगमाई, सन्दकपुर गाउँपालिका, पाँचथरको फालेलुङ गाउँपालिका, इलामकै इलाम नगरपालिका र सुर्योदय नगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा सिमापार पर्यटन संभावना र चुनौतीका बिषयमा अन्तरक्रिया गरेको हो । इलामका अन्य स्थानीय तहसँग दोस्रो चरणमा अन्तरक्रिया गर्ने योजना रहेको पर्यटन कार्यालयले जानकारी दिएको छ ।
इलामको सन्दकपुर गाउँपालिकामा भएको सिमापार पर्यटन संभावना र चुनौतीका बारेमा प्रथम चरणको कार्यक्रम सन्दकपुर गाउँपालिकामा सम्पन्न भएको हो । सिमापार पर्यटन चुनौती र अवसर बारेमा पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सामाजिक, आर्थिक, सास्कृतिक हिसाबले एउटै रहेको भारतका विभिन्न राज्यबाट नेपाल आउने पर्यटकहरुबाट लाभ लिन सकिने बताए । भारतीय पर्यटहरुको आकर्षण नेपालमा भएपनि एकिकृत रुपमा पर्यटन विकासको काम हुन नभएकाले अन्तरपालिकाको समन्वय गरेर एकिकृत पर्यटन पूर्वाधार विकास र प्रवद्र्धनको काम गर्नुपर्नेमा उनले जोड दिए । उनले भारतीय पर्यटकहरुको आकर्षण पहाडी क्षेत्रमा भएको पनी जानकारी दिए । पर्यटकहरुलाई आकर्षण गर्न हरेक पालिकाले ब्राण्डको विकास गर्नुपर्ने उनले बताए । इलामको सूर्योदय नगरपालिकामा सुर्योदय पर्यटन, सन्दकपुर गाउँपालिकाको रेडपाण्डा पर्यटन र पाँचथरको फालेलुङ्ग गाउँपालिकाको चौरी पर्यटन ब्राण्डको रुपमा स्थापित भएकाले अन्य पालिकाले पनि आफ्नो छुट्टै ब्राण्ड बनाउनुपर्नेमा उनले जोड दिए । भारतको बढ्दो जनसंख्या र आर्थिक विकासबाट नेपालले पर्यटन क्षेत्रबाट लाभ लिने भएकाले त्यसको लाभ लिने बिषयमा सबै पालिका एक हुनुपर्नेमा जोड दिए ।
पर्यटन कार्यालय झापका प्रमुख छविलाल खतिवडाको अध्यक्षता इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आथित्यता रहेको अन्तरक्रियामा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए । पर्यटन विकासमा सन्दकपुर गाउँपालिकाले प्रवद्र्धनका काम गर्दै आएकाले आगामी दिनमा सबै स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको अध्यक्ष गुरुङ्गले जानकारी दिए । पर्यटन प्रवद्र्धनका लागि ब्रोसर, फोटोबुक प्रकाशनसँगै गाउँपालिका भित्र रहेका पर्यटकीय गन्तव्यहरुलाई उजागर गर्न विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।
उनले भने–हामीले गाउँपालिका भित्र रहेका १५ पर्यटकीय जोड्ने रेडपाण्डा पदमार्गलाई संचालन गर्न रेडपाण्डा महोत्सवको आयोजना गरिएको र पर्यटनका हरेक गतिविधि गर्न पर्यटन पात्रो निर्माण गरि कार्यान्वयन चरणमा रहेको छ ।’ पर्यटनको बिकास सबैको समन्वयबाट मात्रै हुने भएकाले इलामका सबै स्थानीय तहबिच सहकार्य गर्न तयार रहेको उनले बताए ।
अन्तरक्रियामा बोल्दै इलाम नगरपालिका प्रमुख केदार थापाले सन्दकपुरको पर्यटन प्रवद्र्धन र विकासबाट मात्रै इलामको अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए । एकिृकत रुपमा पर्यटन प्रवद्र्धनका लागि इलाम नगरपालिका तयार रहेकाले सबैसँगै सहकार्य गर्ने प्रमुख थापाले बताए । उनले भने–‘इलामको अर्थतन्त्रको विकास कृषि र पर्यटन रहेकाले सबैले अब पर्यटन मैत्री विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए । केचनादेखि कंचनजंघासम्मका स्थानीय तहलाई एकिकृत पर्यटन प्रवद्र्धन र विकासका लागि संयोजन गर्ने काम पर्यटन कार्यालय काँकरभिट्टाले लिनुपर्नेमा प्रमुख थापाको जोड थियो । सबैपालीकाहरुलाई संयोजन गर्ने सरकारी संरचनाको अभावले पनि सिमापार पर्यटनको विकासमा धक्का लागेको उनले बताए ।
अन्तरक्रियामा सुर्योदय नगरपालिका उप–प्रमुख दुर्गा बरालले पर्यटकीय गन्तव्यहरुको विकास गर्न नसक्दा आन्तरिक पर्यटकहरु पनि भारतको दार्जिलिङ्ग घुम्न जाने गरेको बताए । उने भने– ‘ सुर्योदय नगरपालिका भ्रमणका आएका आन्तरिक पर्यटकहरुलाई पनि हामीले दार्जिलिङ्ग जानबाट रोक्न सकेका छैनौँ । उनी भन्छन्–‘पर्यटकहरुलाई इलाममै घुम्ने वातावरण बनाउन सुर्योदय नगरपालिका पर्यटकीय गन्तव्यहरुमा प्रवद्र्धन र पूर्वाधार विकासको काम तिब्रताका साथ हुँदै आएका छौँ । दार्जिलिङ्गमा पोइण्टमा आधारित पर्यटन प्रवद्र्धन र प्रचारप्रसार हुन्छ यहाँ पनि हामीले सोहि अभ्यास गर्न योजना बनाएर लागि परेका छौँ ।’
पर्यटनको विकासका लागि यातायात मजदुर र यातायात व्यवसायीहरुको योगदान हुने भएकाले प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए । मेची कोरिडोरको पर्यटन विकासका लागि समन्वय गर्ने काम पर्यटन कार्यालय काँकरभिट्टाले गर्नुपर्नेमा उनले जोड दिए । अन्तरक्रियामा माईजोगमाई गाउँपालिका इलामका अध्यक्ष कुशबहादूर थेवेले पर्यटन विकासका लागि सडक, खानेपानीसँगै अन्य पूर्वाधार निर्माणको आवश्यकता रहेको बताए ।
उनले भने–‘सडक स्तरउन्नती भएपछि पर्यटकको संख्या ग्रामीण पर्यटकस्थलमा बढ्ने भएकाले पूर्वाधार विकासमा नै ध्यान दिनुपर्छ ।’ अन्तरक्रियामा फालेलुङ्ग गाउँपालिकाका अध्यक्ष विरबिक्रम थाम्सुहाङ्गले पर्यटन क्षेत्रको एकिकृत विकासका लागि हामी सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । सन्दकपुरबाट फालेलुङ्ग क्षेत्रको चारराते, फालोट, तीनसिमना लगायतका पर्यटकीय गन्तव्यको विकासमा सहन्वय र सहकार्यको आवश्यकता रहेको बताए । पर्यटकीय गतिविधि र प्रवद्र्धनका लागि गाउँपालिकाले सधै एक भएर लाग्ने बताए ।
अन्तरक्रियामा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को निर्देशक समितिका सदस्य लिला भट्टराईले पर्यटकहरुको सेवा सुविधाका लागि पदमार्गमा साइनिङ्ग बोर्डहरुको इलामका पर्यटकीय गन्तव्यहरुमा निर्माण गर्नुपर्नेमा जोड दिइन् । इलामका पर्यटकीय गन्तव्यहरुमा साइनिङ्ग बोर्डहरु निर्माण गरि जडान गर्न अति आवश्यक रहेको उनले बताइन् । उनले भनिन्–‘पर्यटकीय गन्तव्यको प्रचारप्रसारले आन्तरिक र भारतीय पर्यटकहरुको आवागमन बढेको छ, अब उनीहरुका लागि सुविधा थप्न सबै एकजुट हुनुपर्नेछ ।’ अन्तरिक्रियामा होमस्टे महासंघका प्रदेश सचिव मञ्जिल देवान, सन्दकपुर अध्यक्ष जीवन सिवाले सबै एक भएर मात्रै पर्यटन प्रवद्र्धन विकास हुने बताए । अन्तरक्रियामा सहभागि दिपज्योती युवा क्लबका इलाम संयोजक राम रिमालले झापादेखि कंचनजंघासम्मको सीमा क्षेत्रको पर्यटन विकास गर्न त्यहाँको प्राकृतिक सुन्दरता, वनजंगलको सुरक्षा र वृद्धि गर्नुपर्नेमा जोड दिए । सीमा क्षेत्रमा पर्यटनको संभावना अधिक छ उनले भने–‘हामीले प्रकृतिको रक्षा, सस्कृतिको संरक्षण गरि पर्यटहरु भित्र्याउन सक्छौँ ।’ सरकारी र गैरसरकारी निकायले अब पर्यटकहरु आकर्षण गर्न व्यवस्थापकीय क्षेत्रमा ध्यान दिनुपर्नेमा रिमालले जोड दिए । अन्तरक्रियामा बोल्दै सन्दकपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सनम राईले सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सन्दकपुर गाउँपालिकाले अन्तरपालिकाहरुसँग समन्वय गर्दै आएकाले सबै त्यसलाई अझ मजबुत गर्दै लाने बताए । सीमा क्षेत्रको पर्यटन विकास लागि पूर्वाधार निर्माणका काम पुरा गर्न गाउँपालिका लागि परेको बताए ।
अन्तरक्रियामा बोल्दै पर्यटन क्षेत्रमा क्रियासिल पत्रकार सुजन तिमसिनाले झापाको काँकरभिट्टाबाट ताप्लेजुङ्गको कंचनजंघासम्मको नेपाल भारत सीमा क्षेत्रको भु–भाग पर्यटनको संभावना भएको क्षेत्र भएकाले आगामी दिनमा सरकारले समुदायमा आधारित वनजंगल संरक्षण र पर्यटन प्रवद्र्धनको काम गर्नुपर्नेमा जोड दिए । उनी भन्छन्–‘सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आफ्नो जिविकोपार्जनको माध्यम पर्यटन बनाउन प्रशस्त आधार भएपनि राज्यले उनीहरुलाई तालिम र अन्य सिप हस्तान्तरणका कार्यक्रम संचालन गर्नुपर्छ ।’ अन्तरक्रियामा पर्यटन सुचना केन्द्र पशुपतिनगरकी कर्मचारी रेस्मीता रिजालले पशुपतिनगर नाकाबाट नेपाल भित्रने पर्यटकहरु धेरै भारतीय रहेको जानकारी दिइन् ।
पर्यटक प्रहरी कार्यालय झापाका प्रमुख अमृतकुमार बस्नेतले सीमा क्षेत्रबाट भित्रने पर्यटकहरुलाई दिइने पर्यटकस्थल सम्बन्धि र अन्य जानकारीमुलक कुनै सामग्री नभएकाले समस्या भएको बताए । उनले भने–‘ नेपाल भित्रने पर्यटकहरुले पर्यटकीय गन्तव्यहरु र त्यहाँ पुग्न लाग्ने भाडा, अन्य सुविधाका बारेमा जानकारी लिन्छन् तर हामीसँग कुनै जानकारी नहुँदा समस्या छ । अन्तरक्रियामा सीमा क्षेत्रको पर्यटन विकासमा क्रियासिल नमस्ते कंचनजंघा पर्यापर्यटन संस्थाका उपाध्यक्ष मिङ्युर शेर्पाले इलाम र पाँचथरको सीमा क्षेत्र जोड्ने पूर्वाधारको स्तरउन्नतीको काम गर्नुपर्नेमा जोड दिए । त्यसैगरी सन्दकपुर डाँडामा पर्यटन व्यवसाय गर्दै आएका शेर्पा च्यालेट होटलका संचालक रिञ्जि शेर्पाले नेपालको भु–भाग भएर भारतीय पर्यटकहरु आउने क्रम बढेकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
अन्तरक्रियाको सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले समापन गरेका थिए । कार्यक्रमको समापन गर्दै उनले भने–‘ इलामको पर्यटन विकासका लागि सबै स्थानीयतहरुबिच समन्वय र सहकार्य आवश्यक भएकाले सन्दकपुर गाउँपालिका तयार रहेको छ ।’
थप तस्बिरहरु :