सन्दकपुर (माईपोखरी ) । सन्दकपुर गाउँपालिका–१ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव शुरु भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवर्द्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।
कात्तिक २६ र २७ मा सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दू, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चरण समेत गर्ने आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताए । आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङ राईको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले गरेका थिए ।
श्री माईपोखरी त्रि–धार्मिक महायज्ञ आयोजक समितिको आयोजना र सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा महोत्सवको आयोजना भएको हो । माईपोखरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बहुधार्मिक महोत्सव आयोजना गरिएको हो ”, महोत्सवको औचित्य बारे जानकारी दिँदै ओयोजक समतिकिा नेत्र रिजालले भने, “महोत्सवमा धार्मिक प्रवचनका साथै विभिन्न क्षेत्रको दृश्यावलोकन समेत गराइनेछ ।”
महोत्सवमा माईपोखरी दर्शन तथा अवलोकन, माईपोखरी परिसरका सत्यधुनी पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन तथा हिन्दू, बौद्ध र किरात धर्मको धार्मिक प्रवचन सुन्न पाइने आयोजक समितिका नेत्र पराजुलीले बताए । पराजुलीले उद्घाटन सत्रमा उपस्थितलाई स्वागत गरेका थिए । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, भेशभूषा प्रदर्शन एवं जातीय सांस्कृतिक परिकार प्रदर्शन गरिने योजना आयोजक समितिको छ । उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि माईपोखरी बहुधार्मिक महोत्सव एक महत्वपूर्ण कार्यक्रम हुने बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले माईपोखरी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको र आवश्यक व्यवस्थापनको काममा गाउँपालिकाले सहजिकरण गर्ने बताए । उनले माईपोखरीको व्यवस्थीत विकासका लागि छुट्टै समितिको व्यवस्था गरिएको र गठनको प्रक्रियामा रहेको बताए । कार्यक्रममा सन्दकपुर वडा नम्बर १ का अध्यक्ष रहरकुमार राईले माइपोखरीको महत्व विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।
माईपोखरी आउने पर्यटकले स्थानीय उत्पादन फूल, आलु, मूला, अर्गानिक चिया, तरकारी र खाध्य सामग्रीको परिकारहरु खान पाइने भएकाले आर्थिक विकासको मेरुदण्ड समेत हुने आयोजक समितिका देबेन्द्र सुवेदीले बताए । कार्यक्रममा केचना कंचनजंघा पर्यटन विकास समितिका संचालक समिति सदस्य सुजन तिमसिनाले सन्दकपुर गाउँपालिका भित्र रहेका सम्पदाहरुका माध्यमबाट पर्यटन प्रवद्र्धनको काम भएमा आर्थिक विकासको मेरुदण्ड हुने बताए ।
महोत्सवमा आन्तरिक र बाह्य गरी ५० हजार पर्यटक र भक्तजनलाई माईपोखरी भ्रमण गराउने आयोजक समितिका सचिव दिनेश सुवेदीले बताए । सुवेदीले उद्घाटन सत्रको कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा राजनितिक तथा समाजिक व्यक्ति श्याम राईले त्रि–धार्मिकस्थल माईपोखरीको बिषयमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा भालुकटेरी सामुदायीक वनकी अध्यक्ष रमिला बुर्जाले धर्म र सस्कृतिको संरक्षणमा सबै एक हुनुपर्ने बताइन् । कार्यक्रममा समाजसेवी हरिकृष्ण खतिवडाले धर्म र संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
नौवटा कुन रहेको माईपोखरीमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माईपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । बाक्लो कुहिरोले छाडेर आकाश खुल्नसाथ माईपोखरी निकै मनमोहक देखिन्छ । माईपोखरी पुग्ने पर्यटकलाई खान र बस्नका लागि होमस्टेको व्यवस्था छ ।
थप तस्बिरहरु :