सन्दकपुर (माइमझुवा) । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रहेको इलामको सन्दकपुर गाउँपालिकामा ४५ औँ पर्यटन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सन्दकपुर गाउँपालिका इलामको आयोजनामा ४५ औँ पर्यटन दिवसको अवसरमा सन्दकपुरका पर्यटन प्रवद्र्धनका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सन्दकपुर २ का वडाअध्यक्ष सनम राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आथित्यता रहेको थियो भने सन्दकपुर २ का वडासदस्य अमृत राईले उपस्थित सबैमा स्वागत गरेका थिए । अन्तरक्रियामा केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमसिनाले सन्दकपुरको पर्यटन प्रवद्र्धनमा गाउँपालिकाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा समेटिएको पर्यटन क्यालेन्डर निर्माणबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सन्दकपुर गाउँपालिका भित्र रहेका २० वटा बढी पर्यटकीय गन्तव्यहरुमा प्रवद्र्धनका काम गर्नुपर्नेमा औल्याइएको छ । सन्दकपुर, छिन्टापु, ढापपोखरी, जौबारी, माईपोखरी र रेडपाण्डा पदमार्गलाई केन्द्रमा राखेर त्यस नजिक रहेका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्नुपर्ने कार्यपत्रमा उल्लखे छ ।
कार्यपत्रमा सन्दकपुरमा आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षण रहेकाले पर्यटन सुचना केन्द्र निर्माण, सुचना केन्द्रबाट पर्यटकीय गन्तव्यमा चल्ने सवारीसाधनको भाडादर निर्धारण, गाउँपालिकामा पर्यटन शाखा निर्माण गरि फोकलपर्सन तोकिनुपर्ने लगायतका काम गर्नुपर्ने बोर्ड सदस्य तिमिसनाले औल्याएका थिए । पर्यटनका माध्यमबाट आर्थिक विकास गर्न समुदायलाई अग्रसर बनाउनुपर्नेमा जोड दिँदै तिमसिनाले नेपाल पर्यटन बोर्ड लगायत अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिने संस्थाहरुको समन्वय गाउँपालिकाले गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलाराम गुरुङ्गले पर्यटनका माध्यमबाट आर्थिक विकास गर्ने गाउँपालिकाको लक्ष्य पुरा समुदाय एक भएर लाग्नु आग्रह गरे । उने भने– समुदायको सक्रियतामा मात्रै समग्र पर्यटकीय गन्तव्यहरुको विकास हुने भएकाले सबै सक्रिय भएर लाग्नुपर्ने र समुदायको प्रयासलाई गाउँपालिकाले साथ दिने बताए । कार्यक्रममा सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले कृषि, पशुपालनपछि पर्यटन क्षेत्र नै आम्दानीको श्रोत हुने भएकाले सन्दकपुर गाउँपालिकाले पर्यटन विकासलाई प्राथमिकता दिएको बताए । उनले भने– पर्यटन क्षेत्रमा पुग्ने सडक, पदमार्ग र अन्य पूर्वाधार निर्माणमा गाउँपालिका निरन्तर लाग्छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत यादव राउतले सबै एक भइ योजना बनाएर लागेमा पर्यटन क्षेत्रको विकासमा पनि सफल हुने बताए ।
कार्यक्रममा पर्यटन व्यवसायी कमल गुरुङ्गले पर्यटन क्षेत्रमा युवाहरुको आकर्षण रहेकाले उनीहरुलाई गाउँपालिकाले सहयोग गर्नुपर्ने बताए । उनले भने– सन्दकपुरमा पर्यटकहरुको आकर्षण रहेको छ, हामीले अति आवश्यक पूर्वाधार निर्माण गयौँ र स्वागत सत्कार गरेमा पर्यटन क्षेत्रमा आम्दानी राम्रो रहेको छ । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका सन्दकपुर गाउँपालिका सचिव श्याम राईले गाउँपालिकाले पालिका भित्रका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन क्यालेल्डर निर्माण गर्ने योजना राम्रो भएको बताए । उनले भने– हामीले व्यवस्थित पर्यटन प्रवद्र्धनका लागि ठोस योजना बनाएर क्यालेण्डर विकास गरि कार्यान्वयन गर्दै लगेमा हामी आर्थिक विकासको फड्को मार्न सक्छौँ । सन्दकपुर गाउँपालिका वडा नम्बर २ का सचिव हेमराज कार्कीले संचालन गरेको कार्यक्रममा वडाअध्यक्ष सनम राईले पर्यटनको प्रवद्र्धनका लागि प्रवद्र्धनका क्षेत्रमा निरन्तर वडाबाट बजेट बिनियोजन गर्ने बताए । सन्दकपुर वडा नम्बर २ ले पर्यटन क्षेत्रको विकासका लागि नेपाल माउण्टेन एकाडेमीको सहकार्यमा ७ दिन पोटर गाइड तालिम समेत आयोजना गरेका थियो । कार्यक्रममा पर्यटन व्यवसायी दावा छेतेन सेर्पा, पुण्य ढकाल, फर्सुराम गुरुङ्ग, रतन गुरुङ्ग, धनबहादूर मगर लगायतले सन्दकपुरको पर्यटन विकासका लागि प्राकृतिक वातावरण जोगाउनुपर्नेमा जोड दिएका थिए ।