विदाको समयमा घुम्न कहाँ जाने रु सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय र रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले इलाम नगरपालिका– ३ पुवामझुवाकाे दिदीबहिनी झरना धेरैको रोजाइमा पर्ने गरेको छ ।

यो झरना जान लामो बाटो हिँड्नु नपर्ने र मोटरबाटै पुगेर फर्किन सकिन्छ । यसैले पनि यो पर्यटकीय जिल्लाभित्रै पर्यटकका लागि भ्रमण क्षेत्र बनेको छ । एकै ठाउँ दुई वटा झरना, उत्रै र उस्तै, अनि सदाबहार झरिरहने । यसैले पनि धेरैको मन चोर्छ । जिल्लाकै अर्को झरना टोड्के झरना सदरमुकामबाट टाढा छ । केही विकट र कच्ची बाटो । त्यही झरना हेर्ने धोको पूरा गर्न पनि कतिपय पर्यटक दिदीबहिनी झरना पुग्छन् । 
दिदीबहिनी झरना पुग्न सरमुकामबाट करिब २० किमी मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किमी कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ ।

पहिले भिर मौरी पाईने ठाउँ भएकाले महभीर नामाकरण भएको र नजिकै दुई वटा झरना भएको हुँदा यसलाई महभीरको दिदिबहिनी झरना नामाकरण गरिएको स्थानीय बताउँछन । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृष्यावलोकनले पर्यटकलाई आकर्षित बनाउँछ ।


तस्बिर : भक्त गुरुङ