Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूरमा साइकल पर्यटक (फोटो फिचर)

सन्दकपूरमा साइकल पर्यटक (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • शनिबार, जेष्ठ १५ २०७८


सन्दकपूरमा साइकल पर्यटक (फोटो फिचर)

सन्दकपूर । विश्वका हजारौँ पर्यटक पुग्ने सन्दकपूरमा हरेक वर्ष तेस्रो मुलकका पर्यटक साइकलमा पुग्ने गरेका छन् । नेपालको काठमाडौँ र भारतको कलकत्ताबाट सन्दकपूर हुँदै कंचनजङ्घासम्मको साइकलबाट यात्रा गर्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दै छन् । नेपालपट्टि साइकल चलाउनका लागि आवश्यक पदमार्ग अभाव भएपनि पर्यटक भारतीय बाटो प्रयोग गरेर साइकलमा सन्दकपूर पुग्दै आएका हुन् । वर्षमा दुई लाख बढी पर्यटक पुग्ने सन्दकपूरमा अशोज र कात्तिक महिनामा साइकलबाट पर्यटक पुग्दै आएका छन् । हरियाली इलामका डाँडाहरुमा साइक्लिङ्ग गर्दै रमाउने पर्यटकको संख्या बढेपनि इलाममा साइकल पर्यटनका आवश्यक पूर्वाधार बनाउनुपर्ने हुन्छ ।

दर्जनौ पर्यटकीयस्थल रहेको सन्दकपूरमा साइक्लिङको लागि आवश्यक रुट समेत छनौट भएको छ । सन्दकपुर गाउँपालिका भित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने गरि साइकलका रुटको छनौट भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । सन्दकपूर गाउँपालिकाले ३ वटा साइकल रुटहरुको छनौट गरेको छ ।
इलाम बजार माइपोखरी टोड्के झरना, तीनकुने ढापपोखरी माइखोला इलाम र सन्दकपूर कालपोखरी दोबाटे जौबारी नयाँबजार फिक्कल हुँदै बिर्तामोड गरि तीन वटा साइकल रुटको विकास गर्ने योजना सन्दकपूरको रहेको छ । सन्दकपूर कालपोखरी दोबाटे जौबारी नयाँबजार फिक्कल हुँदै बिर्तामोड रुटमा विश्व साइकल यात्री पुस्कर साहको टोलीले साइकल यात्रा गरिसकेको छ ।


उकाली ओराली चिया बगानका डाँडाहरु र सेताम्मे हिउँबाट ढाक्ने हिमाली क्षेत्रमा साइकलबाट यात्रा गर्दा आनन्द आउने गरेकाले पर्यटकहरुका पूर्वाधार निर्माणको आवश्यकता रहेको छ ।
सन्दकपूर बाहेक कन्याम, पानिटार, ढापपोखरी, गुफाथुम्कि, थुम्के, लगायतका थुप्रै पर्यटकीय क्षेत्रमा पर्यटकहरु साइकलको यात्रामा रमाउन इलाम आउने गरेका छन् । चिया बगानका बिचबिचमा साइकल चलाएर रमाउन सकिने भएकाले इलाममा साइकल पर्यटकको अधिक संभावना रहेको विश्व साइकल यात्री पुस्कर साहाले बताए ।


ग्रामीण क्षेत्रमा कच्चि सडक र ट्रयाक मात्रै खोलिएको सडकमा पनी साइकल यात्रा गर्न सकिने साइकल यात्री साहको भनाइ छ । साइक्लिङको अधिक संभावना भएपनि पदमार्गको भने इलाममा अभाव रहेको छ । पर्यटक बोर्ड, संघीय, प्रदेश र स्थानीय सरकारहरुले साइकल पर्यटनका लागि आफ्ना निति कार्यक्रममा प्राथमिकता राखेपनि अहिलेसम्म पदमार्गको छनौट पूर्वाधार निर्माणसम्म पुगेको छैन । सुर्योदय नगरपालिकाले पनि साइकल पर्यटनको विकास गर्ने योजना बनाएको छ । सूर्योदयले वडा नम्बर १ मा अवस्थित थुम्के क्षेत्रसम्म साइकल पर्यटनको विकास गर्ने योजना बनाएको छ ।

इलाममा साइकल चलाऔँ स्वस्थ्य बनौँ भन्ने अभियान पछिल्लो समय हरेक वर्ष हुने गरेपनि यो वर्ष कोरोना भाइरसको माहामारीले गर्दा हुन सकेको छैन । सो अभियान मेचीराजमार्गको कुटिडाँडा, कन्याम, फिक्कल क्षेत्रमा हुँदै आएको छ ।झापा, मोरङ सुनसरीबाट इलाममा धेरै साइक्लिङ्गका लागि आउने गर्दछन् । साइकलमा रमाउने पर्यटकले साइक्लिङ्ग गर्ने व्यवस्थित रुट, उच्च पहाडी क्षेत्रमा पदमार्ग निर्माणको माग साइकल यात्री रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार