सन्दकपूर । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपूरमा पदमार्ग निर्माणको काम भएको छ । पदमार्ग निर्माण भएपछि सन्दकपूर पुग्ने पर्यटकले दर्जनौ हिमश्रङ्खलाको दृश्यावलोकनसँगै सन्दकपूरको बस्तुस्थिति अवलोकन गर्दै यात्रा गर्न सकिने भएको छ ।

प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा प्रदेश सरकारबाट सन्दकपूर पर्यटकीय क्षेत्र भ्रमणका लागि पदमार्ग निर्माणको काम गरिएको हो । सन्दकपुरको माई नदीको मुहान क्षेत्रबाट पाँचथरको सीमा क्षेत्र आहालटारसम्म पदमार्ग निर्माण भएको छ । तीन किलोमिटर लामो पदमार्ग साढे तीन मिटर चौडाको रहेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा निर्माण सम्पन्न भएको पदमार्गका लागि ७७ लाख रुपैयाँ खर्च भएको छ । प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रहेको सन्दकपूरको पर्यटकीय विकासमा आवास गृह, माई नदीको मुहान क्षेत्र संरक्षण र खानेपानी आयोजना संचालनको काम हुँदै आएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् ।

पदमार्ग निर्माण भएपछि नेपालबाट सन्दकपूर भ्रमण गर्ने पर्यटकहरुले नेपाल र भारतका ग्रामीण बस्ति, हिमश्रङ्खला सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न सक्नेछन् । पदमार्ग निर्माण भएपछि भारतीय पदमार्गको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
हेर्नुहोस् सन्दकपूरबाट देखिएको थप तस्बिर :
