कन्याम । झापाको विर्तामोडबाट ४७.२ किलोमिटर माथि चढेपछि पुगिन्छ, कन्याम । गाडी यात्रामा करिब १ घन्टा ३० मिनेट लाग्छ । झापाको विर्तामोडबाट कन्यामको प्रवेशद्धार पुग्दा प्राकृतिक सुन्दरताले जो कोहि मोहित हुन्छ । इलामको सूर्यदय नगरपालिका स्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो ।
तराईबाट उकालो चढ्नेहरुको लागि कन्याम पुगेपछि कुहिरो छोप्दा प्राकृतिक एसीमा पुगेजस्तो हुन्छ । मेची राजमार्गमा पर्ने कन्याममा छिनछिनमा मौसम परिवर्तन हुन्छ । छिनमै घाम लाग्छ, छिनमै पानी पर्छ । छिनमै हुरी बतास चल्छ, छिनमै गर्मी पनि हुन्छ ।
यहाँको कुहिरोलाई हावाले एकैछिनमा हिमाल कटाएर लैजान्छ, एकैछिन त सिद्धि खोलबाट कुहिरो उडाएर ल्याइदिन्छ । आँखाले नभ्याउने चिया बगानको श्रृखला, आँखै अगाडी बिभिन्न हिमश्रृखला यहाँको बिशेषता हो ।

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ, कन्याममा । भारतको दार्जिलिङ, सिक्किम, मिरिक, कालेङपोङ, करसाङ, सिलगुढीको दृश्यले झनै कन्याम पुग्नेलाई मोहित बनाउँछ । पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो । झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो संख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । यहाँबाट इलामकै श्रीअन्तु, समालबुङ, पशुपतिनगर लगायका पर्यटकीयस्थलहरुको हरीयाली दृश्य देखिन्छ । झापाका फाँटहरु पनि देखिन्छ ।
घोडामा सवारी गर्दे पर्यटक ।
कन्यामको अर्को विशेषता हो, घोडा । यहाँ आउने पर्यटकहरु घोडा चढेर एकपटक चिया बगान नघुमी फर्किन्दैनन् । घोडावालाको आम्दानीका स्रोतसमेत बढेको छ । शनिबार पर्यटकको चापका कारण मेची राजमार्गअन्तर्गतको कन्याम–हर्कटे सडकखण्ड अवरूद्धसमेत हुने गरेको छ । यही कारण अहिले घोडाको लागि नयाँ रुट समेत बनाइएको छ । कन्यामको लभडाँडामा पर्यटकहरु जहिल्यै भीड लाग्ने गरेका छन् ।

कन्यामको बीच भागतिर पर्ने लभडाँडा सडकभन्दा करिब दुई सय मिटर उचाइमा पर्छ । प्रेमीप्रेमिका र नवजोडीको लागि यो प्रिय घुम्ने थलो हो । प्रेमी प्रेमीकाहरुले सेल्फी खिचिरहेका दृश्यहरु हेरीरहुँ लाग्छ । प्राकृतिक रुपले कन्याम आफैमा सुन्दर छ । यहाँका चियाँका बोटहरुलाई कुर्सी बनाएर सुस्ताउछन्, पयर्टकहरु ।
