इलाम । इलाम सदरमुकाम छेउमा रहेर पनि ओझेलमा रहेको भालुढुङ्गा पर्यटकीय क्षेत्र अहिले नयाँ पर्यटकीय गन्तव्य बनेको छ । भालुढुङ्गालाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश नम्बर एक सरकारले २५ लाख, राष्ट्रपति चुरे तराई मधेस कार्यक्रमबाट १५ लाख र इलाम नगरपालिकाको १५ लाख रुपैयाँ खर्च भएको छ ।

प्रचार प्रसारको अभावमा ओझेलमा परेको इलाम नगरपालिका ६ स्थित भालुढुङ्गा यतिखेर इलाम पर्यटकीय गन्तव्य बनेको हो । स्थानीय युवाहरुको सक्रियता प्रदेश नम्बर १ सरकार र इलाम नगरपालिकाको लगानीमा भालुढुङ्गालाई इलाम सदरमुकामकै प्रमुख पर्यटकीय गन्तब्य बनाइएको छ ।

भालुढुङ्गा सामुदायिक पर्यटन प्रवद्र्धन विकास समिति गठन गरेर भालुढुंगाको संरक्षणमा जुटेसँगै इलाम नगरपालिका, प्रदेश नम्बर एक सरकारले आर्थिक सहयोग गरेका थिए । करिब १४ हेक्टर क्षेत्रफलमा फैलिएको भालुढुङ्गा सामुदायीक वन क्षेत्रको १० रोपनी क्षेत्रफलमा पर्यटन पूर्वाधार निर्माण गरिएको पर्यटन समितिका उपाध्यक्ष रोजिनकुमार खड्काले बताउनुभयो ।

पूर्वाधार निर्माणका लागि प्रदेश नम्बर एक सरकारबाट २५ लाख, राष्ट्रपति चुरे तराई मधेस कार्यक्रमबाट १५ लाख र इलाम नगरपालिकाको १५ लाख रुपैयाँ खर्च भएको छ । इलाम सदरमुकामबाट करीब ३ किलोमिटर माथि पर्ने भालुढुङ्गामा पूर्वाधार निर्माणपछि दैनिक ५ सय बढी आन्तरिक पर्यटक नकडाउन अघि पुग्ने गरेका थिए ।

नयाँ पर्यटकीय गन्तब्यमा छनौट भएको भालुढुङ्गासँगै इलाम चियाबारी, सेतिदेवीमा पूर्वाधार बनाइ पर्यटकीय गन्तव्य थप्ने इलाम नरपालिका प्रमुख महेश बस्नेतले बताउनुभयो । भालुढुङ्गाबाट जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्यहरु सन्दकपुर, छिन्टापु, बौधगुम्बा सहित तराईका फाँटहरु देख्न सकिन्छ ।
