Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

त्रिविको क्यालेण्डर विपरित बिदाको सुचना जारी गरेको भन्दै क्याम्पसमा विद्यार्थीको आन्दोलन

त्रिविको क्यालेण्डर विपरित बिदाको सुचना जारी गरेको भन्दै क्याम्पसमा विद्यार्थीको आन्दोलन

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस १५ २०७६


त्रिविको क्यालेण्डर विपरित बिदाको सुचना जारी गरेको भन्दै क्याम्पसमा विद्यार्थीको आन्दोलन

इलाम । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको क्यालेण्डर विपरित क्याम्पस विदा गर्ने सूचना प्रचारमा ल्याइएको छ । त्रिविको शैक्षिक क्यालेण्डरमा यस बर्षको जाडो बिदा पुष २२ गतेदेखि गर्ने उल्लेख भएतापनि क्याम्पसलाई लथालिङ्ग बनाएर ४० दिनभन्दा बढी समय काठमाण्डौं बसेर फर्किएका क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले आज एक हस्तलिखित सूचना जारी गरेर पुष १६ गतेदेखि माघ ८ गतेसम्म क्याम्पस विदाको सूचना जारी गरेका थिए ।
त्रिविको क्यालेण्डर विपरित सूचना जारी गरेर विदा गर्ने कामले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै क्याम्पसमा आन्दोलनरत अनेरास्ववियु र अखिल क्रान्तिकारी क्याम्पस कमिटीका विद्यार्थीहरुले सूचना नटाँस्दै च्यातेर जलाईदिएका छन् । १८ बुँदे मागपत्र पेश गरेर सो को कार्यान्वयनको लागि आन्दोलनमा रहेका विद्यार्थी संगठनहरुले त्रिविको क्यालेण्डरमा उल्लेख भएबमोजिम विदा गर्नुपर्ने बताएका छन् ।
“त्रिविको मातहत यो क्याम्पस हो, इलाम क्याम्पस त्रिवि भन्दा माथि छैन ।” अनेरास्ववियु मरब क्याम्पस कमिटीका अध्यक्ष दर्शन राईले भने– “विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई त्यसै छाड्दैनौं ।” यही पुष १८ गतेसम्म बागवानी संकायको परिक्षा र पुष २० र २१ गते शिक्षा संकायको प्रयोगात्मक परिक्षा भएको र अन्य संकायको समेत पठनपाठन हुनुपर्ने भन्दै विदा गरिए विद्यार्थीको भविष्य अन्यौल हुने उनले बताए ।
उता हिजाे विज्ञप्ति निकालेर आन्दोलनरत विद्यार्थी संगठनले रामप्रसाद गुरागाईं क्याम्पसको प्रमुख नरहेको र प्रमुखको रुपमा काम नगर्न विज्ञप्ति प्रकाशन गरेर आन्दोलन तिब्र बनाएपछि घरमै बसेर क्याम्पस प्रमुखले सुचना जारी गरेका हुन् । “रामप्रसाद गुरागाईंले घरमै बसेर क्याम्पसको लेटर प्याड र छापको दुरुपयोग गरिरहेका छन्” अखिल क्रान्तिकारी क्याम्पस कमिटी सचिव महिमा गौतमले भनिन्– “घरमा बसेर क्याम्पस चलाउनेविरुद्ध  विद्यार्थीले आन्दोलन गरेका हुन् । ।”
गएको मंसिर २ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका आन्दोलनरत विद्यार्थी संगठनले आफ्नो मागको वेवास्ता गरेको भन्दै हिजोबाट क्याम्पसको लेखा शाखा, शैक्षिक प्रशासन र सहायक प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । दुई दिन अगाडि आन्दोलनरत विद्यार्थीलाई सूचना टाँसेर वार्तामा बोलाएका क्याम्पस प्रमुख क्याम्पस नगएर घरमै बसेका छन् ।
यसैगरी आन्दोलनको क्रममा क्याम्पसको पुस्तकालय बन्द नगरिएको भएपनि पुस्तकालय बन्द गरेर आन्दोलनरत विद्यार्थी संगठनलाई थप उत्तेजित बनाउने काम गरेको अनेरास्ववियुका क्याम्पस अध्यक्ष दर्शन राईले बताए । आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र स्वरुप पुस्तकालय बन्द गरेर पुस्तकालयका कर्मचारीहरु भागेको भन्दै राईले पुस्तकालय खोलेर विद्यार्थीको पक्षमा र क्याम्पसका समस्याहरुको विपक्षमा उभिन उनीहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार